दलितहरू राज्यव्यवस्था गलत हुँदा पछि परे : रामलाल विश्वकर्मा

दलित शब्दको अर्थ दलन, दलिएको, हेपिएको हो।

दलितहरू राज्यव्यवस्था गलत हुँदा पछि परे : रामलाल विश्वकर्मा

(नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा, नेपालका अध्यक्ष हुन, रामलाल विश्वकर्मा, ४८। ०५२ सालबाट सुरु भएको माओवादी जनयुद्धबाट राजनीतिमा सक्रिया उनले दलित समुदायको अधिकार र हितको लागि संघर्ष गर्दै आएका छन्। उनले वि.सं.२०६४ सालमा राष्ट्रिय दलित आयोगको अध्यक्ष भएर भूमिका निर्वाह गरकाे थिए। नेपालमा दलित समुदायको अवस्था, दलित आन्दोलन, राजनीतिक दलहरुमा दलित समूदायको प्रतिनिधित्व र जातीय विभेदको लागि गर्नुपर्ने काम लगायतका विषयमा बिएल नेपाली सेवाको लागि कमल प्रभात विकले गरेको कुराकानी प्रस्तुत छ:)

हालसम्म नेपालमा भएका दलित आन्दोलनको उपलब्धि के–के हुन् ? यहाँसम्म आउँदा दलितहरुको अवस्थामा के–के सुधार भए ? 

नेपालको सन्दर्भमा यसको इतिहास धेरै लामो छ। यसको इतिहासलाई हामीले विशेष गरी तीन खण्डबाट मुल्याङ्कन गर्न सकिन्छ। एउटा खण्ड पञ्चायत कालको आन्दोलन। जुन ०४६ सालभन्दा अगाडिको आन्दोलनको चरण थियो। दोस्रो खण्ड ०४६ पछि जनयुद्ध सुरु हुँदा सम्मको र तेस्रो जनयुद्धपछि खण्ड। यही हो नेपालको दलित आन्दोलन।

यिनका आ–आफ्नै विशेषता छन्। पञ्चायत कालको आन्दोलन कम्तिमा यो समुदायलाई जागरण गराउने, संगठित बनाउने, मुक्तिका लागि लड्नुुपर्छ भन्ने सम्मको थियो। त्यो अलि सुधारवादी आन्दोलन थियो। ०४६ सालपछिको आन्दोलनमा अलि बढी राजनीतिक रुपमा नेतृत्व विकास गर्ने, राजनीतिक अधिकार कसरी प्राप्त गर्ने र अधिकार कसरी सुनिश्चि गर्ने भन्ने तर्फ यो केन्द्रित थियो। यसलाई विशेष गरी संसदीय व्यवस्थाभित्रको आन्दोलन पनि भन्न सकिन्छ। त्यसपछि दश वर्षको जनयुद्ध जब ०५२ सालमा सुरु भयो यो आन्दोलनले अलि फरक मोड पनि लियो। त्यो भनेको मलाई लाग्छ नेपालकै इतिहासमा दलित समुदायको कोणबाट मात्रै होइन कि सम्रग अन्य समुदाय, जाती, वर्ग, लिङ्ग र क्षेत्रको कोणबाट हेर्दा उथलपुथलकारी आन्दोलन थियो। त्यसले अधिकार मागेर पाइदैन लड्नुपर्छ भन्ने कुराको चेतना अभिवृद्धि गर्‍यो।

यी सबैको परिणाम स्वरुप आज हामी यहाँ छौँ। आज हाम्रो अधिकारको अवस्था जो छ, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक यसैको परिणाम हो। तर, पनि यसले  पूर्णता अझै पाएको छैन।

याे अधिकार प्राप्त नहुनुमा तपाईं आफू जिम्मेवार हुनुहुन्छ कि नाई ?

अघिल्लो काल खण्डमा हाम्रा पूर्खाहरुले गरेको कुरा त्यो आफ्नो ठाउँमा मुल्याङ्कन होला। तर, ०५२ सालपछि त हामी प्रत्येक्ष सहभागी छौँ। देश र राष्ट्रको विकाससँगै दलित समुदायको मुक्तिको लागि हामी आफै सहभागी भएको हुनाले स्वाभाविक रुपमा कुनै पनि परिणामको पछाडि कारण हुन्छ। त्यो कारणमा हामी पनि जिम्मेवार छौँ। त्यसमा हामी पन्छिन मिल्दैन। तर, यो युद्धको संक्षिप्तमा मुल्याङ्कन गर्दा वा के भयो के भएन भनेर हेर्दा नामकरणका हिसाबले संविधानमा विषयवस्तु समावेश गर्ने हिसाबले, कानुन निर्माणका हिसाबले र संरचनामा सुधार गर्ने हिसाबले त हामी बाहिर देखेकै छौँ। तर, दश वर्षे जनयुद्धको मुख्य उद्देश्य भनेको अहिलेसम्म राजनीतिक, आर्थिक, सामाजिक, संस्कृतिक र सम्रग क्षेत्रमा पछाडि पारिएको जाती, वर्ग क्षेत्र र लिङ्गलाई राजनीतिको मुल धारमा ल्याउनु थियो। तर, यो भएन किनभन्दा हिजोदेखि नै हालिमुहाली गर्दै आएको वर्ग र प्रवृत्ति अहिले पनि हावी नै छ। यो प्रणलीमा या राज्य व्यवस्थामा फेरवदल गर्न नसक्दाको परिणम हो। यसमा नाम कसैको नलिऊँ सबैले बुझेकै कुरा हो।

जनयुद्धपछि हामीले राज्य व्यवस्थामा जुन परिवर्तन गर्ने सोचाई बनाएका थियौँ। त्यो यही भित्रकाहरुले पनि सकेनन्, नेपाली राजनीतिका नेताहरुले पनि सक्नुभएन। अन्तर्राष्ट्रिय रुपमा पनि त्यसलाई सफल हुन दिइएन। ठूलो डिजाइनमा त्यो सफल हुन पाएन। त्यसको परिणाम हामीले के देखिरहेका छौँ भने उत्पीडित श्रमिक समुदाय मात्रै होइन, नेपालमा महिला, मधेसी, जनजातीको मुक्ति भइराखेको छैन। त्यस्तै अरु वर्गको पनि भएको छैन। सिङ्गो नेपाली जनताको मुक्ति भएको छैन। राष्ट्र नै आज पूर्णरुपमा स्वाधिन भइसकेको छैन। त्यसकारण राज्य सत्तामा आमुल परिवर्तन गर्ने हाम्रो लक्ष्य थियो त्यो पूरा हुन सकेन।

अहिले दलितहरु जुन तहमा पुगेका छन् त्यो केही मात्रमा सुखद कुरा हो तर त्यो तहमा पुगेर पनि सन्तुष्ट हुने किसिमले काम हुन सकेको छैन। यस्तो किन भयो ?

दुनियाँ गतिशिल छ। हरेक वस्तु गतिशिल छन्। अझै आजको दुनियाँ त भूमण्डलिकृत दुनियाँ हो। आजको यो विज्ञान, प्रविधिको कारणले पनि संसार आज सबैको हातमा आइपुगेको छ। मान्छेका चाहानाहरु असंख्य छन्। त्यसकारण मान्छेले हिजोको जस्तो लामो समय पर्खिन सक्दैन। हुन त केही मान्छेहरुले अहिले पनि भन्नुहुन्छ भइरहेको छ। केही मान्छेले यो विस्तारै परिवर्तन हुन्छ किन आत्तिनु पर्‍यो पनि भन्छन्। तर, मानिसको जीवन त लामो छैन। कहिले सम्म कुर्ने सय वर्ष ? दुई सय वर्ष ? पाँच सय वर्ष ? तर, मान्छेको जीवन त लामो छैन। त्यसकारणले हाम्रो भनाई के हो भने आमुल परिवर्तन त्यो पनि समग्र अर्थमा मान्छेको जीवनमा पनि खुशीयाली ल्याउने, समृद्धी ल्याउने हो। आर्थिक, राजनीतिक र सामाजिक, मनोवैज्ञानिक त्यो सबै सँग एउटा साइनो छ। तपाईंले भौतिक र प्राकृतिक दुनियाँको कुरा गर्नुहोस् संसार त चलेकै त छ। हामीले चाहेपनि नचाहे पनि दुनियाँ त चलेकै छ। विहान सूर्य अस्ताउँछ उदाउँछ, समाज विज्ञान पनि यस्तै हो। तर, यसको निश्चित मूल्य र मान्यता हुन्छ। त्यो निश्चित मुल्य र मान्यतामा जब ब्रेक लाग्छ नि अनि परिवर्तनका लागि आन्दोलन हुन्छ, क्रान्ति हुन्छ अतिभयो भने मान्छेले बलिदान दिन पनि तयार हुन्छन्। त्यसकारणले स्वभाविक रुपमा अलिअलि भएकै छ। तर, हामीलाई छिटो आमुल परिवर्तन चाहिएको हो।

राजनीतिक दलभित्र दलित समुदायको अवस्था कस्तो छ ?

यो समुदायबाट राजनीतिमा आउने नेता कार्याकर्ताको अवस्था कस्तो छ भन्ने कोणबाट हेर्दा मैले अत्यन्तै आशावादी देख्छु। एकदम आशावादी र ऊर्जाशिल देख्छु, सम्भावना धेरै छ। केही गर्नुपर्छ भन्ने हुटहुटी पनि देख्छु। त्यो हिसाबले लागेको पनि देख्छु म। त्यसैले यसमा केही कमी छैन।

तर, धेरै पार्टीमा दलित समुदायका व्यक्तिहरुले मुल नेतृत्वलाई चुतौती दिन किन सक्दैनन् ?

यसको पछाडि दुई/तीन वटा कारण छन्। पहिलो कुुरा ती पार्टीहरु जुन अहिले राष्ट्रिय राजनीतिमा छन् उहाँहरुको एउटा सेट (समूह) छ र उहाँहरुले निश्चित वर्गको प्रतिनिधित्व गर्नुहुन्छ। तर, यो समुदाय भनेको उत्पीडित हो। यसको समग्र राजनीतिक, आर्थिक र सामाजिक हैसियत तुलनात्मक रुपमा कम्जोर छ। यो कारणले पनि राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न नसकेको होला। 

पहिलै स्थापित भएर आएका पार्टीका संरचनाहरुका कारणले पनि होला। त्यसो हुँदा यसले के संकेत गर्छभन्दा पुरानो तरिकाले, यथास्थितिमै, पुरानै प्रक्रियाले परिवर्तन सम्भव छैन। यसरी नेतृत्व विकासको सम्भावना छैन। हिजो कै अवस्थाबाट नेतत्वमा पुग्नु सक्ने सम्भावना छैन। यसको लागि नयाँ तरिकाले सोच्नुपर्छ। सम्रगमा विभिन्न उपायहरु पनि खोज्नुपर्छ। निरन्तरतामा क्रमभङ्ग गर्नुपर्छ। यसले विचार, पद्धति र प्रणालीमा नयाँपन चहिन्छ।

त्यसो भए क्षमता नभएर दलित नेताहरू अगाडि बढ्न सकेन हो?

दुई वटै कुरा छन्। क्षमताको अर्थ प्रणालीको हो कि व्यक्तिको भन्ने हुन्छ। जतिसुकै राम्रो पाइलट भयो भने पनि प्लेन गढबढ भयो भने यो हाक्न त सकिदैन। फेरि प्लेन वा गाडी राम्रो अवस्थाको छ तर पाइलटमा गढबढ छ भने पनि हुँदैन। त्यसैले एक्से एक नेताहरु हुनुहुन्छ तर प्रणाली नै गढबढ भएपछि उनीहरुले त के नै गर्न सक्छन र ?

त्यसो भए यसको सुधारको लागि तपाईं आवाद्ध पार्टी संगठनको मुद्धा के हो ? सँगै संगठनकाे नामाकरणका बारेमा पनि बताइदिनु न। 

केही साथीहरुले संविधानमा संसारमै नभएको कुरा लेखियो भन्नुभयो। आखिर लेखेर हुन्छ के? लागू गर्न सक्नु भएन भने त्यसको के अर्थ ? लेख्न त धर्मशास्त्रमा कति राम्रो कुरा लेखिएका छन्। धर्ममा भनेको जस्तै संसार शान्तिपूर्ण छ त ? त्यसैले लेखेर मात्रै त भएन न नि त। त्यसकारण जसरी हामीले हाम्रो संगठनको नयाँ नामाकरण गरियो– ‘श्रमिक समुदाय मोर्चा, नेपाल’ यो शब्द फेर्नुसँग मात्रै सिमित छैन।

यसमा दुई वटा पाटो जोडिएको छ। एउटा पाटो नेपालको समग्र राजनीतिक आन्दोलन नै ठिक ट्र्याकमा छैन। त्यही कारण नै आज देश र जनताको अवस्था यस्तो भएको हो। यसलाई नयाँ ढङ्गले सोच्नुपर्छ भन्ने हाम्रो पार्टीको कुरा हो। कम्युनिस्ट कोणबाट पनि नयाँ ढङ्गले सोच्नुपर्छ भनेका छौँ। अरु बुर्जुवा, पुँजीवादी यो मात्रै होइन कम्युनिस्ट कोणबाट नै नयाँ ढङ्गले सोच्नुपर्छ किनकी माक्र्सवाद, माओवाद, लेनिनवाद यही त हो कम्युनिस्टहरुले बोकेको विचार। तर, आजको एक्काइशौँ शताब्दीमा भएको विज्ञान र प्रविधिको विकासको परिस्थितिले नयाँ कुरा माग गर्छ। अब हिजोको पुरानो तरिकाले मात्रै सम्भव छैन। अब माक्र्सवाद, लेलिनवादमा पनि थप विकास गर्नुपर्छ।

कुनै बेला मान्छेले लिथोबाट लेख्ने काम गथ्र्ये। अलिपछि ‘टाईप राइटर’ आयो। त्यसपछि कम्युटर आयो। कम्युटर पनि नयाँ–नयाँ तरिकाका आए। भौतिक विकास यसरी भएको छ। त्यसअनुसार समाज विज्ञानको विकास पनि हुनुपर्‍यो नि। समाज विज्ञानमा पनि पुरानो कुरालाई समाएर त भएन। समाज विज्ञानमा पनि नयाँ–नयाँ कुुराको विकास हुनुपर्छ। मान्छेको चेतनाले त्यसलाई सम्हाल्न पर्‍यो। जो समयअनुुसार विकास हुन्छ त्यो अघि बढ्छ। भौतिक विज्ञान, समाज विज्ञान र प्राकृतिक कोणलगायत सबैमा उच्चतम कोणबाट जसले समाएर लागू गर्न सक्यो त्यही अघि बढ्छ। त्यसैले यो समुदायको आँखाबाट हेर्दा दलित समुदाय भनेर जुन हामीले भन्ने गरेका छौँ।

 यो समुदायको निर्माण वर्ण व्यवस्थाबाट भएको छ। संसारमा पहिला वर्ण व्यवस्थाबाट सुरु गरियो। जुन सुरुमा अछुत थिएन पछि पञ्चम वर्ण विकास गरेर अछुत बनाइयो। अछुतपछि विशेष गरी भारतका ज्योतिबा फू'हुँदै अम्मेडकरसम्म आउँदा छरिएर रहेको यो समुदायका मानिसलाई एकताबद्ध गर्ने नामको आवश्यकता पर्‍यो। एउटा नयाँ नामको आवश्यकता पर्‍यो। जागरण र आन्दोलित गर्न पनि नयाँ नामको आवश्यकता पर्‍यो। त्यतिबेला दलित शब्दले महत्वपूर्ण भूमिका खेल्यो। त्यही शब्दपछि नेपालमा प्रवेश गर्‍यो।

वि.सं.२०२४ सालमा ‘नेपाल दलित जनविकास परिषद्को नाममा यसको पहिलो पटक प्रयोग गरियो। ०२९ सालमा गएर यो अलिकति साझा भयो। छोटकरीमा भन्दा यसको इतिहास यही हो। त्यो त्यतिबेला ठिकै थियो। हामीले त्यसलाई अवमुल्यन गरेका छैनौँ। त्यतिबेलाको परिवेशमा त्यो धेरै राम्रो थियो। सबै उत्पडितलाई एकताबद्ध गर्‍यो, जागरण ल्यायो, आन्दोलित गर्‍यो। तर, आजका नयाँ युवा, युवातीको नजरबाट सोचौँ त ? जस्तो तपाईं अहिले पत्रकार हुनुहुन्छ तपाईं किन पत्रकार भनेको तपाईंको जातगत पेशा त अर्काै थियो होला। अब तपाईंलाई त्यही पुर्खाको काम गर्नुहोस् भन्नु कति वैज्ञानिक होला त ? त्यसैले नयाँ ढङ्गले सोच्नैपर्छ।

त्यसैले हाम्रो प्रस्ताव के हो भने– कुनै पनि कुरा जुन बेलामा ठिक थियो अहिले पनि ठिक छ भन्न जरुरी छैन। अहिलेको आवश्यकता र चेतना अनुसार फेरबदल हुनुपर्छ। एउटा कोण भनेको अहिलेको आवश्यकता अनुसार नयाँ नामाकारण गर्नुपर्ने भयो। अहिलेको चेनताको विकासको कारणले।

दोस्रो कुरा– त्यो बेलामा जतिबेला दलित शब्दको प्रयोग भयो। त्यसको शाब्दिक अर्थ दलन, दलिएको, हेपिएको हो। जो अछुत भनिएका समुदाय थिए उनीहरु राजनीतिक, सामाजिक, आर्थिक रुपमा पछि परेको, च्यापिएकालाई प्रयोग गर्न त दलित शब्द बनाइएको हो। अहिले त दलित राजनीति, दलित अर्थतन्त्र, दलित संघ, दलित साहित्य भनेर दलितिकरणको अभियान छ। अहिले त्यहाँसम्म पुर्‍यो यसले। जुन शब्द संविधानमा पनि उल्लेख भयो।

यो समुदायको मुद्धा के हो ? यो समुदायको मुद्धा सधै एउटै जातमा राख्ने मात्रै हो कि त्यसलाई उन्मुलन गर्ने हो ? यो चाहिँ विभेदलाई अन्त्य गर्ने हो कि कायम राखिरहने हो ? पहिचान राखिरहने हो कि यसलाई हटाउने हो ?

यो मुद्धा त जनजातीको जस्तो पहिचानको मुद्धा त होइन। यो मुद्धा सदा सर्वदा एउटा अस्तित्वमा राखिरहने खालको त होइन। एउटा निश्चित समयमा पुगेपछि त यो मेट्नुपर्ने हो। यो त अवस्था न हो। त्यो अवस्थाको अन्त्य गर्ने हो। यसको अन्त्य भनेको त अन्तरघुलन हो। रुपान्तरणको कुरा हो। त्यसकारण पनि एर्काे छुट्टै शब्द सदा सर्वदा लागि स्थापित गरेर राखिरहनुपर्छ भन्ने तर्क वैज्ञानिक होइन् भन्ने हाम्रो भनाई छ। 

तेस्रो कुरा– यो समुदायको पहिचन बोल्न, पढ्न, लेख्न नजान्ने हो त ? के यो समुदायको पहिचान यत्ति हो ? भन्ने कोणबाट पनि हामीले विश्लेषण गर्‍यौँ। र, हामीले के निष्कर्ष निकालौँ भने हिजोको समयमा तिमी हेपिएका छौँ, दलिएका छौँ, तिमी अछुत होइनौँ भन्नका लागि दलित शब्द कुनै बेला सहि थियो। तर, आजको दुनियाँमा आइपुग्दा तिम्रो पहिचान हेपिएको होइन, तिम्रो पहिचान केही नजान्ने मात्रै होइन। तिम्रो पहिचान सर्जकको हो तिम्रो पहिचन निर्माताको हो। तिम्रो पहिचान वैज्ञानिकको हो। यही हो यसको बृह्त परिभाषा अनि पो मानिस माथि जान्छ। आफ्नो इतिहासको गर्व हुनुपर्‍यो। तर,‘दलित’ भन्दा ‘दलित’ भन्न नपाए हुन्थ्यो भन्ने छ। यसको अर्थ त्यो मानिसले न्याय खोज्यो। नयाँ आवश्यकता महसुस गर्‍यो। त्यसपछि यसका अगुवाहरुले गर्ने के यही हो ? यसैमा बस् भन्ने कि त्यसको चेतना अनुसारको वैज्ञानिकरण गरेर जाने ? त्यसकारण त्यो पहिचान अपूर्ण भयो आंशिक भयो। त्यसपछि यसलाई बृह्त कोरणबाट सोचेर हामीले यसलाई श्रमिक नै हो भन्नेमा पुग्यौँ।

 यी तीन वटा कोणबट जब हामीले नाप्यौँ त्यसपछि यसलाई नयाँ तरिकाबाट जानुपर्छ भन्नेमा पुगेर ‘श्रमिक समुदाय मोर्चा’ भनेर नामाकरण गरियो।

त्यस्तै दलित, दलित, दलित भन्दै गर्दा दलितले मात्रै यो सप्पै समस्याको समाधान गर्न सक्छ त ? एक चरण दलितहरुले मात्रै गर्दै आए यहाँसम्म तर अबको अवस्थामा दलितहरुले मात्रै संघर्ष गरेर सम्भव छ त ? भन्ने कोणबाट पनि हामीले नाप्यौँ। यो समुदायलाई अरु सबै उत्पीडितलाई एक ठाउँ गर्नको लागि पनि हिजोको त्यो दलित शब्द नमिलेको जस्तै लाग्यो र नयाँ नामाकरण गरियो। फेरि हामीले यही सबैले मान्नुपर्छ यही नै अन्त्य हो भन्दैनौँ।

तपाईंको पार्टीले यी कुरालाई व्यवहारमा लागू गर्ला त ?

पहिलो कुरा त हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी जसको नेतृत्व कमरेड विप्लवले गर्नुभएको छ। हामी साच्चिकै नयाँ ढङ्गबाट सोचिरहेका छौँ। मान्छेले पत्याउन/नपत्याउन त्यो आफ्नै कुरा भयो। कम्युनिस्ट आन्दोलनको कोणबाट पनि नयाँ ढङ्गले नसोचिकन हुँदैन। किनभने हिजोको तरिकाले मात्रै हुने रहिन्छ भन्ने कुरा त अन्तर्राष्ट्रिय रुपमै थाहा पाइसकियो। नेपालमै पनि विजय नजिक पुगेको जनयुद्ध पनि विसर्जजन भयो नि त। कहाँ मिस्टेक भयो त ? सैदान्तिक व्यवाहारिक रुपमा पनि संश्लेषण गर्‍यौँ।

अर्काे कुरा नेपालकै कोणबाट हेर्दा पनि त कहीँ न कहीँ समस्या त छ नि। त्यसकारण नेपालकै सन्दर्भमा कसरी गर्दा विशिष्ट हुन्छ भन्ने कुरा छ। यहाँ के गर्दा ठिक हुन्छ भन्ने पनि छ।

त्यसैले हामीले नेपालमा वैज्ञानिक समाजवाद भनेका छौँ। त्यो हाम्रो आदर्श, लक्ष्य र उद्देश्य हो। यति हुँदाहुँदै पनि नेपालमा लागू गर्न हामी एक्लैले त सम्भव छैन। त्यसैले नेपालमा रहेका सबै देशभक्त, जो नेपालको राष्ट्रिय स्वाधिन्ता चाहानुहुन्छ, नेपाली जनताको मुक्ति र समृद्धी चाहनुहन्छ। सबैलाई एक ठाउँमा गोलबन्द गर्ने।

सफल हुने कि नहुने भन्ने कुरा दुई/तीन वटा कुराले निर्धारण गर्छ। एक तपाईंको लक्ष्य र उद्देश्य स्पष्ट र सही हुनुपर्‍यो। दुई तपाईंभित्र केही लुकेको छ कि उद्देश्यभित्र निःस्वार्थ हुनुहुन्छ भन्ने कुराले निर्धारण गर्छ। यो छोटो जीवनमा हामीले दुई कुरा भोगेका छौँ। १० वर्ष त जनयुद्ध त भोग्यौँ/गरेयौँ। पछिल्लो दश वर्ष त हामीले पार्टी कसरी बिग्रदोँ रहिछ भन्ने कुरा हामीले बुझ्यौँ। पार्टी कसरी बिग्रने रहिछ। कार्याकर्ता कसरी बिग्रने रहिछन् भन्ने कुरा बुझ्यौँ। प्रतिक्रान्ति भन्ने कुरा पनि त हामीले जीवनमा भोगियो त। क्रान्ति र प्रतिक्रान्ति दुवै भोगियो अझै लागेका छौँ अब यो जीवनमा अर्काे गर्नुपर्ने के छ र। हामीले स्वर्थ छोड्यौँ, पद छोड्यौँ, परिवारका खुशीहरु छोड्यौँ। त्यस्तै आवश्यक परे जस्तोसुकै खतरा मोल्न पनि तयार हुनुपर्छ।

त्यही पार्टी सफल हुन्छ जसले सबैलाइै गोलबन्द गर्न सक्छ। अरु कुरा त तपाईंले व्यवाहारमा हेर्ने कुरा भयो। तर, हामी यति भन्छौँ यो समुदायका मानिसले सोचेर मात्रै हुने होइन। नामाकरण मात्रै होइन मुक्तिको खाका हामी जसरी अगाडि सारेका छौँ। यो अर्थमा हामी सफल हुन्छौँ।

केही मुद्धा र घटनाहरुमा दलित–दलित दुई पक्षमा उभिन्छन्। किन एकजुट भएर लाग्न सक्दैनन् ?

यो नयाँ ढङ्गले सोच्न नसक्दाको परिणाम हो। यो समुदायभित्र कुनै घटना घट्दाँ हामी किन विकेन्द्रित हुन्छौँ? एकजुट भएर प्रतिवाद गर्न जादैनौँ? भन्ने जुन प्रश्न छ। हिजोको साशकहरुले फुटाएर साशन गर्ने र कजाउने प्रवृत्ति र चिन्तन अहिले सम्म हटेको छैन। त्यही निरन्तरता छ।

अनि आफू दह्रो भएर उभिन किन सक्दैनन् मान्छे ? किन भने त्यो अर्काको भरमा उभिएको छ। भर्याङ चढेर आएको छ। कसैको साहारामा आएको छ। कहीँबाट परिचालित वा कजाईएर आएका छन्। त्यसकारण पुरानै सोचबाट सम्भव छैन।

 तपाईंहरुले भन्दै आएको नयाँ विभेद वा विभेदमा आधुनिकिकरण भनेको के हो ?

यो कुरा दलित समुदायमा मात्रै लागू हुँदैन। यो समुदायको पक्षमा उभिएका साथीहरुले बाहुन, क्षेत्रीलाई चर्काे गाली गर्नुहुन्छ। के सबै बाहुन, क्षेत्री खराब हुन त ? त्यो त होइन। यही समुदायका मानिसहरु पनि के सबै राम्रा हुन त ? यहाँ त दुई वटा कित्ता छुट्याउन सक्न पर्‍यो। शोषण, दमन, अत्याचारको बसी खानेहरुको, लुटिखानेहरुको एउटा कित्ता हुन्छ। त्यो बाहुन, क्षेत्री, जनजाति, दलित सबैमा हुन्छ। अर्काे हिस्सा भनेको अन्याय सहनुहुन्न, विद्रोह गर्नुपर्छ, सबैले समान भएर बाँच्न पाउनुपर्छ भन्ने हुन्छ।

००७ सालको कांग्रेस क्रान्तिकारी हो। तर, राजावादी र राणाहरु कांग्रेसमा आएर मिस्सिएपछि त्यो कांग्रेस अर्काै भयो। ०४६ सालमा आन्दोलन गर्नेहरु केही हदमा प्रगतिशिल नै हुन्। तर, पछि फेरि राजवादीहरु त्यही मिसिए। त्यस्तै जनयुद्धको माओवादी पनि त्यही त हो। फेरि यहाँसम्म आउँदा त ऊ पनि फेरि उही। इतिहासमा यस्तो हुँदै आएको छ। नेपालका जाती निर्माणमा त्यो पाउनुहुन्छ। कुनै बेला पहाड तिरको मुल जाती खस हुन्। अनि खसलाई जित्नलाई आर्यहरुले आफ्ना संस्कृति मिसाइदिए। यो समाज विकासको निर्माण यसरी नै हुँदै आएको छ। जब आन्दोलनहरु चर्किदै जान्छन्। त्यसपछि शोषण गर्ने तरिकाहरु पनि फेरिँदै जान्छन्। आफ्नो अतित्व कायम गर्न सबै हतकण्ड लगाउँछन्। यो अर्थमा नेपालका हुने विभेद हिजौकै तरिकाले त हुँदैन। यो नयाँ तरिकाले हुन्छ, भइरहेको छ। त्यसकारणले यसलाई हामी आधुनिक विभेद भनेका हौँ।

आधुनिक विभेदबारे अझै बुभिने गरी बताइदिनु न ?

तँ दलित होस्, त अछुत होस् नभन्ने तर विभेद गरिरहने हो। भिन्न तरिकाले नदेखिने गरी गर्ने विभेद हो। यस्तो कानुनको डरले हुन्छ।

 जातीय विभेद अन्त्यको अबको नयाँ बाटो के हुन सक्छ ?

अहिले पनि अम्बेडकरकै भजन गाउने। उही अम्बेडकरका कुरा पढेर तिनै कुरा भट्टयाउने। नेपालमा अर्काे नयाँ के छ? धेरै भए केही थपथाप होला। मैले भन्नुको अर्थ असफल कुरा भजाएर केही हुँदैन, सफल कुरालाई लागू गर्ने हो।

अम्बेडकरका विश्लेषणहरु केही हदसम्म ठिक छन्। त्यसलाई हामीले सन्दर्भका रुपमा प्रयोग गर्न सकिन्छ। तर, उहाँको निष्कर्षले अरुलाई मुक्ति दिँन सकेनन। नेपालकै आन्दोलनले पनि त मुक्ति दिएन। भन्नुको अर्थ पुरानो सोचले हुँदैन भन्ने हो। अब पुरानो तरिकाले हुँदैन भन्ने कुराले मात्रै नयाँ कुरा जम्मिन्छ।

तर, पुरानो भट्याउन नछोड्ने तर खोज्ने चाहिँ नयाँ। यो अर्थमा अब नयाँ ढङ्गले सोच्नु पर्‍यो। अब नयाँ के त ? पहिलो कुरा व्यवस्थाकै कुरा हो। त्यसका लागि यो समुदायका मान्छे नेतृत्वमा पुग्नु पर्‍यो। दलित समुदाय राज्य सञ्चालक बन्नु पर्‍यो। त्यस्तै गरी आर्थिक, सामाजिक प्रणाली पनि फेर्नुपर्‍यो। सबै समुदायको हित गर्ने अर्थ प्रणाली बनाउनु पर्‍यो।

अर्काे यसको अन्त्यका लागि तीन चरणबाट काम गर्नुपर्छ। पहिलो आफ्नो थर र गोत्रतर्फ फर्किने, दोस्रो अन्तरघुलन, तेस्रो चरणमा गएर अर्काे नयाँ मानव जातीमा विकास हुनुपर्छ। यो तीन वटा चरणमा अगाडि बढ्नुपर्छ।

breaknlinks.com