युवा संगठन नेपालद्वारा जनमत सङ्ग्रहको पक्षमा पूर्वी अभियान सुरू

युवा संगठन नेपालद्वारा जनमत सङ्ग्रहको पक्षमा पूर्वी अभियान सुरू

अनिता गजमेर, उदयपुर । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालद्वारा “जनमत संग्रहका पक्षमा संगठन सुदृढ तथा विस्तार अभियान” भन्ने मूलनारा सहित पुर्वी कमाण्डको युवा अभियान उदयपुरको गाईघाटमा उद्घाटन भएको छ । १२९ औं माओ दिवस पारेर गरिएको उद्घाटनमा नेकपा सचिवालय सदस्य सन्तोष बुढा मगर, केन्द्रीय सदस्य एवं फ्याक्सन इन्चार्ज कृति, केन्द्रीय सदस्यहरु ओमप्रकाश पुन, विवेक कुमाल, सुमनसिंह लगायतको उपस्थिति रहेको थियो ।  

कार्यक्रमको उदघाट्न प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरले नेपालमा संसदीय पुँजीवादी व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापनाका लागी माक्र्सवाद,लेनिनवाद र माओवादको मार्गनिर्देशक सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नेता बुढा मगरले माओको योगदानबारे चर्चा गर्दै सर्वहारा सांस्कृतिक क्रान्तिका बाँकी अधुरा कार्य पुरा गर्ने दायित्व नेकपाको रहेको बताउनु भयो । उहाँले जनमत संग्रह लोकतन्त्रको उच्चतम प्रयोग भएको भन्दै यसको पक्षमा युवाहरु गोलबन्द हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं फ्याक्सन इन्चार्ज कृतिले असहज परिस्थितिको सहज निकास जनमत संग्रह भएको भन्दै यसको पक्षमा युवाहरुले संघर्ष गर्नुपर्ने बताउनु भयो । पार्टी सिसिएम ओमप्रकास पुनलगायत नेताहरुले सम्बोधन गरेका थिए । 

संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले केन्द्रीय निर्देशिका पढेर सुनाउदै अभियानले गर्ने काम र कर्तव्यको बारेमा राख्नुभएको थियोे । यस्तै अभियान टोली टिम तीन समुहमा विभाजन गरिएको छ । कार्य बिभाजनमा मेची कोशीको कमान्डर संगठनकी केन्द्रीय महासचिव बिदुशी, सगरमाथा सिराहा सप्तरीको कमान्डर संगठन केन्द्रीय सचिव तिलकलाई तोकिएको छ । उक्त उद्घाटन कार्यक्रममा माओवादी केन्द्र सहित विभिन्न दलबाट १५ जना नेकपामा प्रवेश गरेका छन् ।