पृथ्वीनारायण शाहबारे पुष्पलालको धारणा

मानदेव प्रथमको पालाबाट नेपालमा एक केन्द्रीय सामन्ती सत्ता कायम गर्ने प्रक्रिया रुंपमा चालु भएको हो । त्यसको पराकाष्ठा गोर्खाका सामन्ती सरदार पृथ्वीनारायण शाहको नेतृत्वमा सन १७४३ मा नुवाकोट हमलाबाट सुरु भई काठमाडौं उपत्यका बिजयपछि अन्य राज्यहरुको साँध मासी आजको साँध कायम गर्न अर्काे पुरा ४५ बर्ष लाग्यो । आजको साँधमा पूर्वमा मेची, पश्चिममा महाकाली, उत्तरमा रसुवा र दक्षिणमा रक्सौल हुन आएको छ । आजको यो साँध कायम गर्नकोलागि नेपालमा सबै गरी ७१ बर्षको संघर्ष भएको छ । यस संघर्षलाई हामीले विभिन्न राजा र रजौटा अथबा सामन्ती सरदारको बिचको संघर्षका रुपमा मात्र लिनु– जसरी आजसम्मको इतिहासकारहरुले पेश गर्दछन् । गलत हुनेछ । यसको निमित्त हामीले त्यसबखतको वास्तविक सामजिक स्थितिको खोजी गर्न आवश्यक छ । अनि हामीले वास्तविक रुपमा समाज बिकासमा जनताद्धारा खेलिएका भूमिका पत्ता लगाउन सक्नेछौ । जनआन्दोलनको वास्तविक इतिहास त्यही हो ।

चार राज्य–समूहहरु मध्ये सबभन्दा पहिले काठमाडौं उपत्यकामा व्यक्तिगत सम्पतिको उत्पति हुन गयो । बन्द व्यापारको केन्द्र त्यही भयो । यसको असरपछि क्रमशः पश्चिम नेपालमा पनि फैलन थाल्यो । तेह्रौं शताब्दी सम्ममा पश्चिममा पनि कविला समाजको बहस भई राजतन्त्रको बिकास भयो । अठारौं शताब्दीतिर आई त्यस इलाकामा पनि जमीनमा व्यक्तिगत सम्पति देखिनुको साथै चीन र भारतसँग बन्दव्यापार गरी लाभान्वित हुने एक वर्ग देखिन लाग्यो । पूर्व नेपालमा किराँती कविला समाजमा व्यापारका केन्द्रहरु देखिए तापनि जमिनमा व्यक्तिगत सम्पति उति साह्रो रुपमा देखा पर्न आएको थिएन र अठारौं शताब्दीको पूर्वार्धकालसम्म अर्थात् पृथ्वीनारायण शाहको नुवाकोट हमलाको समयसम्ममा नेपालका चार राज्य समूहमाा एकातिर विभिन्न इलाकीय राजतन्त्र भाईभारदार तथा सरदारसहित देखा पर्दछन् भने अर्कोतिर साहु महार्जन व्यापारीका साथैं उद्योगपति बिभिन्न तहका किसान मजदुर तथगा मध्यमवर्गिय जनता । यस्तो सामाजिक स्थितिमा नेपालमा इलाकीय रुपमा सामन्ती राजा रजौटा तथा सरदारहरुका राज्यको बिचमा आपसी प्रतिस्पर्धाको निमित्त हुने संघर्षले गर्दा देशको उद्योग, बन्दव्यापार खेतिपाती आदीलाई नोक्सान पुगेको हुनाले त्यसबखतको इलाकीय सामन्ती राज्यको व्यवस्थाबाट नेपालका बिभिन्न राज्यमा विभक्त भई बसेका भूमिपति उद्योगपति बन्दव्यापारी विभिन्न तहका मध्यम वर्गीय जनता असन्तुष्ट थिए ।

उनीहरुले उक्त व्यवस्थाको विरुद्ध विभिन्न किसिमबाट आलोचना गरी आन्दोलनको सुत्रपात गरे । उनीहरु चाहन्थे-विभिन्न इलाकीय सामान्ती राज्यको सट्टा एक केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापना होस्, जसले देशमा शान्ति व्यवस्था गर्न सकोस् र उद्योग बन्दव्यापार, खेतीपानी फलोस् फुलोस् । पृथ्वीनारायण शाहलाई जसै-जसै एकपछि अर्को राज्य जिती साँध मास्न सफलता मिल्दै गयो, उसै-उसै जनलाई उक्त वर्गहरुको सहयोग र समर्थन प्राप्त हुँदै गयो । एकहत्तर वर्षको लामो संघर्ष मुख्य रुपले दुई विरोधी शक्ति (१) इलाकीय सामन्ती व्यवस्थामा आफ्नो स्वार्थको रक्षा देख्ने इलाकीय राज्य तथा तिनका समर्थक, (२) इलाकीय साँध मासी केन्द्रीय सामन्ती राज्यसत्ता कायम हुँदा लाभान्वित हुने विभिन्न वर्ग तथा जनसमुदायहरुको बीचको संघर्ष थियो ।  

यस्ता संघर्षहरु, अन्य देशको इतिहासमा पनि पाइन्छन् । जस्तो बेलायतको इतिहासमा 'वार आफप दि रोजेज' । त्यस युद्धमा जसरी हेनरीलाई त्यससमयका सबै प्रगतिशील वर्गले समर्थन गरे त्यसरी नै नेपालमा पृथ्वीनारायण शाहलाई नेपालका प्रगतिशील तत्वहरुले समर्थन गरे । यसको अतिरिक्त अर्को एउटा अन्तराष्ट्रिय कारण पनि छ, जसले नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसताका अंग्रेज साम्राज्यवादले नेपाल चीनबीचको व्यापारमा आँखा गाडेको थियो । भारत वर्षमा आफ्नो कब्जा जमाउनुको साथै अंग्रेजी साम्राज्यवाद नेपाललाई अधीन गर्न चाहन्थ्यो ।

नेपाली उद्योगपति र बन्दव्यापारीहरुको स्वार्थमा यसरी ठूलो आँच उत्पन्न भएपछि एक केन्द्रीय राज्यसत्ताको निर्माण उनीहरुको निम्ति अति आवश्यक भएको थियो, जसबाट नेपालको बन्दव्यापारको स्वार्थ रक्षा हुन सकोस् र नेपालमा यसरी एकहत्तर वर्षको लामो संघर्षको दौरानमा इलाकीय सामन्ती राज्यसत्ताको स्थापना भएपछि विभिन्न सामन्ती राज्इको साँध मासिई एक केन्द्रीय सामान्ती सरदारहरुले आफ्नो निहित स्वार्थको निम्ति एक इलाकाका शोषित जनतालाई अर्को इलाकाका शोषित जनताको विरुद्ध उक्साई युद्ध गर्ने स्थिति समाप्त भयो । यसले गर्दा नेपालको राष्ट्रिय बजार बढ्न थाल्यो ।

पृथ्वीनारायण शाहले यसै अनुरुपको औद्योगिक र बन्द व्यापारको नीति अपनाए । उनको नीति थियो–"प्रजा मोटा भया दर्बार बलियो हुन्छ, राजाका भण्डार भन्याका रैतानहरु हुन्” यसको मतलब जनताको शोषणमा वृद्धि गरेर नै शाही परिवार र सामन्ती भाइ–भारदार मोटाउन सक्छन् भन्ने हुन्छ ।

नेपाली आन्दोलनको एक समिक्षाबाट