एमसीसी पास गर्न दिएको 'डेडलाइन'मा नै बोलाइयो संसद बैठक

बुटवल । संसदको दुवै सदनको बैठक मंसिर २८ गते बोलाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सरकारको सिफारिसमा मंसिर २८ गते दिउँसो २ बजेका लागि संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी हुन्।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेतालाई भेटेर मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे निर्णय गर्न डिसेम्बर १४ सम्मको ‘डेडलाइन’ दिएका थिए। त्यो भनेको मंसिर २८ गते हुन्छ।

त्यही दिन सरकारले संसदको बैठक बोलाएको हो। सत्तारुढ गठबन्धनका एक नेताले भने एमसीसीका कारण मंसिर २८ गते बैठक नबोलाइएको दाबी गरे। 

‘अहिले सर्वोच्च अदालतभित्र संकट छ। त्यसबारे संसदमा छलफल गर्न आवश्यक देखिएको छ’ उनले भने, संसद बैठक एमसीसी पास गर्न बोलाइएको होइन, न्यायालयका समस्याबारे छलफल गर्न बोलाइएको हो।’