'अमेरिकी साम्राज्यवादविरुद्ध कहिल्यै शीर झुकाउदैनौं': भुसाल

'एमसीसी दक्षिण एसियामा आफ्नो प्रभुत्व कायम गर्न र नेपालमा टेकेर चीनलाई घेर्ने रणनीति'

'अमेरिकी साम्राज्यवादविरुद्ध कहिल्यै शीर झुकाउदैनौं': भुसाल

'अमेरिकी साम्राज्यवादविरुद्ध कहिल्यै शीर झुकाउदैनौं': भुसाल

पुस ६, बुटवल । नेकपाका केन्द्रीय सदस्य भेसराज भुसालले अमेरिकी साम्राज्यवादविरुद्ध कहिल्यै शीर नझुकाउने बताउनु भएको छ । एमसीसी विरुद्ध बुटवलमा ५ कम्युनिस्ट पार्टीले गरेको संयुक्त विरोध सभालाई सम्बोधन गर्दै नेता भुसालले दक्षिण एसियामा आफ्नो प्रभुत्व कायम गर्न र नेपालमा टेकेर चीनलाई घेर्ने रणनीतिका साथ एमसीसी परियोजना आएको बताउनु भएको छ । उहाँले नेपालमा कम्युनिस्ट प्रभावलाई रोक्ने रणनीति अमेरिकी साम्राज्यवादको भएको भन्दै यसको विरुद्ध संघर्ष गर्न आवश्यक भएको बताउनु भयो ।

नेता भुसालले साम्राज्यवादले नेपालमा रहेको प्राकृतिक स्रोत साधनलाई कब्जा गर्ने उद्देश्य रहेको भन्दै संसदीय राजनीतिक दलबाट राष्ट्रिय स्वाधीनताको रक्षा असम्भव रहेको बताउनुभयो । उहाँले संसदीय व्यवस्थाले ठूला ठूला राष्ट्रघात स्मरण गर्दै फेरी उनीहरुले अहिले पनि एमसीसीमार्फत् ठूलो राष्ट्रघात गर्न लागेको बताउनुभयो । नेता भुसालले साम्राज्यवादविरुद्ध अविराम सङ्घर्ष गर्ने बताउदै ६ दलीय कम्युनिस्ट पार्टीले गरेको सङ्घर्ष आगोको झिल्को भएको बताउनुभयो ।  

नेता भुसालले नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी जनताले तिरेको करबाट चलिरहेको बताउदै एमसीसी परियोजना विरुद्ध सम्पूर्ण देशभक्तहरु एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले एमसीसी कुनै दलको मात्र चासोको बिषय नभएर सम्पूर्ण देशभक्त नेपालीहरुले संघर्ष गर्नुपर्ने बताउनुभयो । 

विरोध सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी सम्झौता विरुद्ध संसदमा निरन्तर संघर्ष गर्ने बताउनु भयो । विरोध सभामा नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, नेकपा मालेका स्थायी कमिटी सदस्य गोपालमणि गौतम र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका शशी विश्वकर्माले एमसीसी नेपालको हितविरुद्ध रहेको भन्दै यसका विरुद्ध सम्पूर्ण देशभक्त क्रान्तिकारीहरु एकभएर संघर्ष आवश्यक रहेको बताउनुभयो । 

एमसीसी विरुद्ध ६ दल र २ मोर्चाले राजधानीलगायत देशभर विरोध प्रदर्शन गरेका छन् । केन्द्रीय कार्यक्रम अनुसार रुपन्देहीमा नेकपासहित ६ कम्युनिस्ट पार्टी र मोर्चाले संयुक्त संघर्ष गरेको हो ।