राष्ट्रिय सभा सदस्यको निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी

राष्ट्रिय सभा सदस्यको निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी

बुटवल । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । लुम्बिनीमा तीन रिक्त पदमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेद्वारलाई हराउँदै सत्ता गठबन्धनका उम्मेद्वारहरु युवराज शर्मा, राजेन्द्रलक्ष्मी गैरे र तुलप्रसाद विक निर्वाचित हुनु भएको हो ।

राष्ट्रिय सभा सदस्यमा खुल्लाबाट नेपाली काँग्रेसका शर्माले ४ हजार ३४४, महिलामा नेकपा (एकिकृत समाजवादी)की गैरेले ४ हजार ३७४ र दलितमा राष्ट्रिय जनमोर्चाका विश्वकर्माले ४ हजार ३५६ मतभार प्राप्त गर्नुभएको हो ।

विपक्षी दल एमालेका खुल्ला तर्फका उम्मेदवार रामदयाल गुप्ताले ३ हजार ३७८, महिला उम्मेद्वार भारती खनालले ३ हजार ३१२ र दलित तर्फका उम्मेदवार कृष्णबहादुर सुनारले ३ हजार ३४८ मतभार प्राप्त गर्नुभएको थियो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीत तहका प्रमुख उपप्रमुखको मतभार १८ तोकिएको थियो । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा कुल २९६ मतदाता मध्ये प्रदेश सभा सदस्यको ८१ र स्थानीय तहका प्रमुख उपप्रमुख २१३ जना गरि २९४ जनाले मतदान गरेका थिए ।