नेकपा (मसाल) समन्वय समिति घोषणा, सिंहले दक्षिणपन्थी नीति लिएको आरोप

बुटवल । नेपाल कम्युनिष्ट पार्टी मसाल भित्रको अल्पमत पक्षले पार्टीको केन्द्रिय समन्वय समिति गठन गरेको छ । राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव सन्तबहादुर नेपाली संयोजक र मसालका पूर्व संगठन विभाग प्रमुख कृष्णराज पौडेल प्रवत्ता रहेको ५७ सदस्यीय केन्द्रिय समन्वय समिति गठन गरेको आज बुटवलमा पत्रकार सम्मेलन गरी जनाकारी दिएको हो ।

नेकपा मसालको नेतृत्वले पार्टीलाई दक्षिणपन्थी बाटोमा लैजाने नीति पारित गरेको भन्दै आफूहरु क्रान्तिकारी विचार बचाउन संघर्षमा जान बाध्य भएको समन्वय समितिका संयोजक नेपालीले बताए ।

‘आठौं महाधिवेशनबाट पारित गरेको भन्दै ग-यो । त्यसमा फरक विचार राख्ने कमरेडहरुलाई कार्वाही गर्ने र कैयौं समितिहरु भंग गरेर पार्टी र जनवर्गीय संगठन पुनर्गठन गर्ने काम गरेपछि त्यसका विरुद्ध पार्टीभित्र केन्द्रीय सम्पर्क केन्द्रको गठन भएको थियो, उहाँद्धारा जारी विज्ञपतीमा भनिएको छ, ‘त्यो सम्पर्क केन्द्रले पार्टीलाई आफ्ना दक्षिणपन्थी नीतिलाई सच्चाउन दबाब दिंदै आएको थियो ।Ò आफूहरु निरन्तर वार्ताका लागि पहल कदमी लिए पनि पार्टी नेतृत्वले वार्तालाई परिषद बैठकबाट नै लत्ताएको आरोप नेपालीको छ । ‘कार्यकर्ताहरु कै दवावमा वार्ताको लागि आह्वान गरेपनि विभिन्न शर्तहरु तेर्साएर नेतृत्वले हामीलाई वार्तामा ल्याउन चाहेन । हामीले वार्ताको लागि पहल ग¥यौं । पार्टीले हठ छाडेन र परिषद्को बैठकबाटै “वार्ता र भेटघाट फिर्ता लिने निर्णय” गर्न पुग्यो । पार्टीको यस प्रकारको फुटपरस्त नीतिको विरोध गर्दै आउने क्रममा हामीले सम्पर्क केन्द्रको राष्ट्रिय भेलागर्न र भेलाबाट केन्द्रीय समन्वय समिति गठन गर्न बाध्य भएका छौं, –विज्ञप्तीमा भनिएको छ ।

केन्द्रीय सम्पर्क केन्द्रलाई राष्ट्रिय भेलाबाट केन्द्रीय समन्वय समिति बनाउने निर्णय भएको नेपालीले जनाकारी दिए । नेकपा(मसाल)को आठौं महाधिवेशनले लिएका दक्षिणपन्थी नीतिहरु नसच्याएर आठौं महाधिवेशनले पारित गरेका नीतिहरुलाई गरिएका फेरबदल, थपघटका विषयसमेत नसच्चाएमा आगामी एक वर्षभित्र विशेष महाधिवेशन गर्ने निर्णय भएको उनको भनाई छ ।

नेतृत्वले विशेष महाधिवेशनको आयोजना नगरेको खण्डमा समन्वय समितिले नै विशेष महाधिवेशन गरेर पार्टी निर्माण गर्ने नेपालीले बताए । समन्वय समितिले एकवर्ष भित्र कुनै पनि समयमा पूरा गर्ने गरी निर्णय भएको बताए । पार्टी फुटाउने वा जुटाउने मसाल नेतृत्वको जिम्मेवारी रहेको उल्लेख गर्दै नेता नेपालीले समन्वय समितिले नेतृत्वलाई पर्खेर बस्न सक्ने अवस्थामा रहने समेत दावी गरे । अहिलेलाई पार्टी परिचालनका लागि एउटा अन्तरिम कार्यविधि बनाएर काम गर्ने बताइएको छ । पार्टी मातहतका जनवर्गीय संगठन, वैधानिक मोर्चा वा विभिन्न मंच तथा संघसंस्थाहरु पनि बनाउन सक्ने भेलाले निर्णय गरेको उनले बताए । विभिन्न प्रदेश समितिहरु तथा जनवर्गीय संगठनहरुले विद्रोह गरिसकेको भन्दै उनले विद्रोही संगठनहरुलाई समन्वय समिति मातहत परिचालन गर्ने समेत बताए ।

विशेष महाधिवेशन सम्पन्न नहुँदासम्मको समयलाई अन्तरिम अवधि मान्दै यो अवधिभर समन्वय समितिले पार्टीको नेतृत्व गर्ने, निर्देशन दिने, अन्य पक्षसँग सम्पर्क गर्ने, वार्ता संवाद गर्ने, सहकार्य गर्ने, आन्दोलनको नेतृत्व गर्ने, अपील तथा वक्तव्य जारी गर्ने लगायतका काम समन्वय समितिको नामबाट हुने गरि निर्णय भएको छ । पार्टीको मुखपत्र प्रकाशन गर्ने, वैधानिक पत्रिकाहरु प्रकाशन गर्ने, सांस्कृतिक मोर्चा, संयुक्त मोर्चा, रणनीतिक मोर्चा, कार्यगत एकता आदि सम्बन्धी नीति निर्धारण गर्ने लगायतका कामहरु समन्वय समितिले गर्नेछ ।

अन्य पार्टीमा जान वा अन्जानमा जुनसुकै कारणले प्रवेश गरेका कमरेडहरुलाई पनि व्यक्तिगत वा समूहगत रुपमा समेत पार्टीमा फर्काउन प्रयत्न गर्नेछ । दक्षिणपन्थी नेतृत्वका कारण निरास वा निश्क्रिय बसेका कामरेडहरुलाई पार्टीमा सक्रिय बनाउन प्रयत्न गरिने छ ।

देशभित्रका देशभक्त तथा वामपन्थी तथा जनवादी संगठनहरुसित मैत्रीपूर्ण सम्बन्ध बढाउने छ । एकता–संघर्ष–एकताको नीतिका आधारमा मित्र पार्टीहरुसित संघर्षलाई अगाडि बढाउन जोड दिनेछ । त्यसका अतिरिक्त पार्टी संगठनलाई व्यवस्थित पार्ने, सदस्यता नविकरण गर्ने, नयाँ उम्मेदवार सदस्यहरु बनाउने, प्रशिक्षण संचालन गर्ने, आदि कार्यहरुलाई समेत समन्वय समितिले अगाडि बढाउने छ । प्रस्तावमा समन्वय समितिले अहिले लोकतान्त्रिक गणतन्त्रको स्थापनाको साथसाथै दलाल तथा नोकरशाही पुँजीपतिवर्गसत्तामा हावी भएको निश्कर्ष निकालेको छ । राज्यका सबै क्षेत्रमा जनताका अधिकारहरु खोसिँदै गएका छन् ।

वास्तविक सर्वहारा,मजुर, किसान, दलित, महिला, पिछडिएका जनता, मधेशी समुदाय तथा सीमान्तकृत समुदायका जनता आफ्नो अधिकारबाट बञ्चित हुँदै गएका छन् । उनीहरुका नाममा केही टाठाबाठाहरुले फाइदा लिइरहेका छन् । राजनैतिक दलहरु संविधान अनुसार काम गर्नु सट्टा विदेशी दलाल, माफिया, भ्रष्ट, तस्कर तथा सामन्ती तत्वहरुबाट परिचालित भइरहेका छन् ।

त्यसले गर्दा देशमा भ्रष्टाचार, महंगी, तस्करी, घुसखोरी, नातावाद, परिवारवाद जस्ता विकृतिहरु मौलाइरहेका छन् । गणतन्त्र स्थापना भएको १५ वर्षको अवधिमा यो संसदीय लोकतन्त्र बदनाम र असफल सावित भइसकेको हुँदा त्यसको विकल्पमा कुरा उठिरहेका छन् । त्यस सन्दर्भमा हाम्रो विचार यो छ कि यो व्यवस्था भन्दा माथिल्लो स्तरको नयाँ जनवादी व्यवस्था नै संसदीय व्यवस्थाको विकल्प हो भनिएको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ

पत्रकार मित्रहरु,

नेकपा (मसाल) केन्द्रीय समितिले पार्टीलाई दक्षिणपन्थी बाटोमा लैजाने नीति आठौं महाधिवेशनबाट पारित ग¥यो । त्यसमा फरक विचार राख्ने कमरेडहरुलाई कार्वाही गर्ने र कैयौं समितिहरु भंग गरेर पार्टी र जनवर्गीय संगठन पुनर्गठन गर्ने काम गरेपछि त्यसका विरुद्ध पार्टीभित्र केन्द्रीय सम्पर्क केन्द्रको गठन भएको थियो । त्यो सम्पर्क केन्द्रले पार्टीलाई आफ्ना दक्षिणपन्थी नीतिलाई सच्चाउन दबाब दिंदै आएको सन्दर्भमा कार्यकर्ताहरु कै दवावमा वार्ताको लागिे आह्वान गरेपनि विभिन्न शर्तहरु तेर्साएर नेतृत्वले हामीलाई वार्तामा ल्याउन चाहेन । हामीले वार्ताको लागि पहल गऱ्यौं । पार्टीले हठ छाडेन र परिषद्को बैठकबाटै “वार्ता र भेटघाट फिर्ता लिने निर्णय” गर्न पुग्यो । पार्टीको यस प्रकारको फुटपरस्त नीतिको विरोध गर्दै आउने क्रममा हामीले सम्पर्क केन्द्रको राष्ट्रिय भेला गर्न र भेलाबाट केन्द्रीय समन्वय समिति गठन गर्न बाध्य भएका छौं । समन्वय समितिको नीति, कार्यक्रम र योजनाबारे सार्वजनिक रुपमा जानकारी गराउनका निम्ति हामीले आज यो पत्रकार सम्मेलन आयोजना गरेका छौं ।

सर्वप्रथम त हामी यो खुशी प्रकट गर्न चाहान्छौं कि केही दिन अगाडि देशको कुनै भागमा केन्द्रीय सम्पर्क केन्द्रको प्रथम राष्ट्रिय भेला भव्य एवं शानदार किसिमले सम्पन्न गर्न सफल भएका छौं । भेलामा ३१ जिल्लाका १९१ जना प्रतिनिधिहरु ७ जना स्वयंसेवक र केही दर्शकहरुको उपस्थिति रहेको थियो ।

कम्युनिस्ट आन्दोलनमा आफ्नो जीवन समर्पित गर्दै आउनु भएका सम्पर्क केन्द्रका सल्लाहकार क.नरेशको अध्यक्षता, क. विरोधको संचालन र केन्द्रीय सदस्य क.अटलको स्वागतबाट शुरु भएको सो कार्यक्रमको उद्घाटन संयोजक क. विश्वासले गर्नु भएको थियो । त्यसभन्दा अगाडि रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले संसारभरी मजदुरहरुले गाउने अन्तर्राष्ट्रिय गीत गाउँदा सारा हल गुञ्जयमान भएको थियो ।

वीर सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरी अगाडि बढेको सो प्रथम राष्ट्रिय भेलालाई शुभकामना दिनेहरुमा सचिवालय सदस्य क.कमल, सल्लाहकार क.विकास र क.प्रकृति, वैधानिक मोर्चाका तर्फबाट क.प्रकरण, मजदुर मोर्चाको तर्फबाट क. रणबहादुर, किसान मोर्चा तर्फबाट क. कंचन, युवक मोर्चाबाट क. इच्छुक, प्रवासबाट क.अर्जुन, महिलाबाट क.ज्योति, अन्तर्राष्ट्रिय नेपाली मोर्चाको तर्फबाट क.प्रशान्त, विद्यार्थी मोर्चाबाट क. निरन्तर, बुद्धिजीवी मोर्चाबाट क.धनञ्जय, दलित मोर्चाबाट क.लेखक, जनजाति मोर्चाबाट क. हिमाल, शिक्षक मोर्चाबाट क. शितल, सांस्कृतिक मोर्चाबाट क. अनन्त, पत्रकार क.अभियान, वैधानिक साप्ताहिकबाट क. रक्तिम, प्रदेश नं. १ बाट क. विजय, २ नं. बाट क. कवि, ३ नं.बाट क. संयम, ४ नं. क. क्रिस्टल वा·, ५ नं.बाट क. सम्भव, ६ नं.बाट क. प्रारम्भ, भारत शाखाबाट क.नविन एकता समाज बाट अर्जुन लगायत क.जिवन,क. अमर र क. आकाश हुनुहुन्थ्यो । क. अकवरले सबै सहभागीहरुलाई धन्यवाद दिनुभयो ।

उद्घाटन समारोह समापन लगत्तै बन्दसत्र, दोस्रो शेसन शुरु भयो । क. प्रकरण, क. प्रज्ज्वल, क. शीला, क. चट्टान, क. विक्रम लगायतको ५ सदस्यीय अध्यक्ष मण्डल चयन भयो । बन्दसत्रमा राजनीतिक प्रस्ताव, क. विश्वास, संगठनात्मक प्रस्ताव क. विकास, अन्तर्राष्ट्रिय परिस्थिति र विश्व कम्युनिस्ट आन्दोलनसम्बन्धी प्रस्ताव क. धनञ्जय, आर्थिक प्रस्ताव क. भूमी र पार्टीका तात्कालिक कार्यक्रम का. कमलले प्रस्तुत गर्नु भएको थियो । पाँच वटै प्रस्तावहरुमाथि ६ वटा समूहमा बाँडिएको ग्रुपमा छलफल भएको थियो । गु्रपले दिएका कतिपय सुझावहरुलाई समावेश गर्ने गरी सबै प्रस्तावहरु पारित भएका थिए । हाउसमा कतिपय भिन्न विचारहरुलाई प्रवाह गरिएको थियो । ती विचारहरुलाई पनि अध्ययन गर्दै जाने निर्णय भएको थियो ।

केन्द्रीय सम्पर्क केन्द्रलाई राष्ट्रिय भेलाबाट केन्द्रीय समन्वय समिति बनाउने निर्णय भएको छ । नेकपा (मसाल) को आठौं महाधिवेशनले लिएका दक्षिणपन्थी नीतिहरु नसच्याएर आठौं महाधिवेशनले पारित गरेका नीतिहरुलाई गरिएका फेरबदल, थपघटका विषय समेत नसच्चाएमा आगामी एक वर्षभित्र विशेष महाधिवेशन गर्ने निर्णय भएको छ । नेतृत्वले विशेष महाधिवेशनको आयोजना नगरेको खण्डमा समन्वय समितिले नै विशेष महाधिवेशन गरेर पार्टी निर्माण गर्नेछ । समन्वय समितिले त्यो काम एकवर्ष भित्र कुनै पनि समयमा पूरा गर्नेछ । पार्टी फुटाउने वा जुटाउने के गर्ने भन्ने विषय अब मसाल नेतृत्वको जिम्मेवारी रहेको छ । समन्वय समितिले नेतृत्वलाई पर्खेर बस्न सक्ने अवस्थामा छैन ।

अहिलेलाई पार्टी परिचालनका लागि एउटा अन्तरिम कार्यविधि बनाएर काम गर्नेछ । पार्टी मातहतका जनवर्गीय संगठन, वैधानिक मोर्चा वा विभिन्न मंच तथा संघसंस्थाहरु पनि बनाउन सक्ने छ । विभिन्न प्रदेश समितिहरु तथा जनवर्गीय संगठनहरुले विद्रोह गरिसकेकोहुनाले ती विद्रोही संगठनहरुलाई समन्वय समिति मातहत परिचालन गरिनेछ । विशेष महाधिवेशन सम्पन्न नहुँदासम्म अन्तरिम अवधि मानिने छ । यो अवधिभर समन्वय समितिले पार्टीको नेतृत्व गर्ने, निर्देशन दिने, अन्य पक्षसँग सम्पर्क गर्ने, वार्ता संवाद गर्ने, सहकार्य गर्ने, आन्दोलनको नेतृत्व गर्ने, अपील तथा वक्तव्य जारी गर्ने आदि काम अब समन्वय समितिको नामबाट हुनेछ । पार्टीको मुखपत्र प्रकाशन गर्ने, वैधानिक पत्रिकाहरु प्रकाशन गर्ने, सांस्कृतिक मोर्चा, संयुक्त मोर्चा, रणनीतिक मोर्चा, कार्यगत एकता आदि सम्बन्धी नीति निर्धारण गर्ने लगायतका कामहरु समन्वय समितिले गर्नेछ । अन्य पार्टीमा जान वा अन्जानमा जुनसुकै कारणले प्रवेश गरेका कमरेडहरुलाई पनि व्यक्तिगत वा समूहगत रुपमा समेत पार्टीमा फर्काउन प्रयत्न गर्नेछ । दक्षिणपन्थी नेतृत्वका कारण निरास वा निश्क्रिय बसेका कामरेडहरुलाई पार्टीमा सक्रिय बनाउन प्रयत्न गरिने छ । देशभित्रका देशभक्त तथा वामपन्थी तथा जनवादी संगठनहरुसित मैत्रीपूर्ण सम्बन्ध बढाउने छ । एकता–संघर्ष–एकताको नीतिका आधारमा मित्र पार्टीहरुसित संघर्षलाई अगाडि बढाउन जोड दिनेछ । त्यसका अतिरिक्त पार्टी संगठनलाई व्यवस्थित पार्ने, सदस्यता नविकरण गर्ने, नयाँ उम्मेदवार सदस्यहरु बनाउने, प्रशिक्षण संचालन गर्ने, आदि कार्यहरुलाई समेत समन्वय समितिले अगाडि बढाउने छ ।

प्रस्तावमा समन्वय समितिले अहिले लोकतान्त्रिक गणतन्त्रको स्थापनाको साथसाथै दलाल तथा नोकरशाही पुँजीपतिवर्ग सत्तामा हावी भएको निश्कर्ष निकालेको छ । राज्यका सबै क्षेत्रमा जनताका अधिकारहरु खोसिँदै गएका छन् । वास्तविक सर्वहारा,मजुर, किसान, दलित, महिला, पिछडिएका जनता, मधेशी समुदाय तथा सीमान्तकृत समुदायका जनता आफ्नो अधिकारबाट बञ्चित हुँदै गएका छन् । उनीहरुका नाममा केही टाठाबाठाहरुले फाइदा लिइरहेका छन् । राजनैतिक दलहरु संविधान अनुसार काम गर्नु सट्टा विदेशी दलाल, माफिया, भ्रष्ट, तस्कर तथा सामन्ती तत्वहरुबाट परिचालित भइरहेका छन् । त्यसले गर्दा देशमा भ्रष्टाचार, महंगी, तस्करी, घुसखोरी, नातावाद, परिवारवाद जस्ता विकृतिहरु मौलाइरहेका छन् । गणतन्त्र स्थापना भएको १५ वर्षको अवधिमा यो संसदीय लोकतन्त्र बदनाम र असफल सावित भइसकेको हुँदा त्यसको विकल्पमा कुरा उठिरहेका छन् । त्यस सन्दर्भमा हाम्रो विचार यो छ कि यो व्यवस्था भन्दा माथिल्लो स्तरको नयाँ जनवादी व्यवस्था नै संसदीय व्यवस्थाको विकल्प हो ।

देशको राष्ट्रियता गम्भीर अवस्थामा छ । राष्ट्रियता, सार्वभौमिकता र भूअखण्डताको रक्षा आजको महत्वपूर्ण आवश्यकता छ । प्रस्तावमा भनिएको छ ः “त्यसका साथै अहिलेको भूमण्डलीकरण, नीजिकरण तथा उदारीकरणका कारण विश्व साम्राज्यवाद, विशेषतः अमेरिकी साम्राज्यवाद र आफ्नै देशका सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्गद्वारा नेपाली जनताको शोषण, उत्पीडन बढ्दै गैरहेको छ ।” “हाम्रो जस्तो अर्धसामन्ती तथा अर्ध औपनिवेशिक देशमा राष्ट्रिय स्वाधीनता र जनताको जनवादी गणतन्त्रका लागि नयाँ जनवादी क्रान्ति गर्नु पर्ने आवश्यकता पर्दछ ।” अमेरिकी साम्राज्यवादले नेपालमा एमसीसी सम्झौतालाई संसदबाट पारित गरेर लागु गराउन चाहेको छ । गठबन्धनका घटकले संशोधन गरी पारित गर्ने सहमति पछि त्यो रोकिएको छ । तर कुनै पनि बेला ठूला दलहरुको सहमतिमा नै त्यो पारित हुने अवस्था छ । अहिलेसम्म सरकारले करिव ६ अर्ब खर्च गरिसकेको छ । अमेरिकाले त्यो पारित गराउनका लागि ठूला दलहरुलाई सहमतिमा ल्याउन प्रयत्न गरिरहेको छ । एमसीसी पारित भएमा त्यसले नेपालमा अमेरिकी सैन्य रणनीति लागुहुने अवस्था छ । हाम्रो पार्टी एमसीसीका विरुद्ध विभिन्न दल तथा संघ संस्थाहरुसित मिलेर संघर्ष गर्ने नीतिलाई अगाडि बढाउने र त्यसलाई खारेज गराउनु पर्नेमा दृढ रहेको छ ।

संघीयता खारेजगर्न हामीले निरन्तर संघर्ष गर्नु पर्दछ । संघीयताको स्थानमा प्रजातान्त्रिका विकेन्द्रियता तथ स्थानिय स्वायत्त शासनमा आधारित शासन प्रणालीका लागि जोड दिनु पर्दछ । त्यसका साथै त्यसका सकारात्मक पक्षहरुलाई लिंदै विभिन्न जातजाति, वर्ग समुदायका जनतालाई कसरी बढी भन्दा बढी अधिकार सम्पन्न गराउन सकिन्छ । त्यो प्रणली वारे पनि अध्ययन आवश्यक छ । हाम्रो पार्टी नेपाली सर्वहारावर्गको पार्टी हो । हाम्रो पार्टीको रणनीतिक उद्देश्य देशमा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्नु र समाजवादी तथा साम्यवादी समाजको निर्माण हो । वस्तुगत हिसावले क्रान्तिकारी परिवर्तनका लागि उपयुक्त समय रहेको अवस्था छ । तर विश्व परिस्थिति कम्युनिस्ट आन्दोलनका लागि रक्षात्मक अवस्थामा रहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनको पनि आत्मगत अवस्था कमजोर अवस्थामा छ । यो अवस्थामा जनसंघर्ष नै तात्कालिक संघर्षको स्वरुप हुनेछ । सर्वहारावर्गको नेतृत्वमा जनताको राज्यसत्ता प्राप्त गर्न सशस्त्र संघर्ष नै अन्तिम विकल्प हो । कम्युनिस्ट पार्टीले आफ्नो ध्यान त्यो दिशामा निरन्तर जारी राख्नु पर्छ ।

निर्वाचन एउटा क्रान्तिकारी पार्टीका लागि कार्यनीतिक प्रश्न हो । निर्वाचनमा भाग लिंदा क्रान्तिकारी पार्टीले कार्यनीतिक उपयोग गर्दछ भने संसदवादी पार्टीहरुले संसदवादी तरिकाले उपयोग गर्छन् । आगामी निर्वाचनमा के नीति अपनाउने भन्ने विषयमा देशको समग्र राजनैतिक परिस्थिति आन्दोलनको अवस्था, हाम्रो आत्मगत अवस्था तथा सामाजिक चेतनाको अवस्थालाई आधार बनाएर हेर्दा हामीले निर्वाचनलाई कार्यनीतिक उपयोग गर्नुपर्छ भन्ने भेलाले ठहर गरेको छ ।

आज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा आधुनिक संशोधनवादको उदय र प्रतिक्रान्तिले ठूलो धक्का पु¥याएको छ । विश्व साम्राज्यवादले इण्डोनेसिया, भारत, ल्याटिन अमेरिका, चिली लगायत कैयौं मुलुकमा कम्युनिस्ट संहार ग¥यो । त्यसमा नेपाल पनि जनवादी क्रान्तिको सपनामा हजारौंले बलिदान गरेको मुलुक हो । विश्व कम्युिनस्ट आन्दोलन बाहिरी प्रतिक्रियावादी शक्तिहरुको आक्रमणको कारणले नभई आफ्नै सैद्धान्तिक, राजनैतिक विचलनले विघटन, विसर्जन र घोषित रुपमा बुर्जुवाकरण भएका प्रशस्त उदाहरण छन् । त्यसमा हाम्रो देश पनि एउटा हो । प्रथमतः प्रतिक्रान्तिका कारणले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको छ, द्वितीय, बचेको कम्युनिस्ट आन्दोलनको शिविरमा दक्षिणपन्थी संशोधनवादको जोडदार प्रभाव छ । त्यसकारण कम्युनिस्ट आन्दोलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै क्रान्तिकारी ध्रुवीकरण र पुनर्गठनको दिशामा अगाडि बढाउने कार्य क्रान्तिकारीहरुको काँधमा आएको महान् ऐतिहासिक अभिभारा बन्न गएको छ । आज हाम्रो काँधमा पनि त्यो अभिभारा पूरा गर्ने जिम्मेवारी आएको छ । त्यसकारण हाम्रो जोड त्यो दिशामा पनि प्रयत्न गर्नु नै हुनेछ ।

पत्रकार मित्रहरु,

नेपालको कम्युनिस्ट आन्दोलनमा टुटफुट र विभाजन साँच्चैमा जनताका लागि निराशाजनक घटना बन्दै गएका छन् । हामीले पार्टीभित्रका मतभेदहरुलाई सहज र स्वभाविक रुपमा लिने गरेका छौं । पार्टीभित्रको दुई लाइन संघर्षले पार्टीलाई गतिशील बनाउँछ । तर पार्टी नेतृत्वमा देखा परेका सामन्ती, प्राधिकारवादी, अधिनायकवादी, स्वेच्छाचारी र नोकरशाही प्रवृत्ति र कार्यशैलीले गर्दा फरक विचार आउना साथ दुश्मन नै ठान्ने दृष्टिकोणले गर्दा आज हाम्रो पार्टीमा संगठनात्मक संकट देखा परेको छ । देश विदेश सबैतिर गरेर हामी हजारौंको संख्यामा पार्टी र जनवर्गीय संगठनका सदस्यहरु निष्काशित भएका छौं । हामीले लामो समयदेखि करिब साढे दुई वर्षदेखि पार्टी नीति सच्चाउन र प्रमाणित गल्ती विना कसैलाई पनि निष्काशन नगर्न पार्टी केन्द्रलाई अपिल गर्दै आयौं । तर केन्द्रले कतिपय क्षेत्र,जिल्ला र मोर्चाहरुलाई विघटन गर्ने, भिन्न विचारको आधारमा जिम्मेवारी बाट हटाउने, वर्षौं पेशेवर भएर काम गरेका कमरेडहरुलाई कम्जोरीको आधार विना निष्कासन गर्दै आयो । अब हामीसँग विचारधाराका आधारमा साथीहरु एक ठाउँमा उभिनुको कुनै विकल्प थिएन ।

पार्टी नेतृत्वले माक्र्सवादका आधारभूत नीतिहरुलाई संशोधन गरेको छ । ती नीति के हुन ? नेपालको प्रधान अन्तर्विरोधको सवालमा आज पनि मसाल नेतृत्वले सामन्तवादसितको नेपाली जनताको अन्तर्विरोध प्रधान ठान्दछ । संसदीय प्रणालीलाई रक्षा र संस्थागत गर्नुपर्ने ठान्दछ । यसको विकल्पमा जान चाहँदैन । निर्वाचनलाई रणनीति बनाएको छ । सरकारमा जाने प्रश्नलाई रणनीति बनाएको छ । जब कि निर्वाचन र सरकारमा जाने प्रश्नलाई माक्र्सवादी–लेनिनवादीहरुले कार्यनीतिक प्रश्न मान्दछन् । एउटा अवस्थामा राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष अनिवार्य विषय हो । तर पार्टी नेतृत्व सशस्त्र संघर्षको सट्टा शान्तिपूर्ण आन्दोलन र संसदीय प्रणालीलाई पनि उपयोग गर्नुपर्ने खु्रश्चेभी नीति पारित गरेको छ । सर्वहारावर्गको अधिनायकत्व माक्र्सवादको गुदी कुरो हो । त्यसलाई पार्टी नेतृत्वले “कुनै पनि देशको अवस्था अनुसार नै प्रयोग गर्नुपर्छ” भनेर सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्तलाई नै परिवर्तन गर्न खोजेको छ । हाम्रो माग यत्ति मात्र थियो कि परिवर्तित नीतिहरुलाई सच्चाउनका लागि विशेष महाधिवेशन गर्नुपर्छ भन्ने हो । उहाँहरु हामीलाई निस्काशन गर्न तयार हुनुभयो तर सच्चाउन तयार हुनु भएन । त्यसकारण हामी राष्ट्रिय भेलाबाट केन्द्रीय समन्वय समिति गठन गरेका छौं । यो विधिवत गठन गरिएको पार्टी होइन । अहिले पनि विचार समूह हो । तर पार्टी नेतृत्व नसच्चिने देखेपछि कानुनी रुपमा पार्टी नभए पनि यसले पार्टी कै रुपमा भूमिका खेल्दै जानेछ । पार्टी नेतृत्व सित अझै पनि सच्चिएर आउन र विशेष महाधिवेशन गर्न अपील गर्नेछ । त्यो कुरा नेतृत्वले अस्वीकार गरेको खण्डमा हामी एक वर्षभित्र नेपालको एउटा अनुशासित, जुझारु, मिलिटेन्ट र संघर्षशील कम्युनिस्ट पार्टीको निर्माण गर्ने छौं । सबै खाले अवसरवादका विरुद्ध संघर्ष गर्दै नेपाली सर्वहारावर्गको मुक्ति हासिल गर्ने कम्युनिस्ट पार्टीको विकास गर्ने छौं । सबै छरिएर रहेका कम्युनिस्टहरुसित एकल वा समूहगत रुपमा एक ठाउँमा उभिने प्रयास गर्दै कम्युनिस्ट ध्रुवीकरणको कार्यलाई अगाडि बढाउने छौं ।

पत्रकार मित्रहरु,

हाम्रो पार्टी नेकपा (मसाल) अहिले फुट र एकताको दोसाँधमा उभिएको छ । पार्टी र नेतृत्वको फुटपरस्त नीति र कार्यशैलीका कारण हामी यो अवस्थासम्म आइपुगेका छौं । अब पार्टी फुटाउने वा जुटाउने जिम्मा मसाल नेतृत्वको हातमा रहेको छ । मसाल नेतृत्वले विश्वव्यापी रुपमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला माक्र्सवादी–लेनिनवादी सिद्धान्त र विचारमाथि नै प्रहार गर्न थालेपछि यतिबेला कम्युनिस्ट विचारधाराको रक्षाको प्रश्न हाम्रो लागि मुख्य कार्यभार बनेर आएको छ । सिद्धान्त र विचारमा देखिएको संघर्ष अत्यन्त निर्मम र सम्झौताहीन हुन्छ । कम्युनिस्ट विचार अंगालेका व्यक्ति वा शक्तिहरु बाहेक कुनै पनि कथित कम्युनिस्ट शक्तिहरुसँग विचार र सिद्धान्तको प्रश्नमा कुनै पनि प्रकारको सम्झौता हुन सक्दैन ।

देश र समाजको यस आमूल परिवर्तनको लक्ष्यलाई सफल पार्न गरिने सबै कार्यहरुलाई संचारकर्मी साथीहरुबाट जनताको बीचमा पु¥याउन आफ्नो अमूल्य सहयोग प्राप्त हुने छ भन्ने हामीलाई आशा, भरोसा र विश्वास छ ।

धन्यवाद

(नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका संयोजक क.सन्तबहादुर नेपालीद्वारा मिति २०७८ मंसिर १४ गते आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत)