अनेमसङ्घ क्रान्तिकारीको वैचारिक प्रशिक्षण समापन, काभ्रेली जनताले गरे विदाई 

अनेमसङ्घ क्रान्तिकारीको वैचारिक प्रशिक्षण समापन, काभ्रेली जनताले गरे विदाई 

काभ्रे । अखिल नेपाल महिला संघ क्रान्तिकारी उपत्यका र पूर्वी ताम्सालिङका जिल्लाहरुको संयुक्त प्रशिक्षण सम्पन्न भएको छ । काभ्रेको मन्दनदेवपुर नगरपालिकाको नयाँगाउँमा दुईदिनसम्म चलेको प्रशिक्षण समापनपछि स्थानीय जनताले फूलमाला लगाएर भव्य विदाई गरेका छन् । समापन कार्यक्रममा उपस्थित स्थानीय जनताले क्रान्तिलाई बिजयमा पुर्याउन शुभकामना समेत दिएका छन् । 

समापन कार्यक्रममा केन्द्रीय सदस्य एवं काभ्रे इन्चार्ज आधारले पार्टी र जबस मोर्चाबीचको सम्बन्धबारे चर्चा गर्दै क्रान्तिकारी पार्टीका लागी क्रान्तिकारी, विचार, नेतृत्व र संगठन आवश्यक ह्ुने भन्दै प्रशिक्षणले यसलाई वैचारिक मद्दत गर्ने बताउनुभयो । उहाँले जबस मोर्चा पार्टी र क्रान्तिका लागी महत्वपूर्ण संगठन भएको भन्दै यसलाई अझ सांगठनिक रुपले बलियो बनाउनुपर्ने बताउनुभयो । 

संगठनकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले प्रशिक्षणमा सहभागि कमरेडहरुले महिला उत्पीडनविरुद्ध संघर्षको नेतृत्व गर्ने विश्वास लिदै प्रशिक्षणबाट प्राप्त ज्ञानलाई जनतासित जोड्नुपर्ने बताउनुभयो । संगठनकी केन्द्रीय उपाध्यक्ष धीरेन्द्र उपाध्यायले संगठनले देशव्यापी चलाएको प्रशिक्षण र सांगठनिक अभियानबारे प्रष्ट पार्नुभएको थियो ।  
मन्दनदेवपुर नगर सेक्रेटरी शुक्रले समेत बोल्नुभएको थियो । संगठनले दुईवटा व्युरो उपत्यका र पूर्वी ताम्सालिङमा ८ मार्चसम्म संगठन सुदृढीकरण तथा विस्तार अभियान संचालन गर्ने निर्णय समेत भएको संगठनकी सचिव उषा मगरले बताउनुभयो । समापन कार्यक्रममा प्रत्येक जिल्लाबाट सहभागि एकएक जना प्रशिक्षार्थीहरुले अनुभूति मन्तव्य राख्नुभएको थियो । 

दुईदिने प्रशिक्षणमा संगठनका केन्द्रीय अध्यक्ष बन्धु चन्दले महिला आन्दोलनको इतिहास, उपाध्यक्ष धीरेन्द्र उपाध्यायले वैज्ञानिक समाजवादमा महिलाहरुको भूमिका, महासचिव राजकुमारी शाहीले संगठनात्मक सिद्धान्त, सचिव उषा मगरले महिला र संस्कृति बिषयमा प्रशिक्षण दिनुभएको थियो । 

समापनका अध्यक्षता सहिद परिवार निर्मला खत्री र संचालन संगठनकी केन्द्रीय सदस्य पवित्राले गर्नुभएको थियो ।