ओमिक्रोनको उच्च जोखिम, अत्यावश्यक बाहेक विदेश नजानु : स्वास्थ्य मन्त्रालय

बुटवल । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी दिएको छ। सोमवार डब्लुएचओले यो भेरिअन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताएको हो।

सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउनका लागि पुनस् आह्वान गरेका छन्। यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो। प्रारम्भिक प्रमाणहरूले यसको सङ्क्रमण जोखिम धेरै रहेको देखाएका थिए। उक्त भेरिअन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ।

अध्ययन हुँदै

सोमवार बोल्दै डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरिअन्ट उच्च सङ्क्रामक छरछैन, पुनस् सङ्क्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन काम गरिरहेको बताए। ‘ओमिक्रोन देखिनुले कोभिड अब सकियो भन्ने हामी मध्ये धेरैले सोचे पनि त्यो होइन भनेर सम्झाएको छ,’ उनले भने। नयाँ भेरिअन्टका कारण कसैको ज्यान गएको भन्ने अहिलेसम्म नपाइएको पनि उनले बताए।

यो नयाँ भेरिअन्ट युके, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डस्‌लगायत थुप्रै देशमा देखिइसकेको छ। नयाँ भेरिअन्ट देखापरेपछि अमेरिका, युके र युरोपेली संघले दक्षिण अफ्रिकी देशहरूका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएका छन्। उक्त निर्णयको दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आलोचना गरेका छन्। जापानले नयाँ विदेशी पर्यटकलाई मङ्गलवार रातिदेखि सीमा बन्द गरिने घोषणा गरेको छ। अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ। अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र ूदक्ष कामदारू बुधवारबाट पुनस् जान पाउने भनिए पनि अब फेरि डिसेम्बर १५ तारिखसम्मका लागि पर सारिएको छ।

इजरेलले पनि विदेशीलाई देश प्रवेशमाथि प्रतिबन्ध लगाएको छ। युकेमा ओमिक्रोनको नयाँ लहरलाई रोक्न मद्दत पुगोस् भनेर १८ वर्षमाथिका सबैलाई कोभिडको बुस्टर खोप दिन लागिएको छ।

अमेरिकी राष्ट्रपतिले पनि आफ्ना सबै नागरिकलाई बुस्टर खोप लगाउन भनेका छन्। उनले घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गरेका छन्।तर बाइडनले अमेरिकामा थप यात्रा प्रतिबन्ध लगाइने वा लकडाउन हुने कुनै अनुमान नगरिएको बताए। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सन् २०२० मा विश्वव्यापी महामारी सुरु भएयता विश्वभरि २६ करोडभन्दा बढी मानिस सङ्क्रमित भएका छन् र ५० लाखको ज्यान गएको छ।

अत्यावश्यक कामबाहेक विदेश नजानू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश नजान अपिल गरेको छ । कोभिड–१९ को ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताउए । उनका अनुसार अहिलेसम्म यो भेरियन्ट नेपालमा फेला परेको छैन । उनले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी र परीक्षणको दायरालाई फराकिलो पारिएको बताए ।

नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाइ नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ, उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

उनका अनुसार यो भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न÷गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

केही दिनअघि मात्र अफ्रिकी देशमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) साउथ अफ्रिका तथा एसियाका केही देशमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा गरेको छ ।

मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गइ खोप लगाउन पनि अनुरोध गरेको छ ।