माघे सकरातीमा तरूल : ट्राफिकचोकमा तरूल विक्री गर्दै व्यवसायी (फोटो)

माघे सकरातीमा तरूल : ट्राफिकचोकमा तरूल विक्री गर्दै व्यवसायी (फोटो)

बुटवल । माघ १ गते अर्थात् माघे सकराती । नेपाली समाजमा माघे सकरातीलाई तरूलको चाड पनि भनिन्छ । तरुलको विशेष परिकार बनाएर खाने प्रचलन रहेको छ । यो चाडलाई थारु र मगर समुदायको चाड भनिएपनि अहिले सबै नेपालीहरुले मनाउने गर्दछन् । 

यो चाड नजिकै गर्दा बुटवलमा व्यवसायीहरु तरुल बिक्री गरिरहेका छन् । बुटवलको पुरानो ठूलो हातबजार, ट्राफिकचोक, पुरानो बसपार्क र हरेक साप्ताहिक बजारहरुमा तरुल विक्री भइरहेको छ । 

व्यापारीहरुका अनुसार गतबर्ष भन्दा यो बर्ष तरुल कम विक्री भएको बताउँछन् । कोरोनाको ग्राफ उकालो लागेसँगै तरुल विक्रीमा पनि त्यसको प्रभाव परेको हो । 
बुटवल ट्राफिकचोक बुद्धपथकी गिता श्रेष्ठले यो बर्ष तरुल विक्री ह्वातै घटेको बताउँछिन् । उनले पाल्पाबाट तरुल खरिद गरेर विक्री गर्दै आएको बताउँछिन् । उमेरले ५८ बर्ष पुगेकी श्रेष्ठ विगत १० बर्ष अगाडीदेखि हरेक बर्ष तरुल विक्री गर्दै आएको बताउँछिन् । उनी भन्छिन्, “अहिले तरुल विक्री हुन छाड्यो । फेरि कोरोनाको हल्ला छ, व्यापार पोहोरपरारजस्तो छैन ।”

बुटवल ट्राफिक चोकमा तरुल व्यवसायी गर्दै आएकी बुद्धनगरकी अंकीत राईले भनिन्,“दैनिक १५ देखि २ हजारसम्म तरुल विक्री भएपनि पोहोरपरार सालजस्तो भएको छैन ।” उनले यसपाली मान्छेको भीडभाड घटेको बताइन् । उनले जनबाटोसित कुराकानी गर्दा ग्राहकलाई तरुल जोख्ने चटारोमा थिइन् । 

उनीहरु दुवैजनाले बुटवल ट्राफिकचोकमा तरुल विक्री गर्दै आएकी छन् । हरेक बर्ष तरुल भारतबाट आएपनि उनीहरु भने पाल्पाका किसानबाट सिधै खरिद गरेर नेपाली तरुल विक्री गरेको बताएकी छन् । 

यो बर्ष तरुलको मूल्य बन तरुलको प्रतिकेजी २५०, सेतो तरुलको २००, सखरखण्डको १०० र पेडालुको १०० मा विक्री भएको उनीहरुले बताएका छन् । 

‘माघे सकरातीपछि अहिलेको जस्तो मूल्य पाइँदैन । बिक्री पनि अहिलेजस्तो धेरै हुँदैन,’ उनीहरुले भने ।