नेकपा रूपन्देहीद्वारा दिवंगत टंकमणिको परिवारसित भेट

बुटवल । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले सडक दुर्घटनामा परि निधन भएका रामप्रसाद बञ्जाडे (टंकमणि)को परिवारलाई भेटेर समवेदना व्यक्त गरेको छ । 
भेटघाटमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृति, केन्द्रीय सदस्य प्रज्वलन, जिल्ला सेक्रेटरी विश्वास, नवलपरासी सेक्रेटरी धीरजलगायत जबस मोर्चा सम्बद्ध नेता कार्यकर्ता, स्थानीय पार्टी सदस्यहरुको सहभागिता रहेको थियो । 

नेकपा रुपन्देहीले बञ्जाडेको परिवारलाई भेटेर दिवंगत बञ्जाडेप्रति गहिरो समवेदना व्यक्त गर्दै परिवार एवं आफन्तजनमा समवेदना व्यक्त गरेको छ । 

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज रहेका टंकमणिको मंसिर ७ साँझ बुटवल जितगढीमा सडक दुर्घटना भएको थियो । दुर्घटनापछि उनको उपचारको क्रममा ८ गते बिहान निधन भएको थियो । 

२०३८ सालदेखि विद्यार्थीबाट राजनीति सुरु गरेका बन्जाडे जनयुद्धका पूर्णकालीन नेता हुन् । २०३९ सालमा नेकपा चौमको पार्टी सदस्यता लिएका बञ्जाडे २०५४ सालमा अखिल (क्रान्तिकारी)को केन्द्रीय महासचिव भएका थिए । बञ्जाडेले जनयुद्धको क्रममा विभिन्न सैन्य कारवाहीहरुमा समेत सहभागि भएका थिए ।

२०६० सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य भएका बञ्जाडे तत्कालीन पार्टी नेतृत्वले जनयुद्धलाई धोका दिएपनि उनी निरन्तर संस्थापन पक्षमा रहँदै आएका थिए ।