रुसी राष्ट्रपति पुटिनद्वारा अमेरिकी समकक्षीलाई चेतावनी– पूर्ण रूपमा सम्बन्ध भङ्ग हुन सक्छ

रुसी राष्ट्रपति पुटिनद्वारा अमेरिकी समकक्षीलाई चेतावनी– पूर्ण रूपमा सम्बन्ध भङ्ग हुन सक्छ

बीबीसी । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी समकक्षी जो बाइडनलाई युक्रेनको विषयमा नयाँ प्रतिबन्धहरू लागु गरे अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा भङ्ग हुन सक्ने चेतावनी दिएका छन् । 

बिहीबार अबेर अमेरिकी राष्ट्रपतिसँग भएको टेलिफोन वार्तामा पुटिनले यस्तो चेतावनी दिएका हुन् । उनले त्यस्ता प्रतिबन्धहरू ‘ठूलो भुल’ हुने बताए । बाइडनले युक्रेनमाथि हुने जुनसुकै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारहरूले डटेर जवाफ दिने बताएका थिए । उनले राष्ट्रपति पुटिनलाई कुटनीतिक समाधान खोज्न भनेको बताइएको छ ।
 
एक महिनामै दुई राष्ट्रपतिबीच दोस्रो पटक संवाद भएको हो । यो संवादका लागि रुसले आग्रह गरेको थियो । दुई नेताबीच झण्डै एक घण्टा कुराकानी भएको थियो । 

युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमा नजिक एक लाखभन्दा बढी फौजहरू तैनाथ गरेको बताउँदै आएको छ । रुसले भने आफ्नो भूमिमा सैनिक परिचालन गर्न पाउनु आफ्नो अधिकार भएको बताउँदै युक्रेनलाई आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ । यसले उत्पन्न तनावलाई मत्थर पार्ने उद्देश्यले वार्ता भएको हो ।  
अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि आक्रमण गरे ‘यसअघि कसैले नदेखे जस्तो’  प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।