वर्णविभेद उन्मूलनको अन्तिम औषधी : सांस्कृतिक क्रान्ति

वर्णविभेद अन्ततः वर्गविभेदकै एउटा विशिष्ट रूप हो ।

वर्णविभेद उन्मूलनको अन्तिम औषधी : सांस्कृतिक क्रान्ति

“हरेक प्रकारको धर्म मानिसको दिमागमा ती बाह्य शक्तिहरूको काल्पनिक प्रतिबिम्ब बाहेक अरू केही होइन, जसले उनीहरूको दैनिक जीवनमाथि शासन गर्दछ । यो प्रतिबिम्बमा पार्थिव शक्तिहरूले अलौकिक शक्तिहरूको रूप धारण गर्दछन् । इतिहासको आरम्भमा पहिले प्रकृतिका शक्तिहरू यसप्रकार मानिसको दिमागमा प्रतिबिम्बित भएका थिए । पछि जुन विकास भयो, त्यसक्रममा यिनै शक्तिहरूले विभिन्न जातिहरूमा विभिन्न प्रकारले मूर्तरूप धारण गरे । तुलनात्मक पुराण विधाले कम्तीमा पनि भारोपेली जातिहरूको बारेमा प्रारम्भिक प्रक्रिया क्रमको मूलबिन्दुसम्म पत्ता लगाएको छ । यो प्रक्रिया भारतीय बेदहरूमा आरम्भ भएको थियो र त्यसपछि यसको जसरी विकास भयो, त्यसको भारतीयहरू, फारसीहरू,युनानीहरू,रोमेलीहरू र जर्मनेलीहरूको इतिहासमा विस्तारपूर्वक निरूपण गरिसकिएको छ, अनि जहाँसम्म उपलब्ध सामग्रीले संभव बनायो, त्यहाँसम्म केल्टहरू, लिथुआनियालीहरू र स्लावहरूको इतिहासमा पनि निरूपण गरिसकेको छ । ...जब मानिसले केवल इच्छा मात्र गर्दैन, बरू त्यसको फल पनि निश्चित गर्न लाग्दछ, तब मात्र त्यो अन्तिम परायी शक्तिको लोप हुनेछ, जुन आज पनि धर्ममा प्रतिबिम्बित भइरहेको छ र त्यसको साथसाथै स्वयं धार्मिक प्रतिबिम्बको पनि लोप हुनेछ किनभने तब यस्तो कुनै चीज रहने छैन, जसको प्रतिबिम्बन हुन सकोस् ।” –एङ्गेल्स, ड्यूहरिङ मतखण्डन, १८७६–७८ नेपालीमा अनुवादक–रमेश सुनार र नारायण गिरी, मार्क्सवादी अध्ययन–अनुसन्धान प्रतिष्ठानद्धारा प्रकाशित, पृष्ठ ४०४–६ । 

“ब्राह्मणोस्य मुखमासीद् बाहु राजन्य कृतः ।

उरू तदस्य यदृश्य : पद्भ्यां शुद्रो अजायत ।। १२ ।।”

–     ऋग्वेद, दशमं मण्डलम्, संस्कृतबाट नेपालीमा भावानुवादक–तिलकप्रसाद लुइँटेल, सुक्त–९०, पृष्ठ ९६० । 

आजको विश्वसम्म आइपुग्दा पनि वर्गविभेद, राष्ट्रियता विभेद, नश्लविभेद, धर्मविभेद भौगोलिक विभेद इत्यादि चर्को रूपमा नै रहेका छन् । हाम्रो दक्षिण एशियामा थप वर्णविभेद पनि अस्तित्ववान रहेको छ । यहाँ हामीले वर्णविभेद प्रथा अन्तर्गत अछुत वा दलित वर्णवारे छलफल गर्ने कोशिस गरेका छौं । 

यहाँ माथि हामीले एङ्गेल्सको प्रसिद्ध कृति ‘ड्युहरिङ मतखण्डन’बाट एउटा सानो पाठ उध्दृत गरेका छौं । यो पाठ मार्क्स–एङ्गेल्सले पूर्वीय समाज र दर्शनबारे केही पनि बुझेका थिएनन् भन्ने महानुभाव र निम्न पूँजीवादी कोणबाट समाजवादी व्यवस्थाको व्याख्या गर्ने तथा समाजवादमा धर्मको ऐतिहासिक स्रोत र त्यसको सांस्कृतिक जग नभत्काईकन त्यो कानुनद्धारा हटाउन सकिहाल्छ भन्ने त्यसबेलाको ड्युहरिङलाई जोडदार जवाफ हो । मार्क्स–एङ्गेल्सका अनुसार मानव जातिको इतिहासमा आदिम साम्यवाद वर्गविहिन, धर्मविहिन, राज्यविहिन, लिङ्गभेदविहिन,राष्ट्रियताविहिन थियो किनभने त्यहाँ निजी सम्पत्ति थिएन । मानिसको जीविकाको साधन र स्रोत भनेको मानव श्रम र प्रकृति थियो । जब जनसंख्या बढ्दै गयो तब प्राकृतिक उत्पादन मानिसको जीवन पुनर्उत्पादनका लागि पर्याप्त भएन । सीमित फलफूल, कन्दमूल र शिकारका लागि विभिन्न क्षेत्रहरूमा रहने मानव समूहहरूका बीच लुछाचुँडी हुन थाल्यो । बलियो समुहले निर्बललाई हराएर प्राकृतिक खाद्यवस्तुहरु सञ्चय गर्न सुरू ग-यो । निर्बलियाहरूलाई आफ्नो प्रभुत्वमा राख्न थाले । आदिम साम्यवादको अन्तिमसम्म त महिलाहरूले नै मातृसत्ता चलाएका थिए । विस्तारै नीजि सम्पत्तिको उत्पत्ति भयो । पशुपालनको प्रक्रियामा पुरूषले महिलालाई घरको रेखदेख गर्ने नाममा भाग लिनबाट बञ्चित ग-यो । त्यहीबाट परिवारमा महिला र पुरूषबीच वर्गविभाजन भयो । मानव समाजको पहिलो वर्गविभाजन यही थियो । त्यसपछि दास–मालिक युग शुरू भयो । निजी सम्पत्तिले वर्ग विभेद, लिङ्गविभेद, धर्म, जातपात, भूत–प्रेत, बोक्सी, धामीझाँक्री इत्यादि विभेद र विसङ्गति जन्मायो । आदिम साम्यवादको अन्त्य र दास युगको शुरूमा प्राकृतिक वस्तुहरू र प्रकृतिका क्रियाकलापहरूको अज्ञानताबाट पैदा भएका विचित्र चित्रहरू मानिसको दिमागमा प्रतिबिम्बित भएका थिए । ती भ्रमपूर्ण चित्रहरूले एकातिर भगवानको रूप धारण गरे भने अर्कोतिर राक्षसको । उदाहरणको लागि, विभिन्न रोग लागेर मानिस विरामी पर्दथे र औषधीको ज्ञान थिएन । यसले झारफूके र धामी–झाँक्री जन्मायो । शुरूमा मानिस जीवन बचाउने पानी, जीवनलाई न्यानो दिने घामलाई पूजा गर्दथे । हामी ऋग्वेद लगायतका वेदहरू र अन्य विभिन्न हिन्दु ग्रन्थहरूमा वायु, जल, अग्नि, पृथ्वी र आकाश जस्ता पञ्चभूतहरूमा देव जोडेर भौतिकवादलाई आध्यात्मिक बनाउने काम गरिएको छ । वेदलाई तीन हजार बर्षभन्दा पहिलेदेखि लेख्न थालिएको थियो । त्यसबेलासम्म आइपुग्दा दासयुगले अन्तिम सास फेर्दै थियो र दासमालिकको स्थानमा जग्गा जमिनमा कब्जा जमाउदै गएको सामन्ती वर्ग उदायो र दासहरुको स्थानमा जमिन खनजोत गरी अन्न फलाउने किसानको विकास भयो । एङ्गेल्सका अनुसार भारतीय वेदहरूबाट नै धर्म र जाति प्रथाको आरम्भ भएको थियो । माथि हामीले ऋग्वेदको दशौं मण्डलबाट उध्दृत गरेका छौं । त्यसअनुसार एउटा त्यस्तो विराट पुरूषको मुखबाट विधाको अधिकारी ब्राह्मण पाखुराबाट सेनाको अधिकारी भएको क्षेत्री, पेटबाट खेतीपाती गर्ने वैश्य र खुट्टाबाट श्रम गर्ने शुद्र जन्मेका थिए । ऋग्वेदको यही जात विभाजनलाई हिन्दु समाजमा अकाट्य धर्मका रूपमा लादियो । त्यसपछि अगाडी बढेको वर्ण व्यवस्था अन्ततः एउटा संस्कृति नै बन्यो । भारतमा शुरू भएको यो वर्ण व्यवस्था दक्षिण एशियामा नै बढी फैलियो । ईसापूर्व पाँचौं शताब्दीदेखि ईसाउत्तर १६ औं शताब्दीसम्मको मध्ययुगमा धर्मले दर्शनशास्त्रलाई आफ्नो मातहतमा कैद ग-यो र आध्यात्मकवादी दर्शनको बोलवाला रह्यो । जब १६ औं शताब्दीमा पश्चिम यूरोपमा औद्योगिक क्रान्ति भयो । तब सामन्तवादको अन्त र पुँजीवादको आरम्भ भयो । भौतिकवादलाई स्वीकार गर्दै श्रमजीवी तथा सर्वहारावर्गलाई साथ लिएर सामन्तवादमाथि विजयी भएको पूँजीवादले शोषण प्रक्रियालाई गुणात्मक बनायो र त्यस प्रक्रियालाई कायम राख्न धर्मको साहारा लिदै नश्लभेद, जातिभेद, रंगभेद, क्षेत्रीयतावाद, भाषाभेद अन्ततः वर्गभेद कायम राख्यो । दक्षिण एसियाको वर्णभेद पनि कायमै छ । 

करिब एक हजार बर्ष पहिले भारतमा इरानी मुश्लिमद्धारा पराजित हिन्दुहरू नेपाल आएपछि एकातिर गोरखाका सामन्त रामशाहले ‘चार वर्ण छत्तीस जात’को व्यवस्थालाई कानूनी रूप दिए भने अर्कोतिर भारतको वैशालीबाट उपत्यकामा आई किराँत वंशलाई हटाएर उदाएको लिच्छवी वंश हुँदै मल्ल वंशका राजा जयस्थिति मल्लले ६४ जातको व्यवस्था चलाए । तेस्रो वर्ण व्यवस्था नेपालको दक्षिणी सीमाभित्र भारतबाट छिरेको छ । खासगरी तराई क्षेत्रमा आएर बसेका दलितहरूको अवस्था देशका अरू दलितहरूको जस्तै छ । नेपाली समाजको अध्ययन गर्दै जाँदा र वर्णव्यवस्थाको जन्मस्थल भारतलाई पनि जोड्दा यसको इतिहास तीन हजार बर्ष भन्दा लामो देखिन्छ । वेदलाई हिन्दु आर्यहरूले धर्मग्रन्थमा स्थापित गरेपछि वर्णव्यवस्था र वर्णविभेदलाई भगवानको अकाट्य वाणीका रूपमा लिइयो र आज यो एउटा जब्बर संस्कृति बनेर रहेको छ । शुरूमा वर्णव्यवस्था भनेको श्रमविभाजन थियो । दास युगको अन्तिम अवस्थामा यो व्यवस्था जन्मियो । सामन्तवादी व्यवस्थामा यसले चरम रूप लियो र त्यहाँ आएपछि श्रमसँग जोडिएको शुद्रलाई तिनको विद्रोह दबाउन विभिन्न दण्डहरू दिन थालियो । त्यही दण्ड दिने प्रक्रियामा नै तिनलाई अछुत बनाइयो । अछुत भनेपछि समाजबाट अलग्याउन पाइयो र अलग्याएपछि विद्रोह कमजोर बन्न गयो । यही प्रक्रियामा नै दलितहरूभित्र पनि उपदलितहरू बनाइयो । अछुतहरूको जनसंख्या बढ्दै जाँदा तिनलाई जुट्न नदिन दलित भित्र पनि दलित बनाइयो । तिनको पनि श्रमविभाजन गरियो । फलामको काम गर्नेलाई कामी, दमाह बजाउनेलाई दमाई, तामाको भाँडा बनाउनेलाई ताम्राकार,गाउने–बजाउनेलाई गाईने र बादी भनियो । राज्यसत्ता चलाउने नीति बनाउने, निर्देशन गर्ने र ज्ञान वितरण गर्नेलाई ब्राह्मण, शासन चलाउने र शासन क्षेत्रको रक्षा गर्नेलाइ क्षेत्री, ब्यापार र खेतीपातीको व्यवस्था गर्नेलाई वैष्ण र कृषिमा श्रम गर्ने तथा कृषि श्रममा विभिन्न औजारहरुको निर्माण गर्नेलाई सुरूमा शुद्र भनियो । वर्ण व्यवस्थामा नै अछुत भनेर शुद्रलाई भनिएको होइन । माथि भनिए झैं श्रमिकहरूको विद्रोह दबाउने क्रममा नै अछुत जातिको जन्म भएको हो । त्यसकारण वैदिक धर्म र त्यस दर्शनबाट निर्देशित सामन्तवाद नै छुवाछुत प्रथाको जिम्मेवार रहेको छ । 

युरोप, अमेरिका, अफ्रिका, दक्षिण अमेरिका, पूर्वी एसिया, मध्यपूर्वमा यो खाले वर्णभेद वा छुवाछुत प्रथा छैन । त्यहाँ नश्लभेद, धर्मभेद, राष्ट्रभेद, भाषाभेद र रङ्गभेद जस्ता कुराहरू रहेका छन् । त्यसैले दक्षिण एशियाली समाजको विशिष्ट विशेषता भनेको वर्णभेद हो । यसका जराहरू धार्मिक रूढीवादमा गाडिएका छन् । पुँजीवादी राज्यसत्ता भनेको अतिरिक्त मूल्यको शोषणबाट अस्तित्ववान राज्यसत्ता हो । त्यसलाई शोषणको लागि धार्मिक रूढीवादी, जातीय भेदभाव र भ्रमहरूको आवश्यकता पर्दछ । त्यसकारण पुँजीवाद वर्गभेद, जातीयभेद, लिङ्गभेद र वर्णभेदको उन्मूलन गर्ने व्यवस्था होइन, बरू यो त त्यस सम्बन्धी भ्रमपूर्ण र देखावटी कानून बनाएर शोषण गर्ने भेदहरूलाई संस्कृतिका रूपमा हुर्काइराख्ने व्यवस्था हो भन्ने कुरा विश्व इतिहासले पुष्टि गरिसकेको छ । त्यसैगरी नेपालमा विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था पनि त्यही विश्व व्यवस्थाकै विकृत रूप हो । यसको ठोस समाधान भनेको सांस्कृतिक क्रान्ति सहितको एकीकृत जनक्रान्ति र त्यसद्धारा स्थापित हुने वैज्ञानिक समाजवादी व्यवस्था हो ।

हामीले देखिरहेका छौं कि वि.सं. १९९७ देखि २०६३ सम्म चलेका जनसङ्घर्ष, जनक्रान्ति, जनआन्दोलन र जनयुद्धले नेपालमा राजतन्त्रको विदाई भयो, तर विकृत पुँजीवाद अर्थात्, दलाल पुँजीवादी संसदीय परिपाटी स्थापना भयो । २०४७ सालमा नेपाली कांग्रेसले ‘संवैधानिक राजतन्त्र’ स्वीकार गरी बहुदलीय व्यवस्था मानेपछि दलाल पुँजीवादी संसदीय व्यवस्था अघि बढ्यो । त्यसपछि राष्ट्रिय पुँजी विकासका आधारहरू भत्काउन शुरू गरियो । हेटौडादेखि काठमाडौको टेकुसम्म सिमेन्ट ओसार्न रज्जुमार्ग काट्नेबाट शुरू भएको राष्ट्रिय उद्योग हटाउ अभियान बाँसबारी छालाजुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, बीरगञ्जको औजार निर्माण कारखाना, बुटवल धागो उद्योग, हेटौडा कपडा कारखाना, बालाजु र पाटनका उद्योगहरू, हरिसिद्धि इँटा कारखाना, चोभार सिमेन्ट कारखाना हुँदै भृकुटी कागज कारखानासम्म पुग्यो । त्यसपछि बल्ल दलाल पुँजीपतिहरूले चैनको सास फेरे र आफ्ना विदेशी पुँजीपतिहरूको माल बिक्रीको बजार बनाए नेपाललाई । उनीहरू माल जनतासँग महङ्गोमा बेचिदिएर दलाल पँजीपति बने । यही अर्थतन्त्रको रखवारी अहिलेसम्मको राज्यव्यवस्थाले गरेको हुनाले नै यसलाई दलाल संसदीय व्यवस्था भनिएको हो । दलाल पुँजीवादी राज्यसत्तालाई त वर्गविभेद, लिङ्गविभेद, राष्ट्रियविभेद र वर्णविभेद जति राम्रोसँग जरा गाडेर बस्दछ, त्यति नै नाफा हुन्छ । विद्यमान व्यवस्थापिकाले जे जति संविधान र कानुनमा दलितको अधिकार र मुक्तिको कुरा गरेपनि व्यवहारमा त पश्चिम रूकुममा ठकुरीकी छोरीसँग प्रेम गर्न खोज्ने नरेन्द्र विश्वकर्मा र उनका ५ जना साथीहरूलाई निर्मतापूर्वक मारेर भेरीमा फ्याकेको छ । दलितहरूलाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएकै छ । ठूला जाति भन्नेले साना जातिका छोरी बुहारीहरूलाई यौन शोषण गरिरहेकै छन् । स्वयं दलितहरूभित्र पनि विभेदहरू देखा परिरहेकै छन् । स्वयं पुँजीवादी प्रजातन्त्र र मानव अधिकारको मसिहा ठान्ने अमेरिकामा गोरा पुलिसले काला जातिको जर्ज फ्लोयडलाई घुँडाले च्यापेर सासै फेर्न नदिइ प्राण–पखेरू उडाउँछ । यी तथ्यहरूले पनि के देखाउँदछ भने पुँजीवादले वर्गविभेद, जातिय विभेद र वर्णविभेदको अन्त्य गर्न सक्दैन । सामान्य सुधारहरू जे भइरहेका छन्, ती त क्रमिक समाज विकासका सुधार मात्र हुन् । 

वर्णविभेद अन्ततः वर्गविभेदकै एउटा विशिष्ट रूप हो । दक्षिण एशिया, खासगरी भारत र नेपालमा ऋग्वेदले विभाजन गरिदिएको चार वर्णमा तथाकथित विराट पुरूषको मुखबाट जन्मेको ब्राह्मणले राज्यको नीति नियम बनाउने, ज्ञान दिने र स्वर्गमा रहने भगवानसँग मानिसको सम्बन्ध स्थापना गर्ने कार्य गर्न थाले, बाहुबाट जन्मेका क्षेत्रीले राज्यसत्ता सञ्चालन गर्ने कार्यलाई अघि बढाए, पेटबाट जन्मेका बैश्य (जनजाति) ले उत्पादन र वितरण गर्ने कार्यलाई अघि बढाए । कृषि कार्यमा आवश्यक औजारको निर्माण गर्ने र आफूभन्दा माथिल्लो भागबाट जन्मेको भनिएका तीन वर्णको सेवा तथा मनोरञ्जन दिने कार्य पैतलाबाट जन्मेका शुद्रले गर्न थाले । श्रमिक वर्ग जहिले पनि प्रगतिशील र नयाँ कुराको आविस्कारक पनि हुन्छ । राज्यसत्तामा रहने सत्ताधारी वर्ग जनताबाट अलग र माथि रहेको हुन्छ । उसले पैतालाको चरम दुःख बुझ्न छोड्दछ । अति पीडाबाट आजित भएपछि उत्पीडितले उत्पीडकका विरूद्ध विद्रोह गर्छ । जसले विद्रोह गर्दछ तिनलाई सत्ताधारीले अथवा तत्कालिन धर्माधिकारीहरूले कतिपयलाई मार्ने र मारेर मात्र काम नचल्ने भएपछि सामाजिक बहिस्कार गर्ने दण्ड दिन थालियो । त्यसपछि नै शुद्रलाई अछुत वा दलित बनाउन थालियो । कालान्तरमा छुवाछुतका विरूद्ध वास्तविकताको ज्ञान हुँदै गएका र आफू पनि वर्गीय उत्पीडनमा परेका बाहुन, क्षेत्री र वैश्यले पनि यो कुरा उठाउन थाले । भारतमा १९ औं शताब्दीको पाँचौ दशकमा दलितका पक्षमा बोल्ने महाराष्ट्रका ज्योतिराव फूले गैरदलित ब्राह्मण परिवारका थिए भने त्यही शताब्दीमा फूलेपछि आवाज उठाउने र त्यस कार्यमा अघि बढ्ने अयंकाली थिए । त्यही शताब्दीको सातौं दशकमा नेपालमा दलित मुक्तिको पक्षमा वा छुवाछुतका विरूद्ध आवाज उठाउनेहरू ज्ञान दिलदास, शशिधर, योगमायाहरू पनि गैरदलित थिए । भारतमा सुधारवादी दलित नेता भीमराव अम्बेडकरले चलाएको दलित मुक्ति आन्दोलनले नेपालमा पनि प्रभाव पा¥यो । सन् १९४६ देखि बाग्लुङका सर्बजित विश्वकर्माले नेपालमा संगठित दलित आन्दोलन शुरू गरेका थिए । त्यसपछि सन् १९५६ सम्म भएका अछुत जाती भनिएका जातिहरूको आन्दोलनले सामान्य सुधार त ल्यायो, तर अछुत जाती माथिको भेदभावलाई पूर्ण रूपमा हटाउन सकेन । १३ फरवरी १९९६ देखि २००६ सम्म चलेको माओवादी जनयुद्धले दलितमाथि शासन गर्ने धार्मिक रूढीवाद र संस्कृतिको जरा नराम्रोसँग हल्लाइदिएको थियो । त्यसले वास्तवमा दलित सङ्घर्षलाई बर्ग सङ्घर्षसँग नजोडिकन दलित जनसमुदायको वास्तविक मुक्ति हुन सक्दैन भन्ने कुराको बोध गरायो । मन्दिर प्रवेश, गैरदलितहरुसँगको सहभोज, जातीय भेदभावमाथि कानुनी कार्वाही अभियान साधारण सुधारका लागी मात्र हुन्छन् । आमूल परिवर्तनका लागि समग्र उत्पीडित वर्गको उत्पीडक राज्यसत्ता विरुद्धको वर्गसंघर्ष आवश्यक छ भन्ने कुराको शिक्षा यसले दियो । यसले दलितहरुको व्यापक सहभागिता प्राप्त ग-यो र करिब एकहजार पाँचसयभन्दा बढी दलित जनसमुदायका छोराछोरीहरुले सहादत प्राप्त गरे । यसले धार्मिक तथा वर्णविभेदको नेतृत्व गरिरहेको राजतन्त्रलाई किनारा लगायो, तर त्यो वैदिक धर्म र वर्णभेदमाथि आधारित राज्यसत्ता चक्नाचुर पारेर त्यसको ठाउँमा उत्पीडित वर्गको राज्यसत्ता प्राप्त गर्न सकिएन । “कम्युनिस्ट” र “कांग्रेस” दल भनिएका दलबाट गएका ब्राह्मणवादी नेताहरुले उही पुरानै वैदिक धर्म अनुसारको राज्यसंयन्त्र सञ्चालन गरे । ती ब्राह्मणवादी नेता पुष्पकमल दाहाल, बाबुराम भट्टराई, खड्कप्रसाद वली, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, माधवकुमार नेपाल इत्यादिले उत्पीडित वर्गलाई धोका दिए । उनीहरुले पुनः दलाल पुँजीवादी राज्यसत्तालाई नै आफ्नो गन्तव्य बनाए । त्यसकारण दलित समुदायले आफ्नो उत्पीडनको कारण र उत्पीडनबाट मुक्तिको सही कार्यदिशा पत्ता लगाउनुपर्छ । 

अब हामीले दलित र अछुट वर्गलगायत समग्र उत्पीडित वर्गको मुक्तिको कार्यदिशा के हुन सक्दछ भन्ने प्रश्नमा विमर्श गरौं । राष्ट्रिय, लिङ्गीय, क्षेत्रीय, भाषिक र वर्णीय आदि भेदका आ–आफ्ना विशिष्ट विशेषताहरु त छन् नै । शोषक राष्ट्रप्रति शोषित राष्ट्रियताको सङ्घर्ष चलिरहेको छ, उत्पीडक पुरूषका विरूद्ध उत्पीडित महिलाहरुले सङ्घर्ष गरिरहेका छन्, उत्पीडक केन्द्रीय शासनका विरुद्ध उत्पीडित क्षेत्रहरु लडिरहेका छन्, शासक भाषाका विरुद्ध शासित भाषाहरु बोलिरहेका छन् । त्यसरी उत्पीडक वर्णका विरुद्ध उत्पीडित वर्णहरु अथवा उत्पीडक वर्ग व्यवस्थाका विरुद्ध उत्पीडित अछुटहरु लडिरहेका छन् । यसबाट उत्पीडितहरुको अवस्थामा केही सुधार हुन सक्दछ, तर राज्यसत्ताको वर्गीय रूप परिवर्तन हुँदैन । राज्यसत्तामा आमूल परिवर्तन गरी उत्पीडितहरुको राज्यसत्ता कायम गर्न सम्पूर्ण उत्पीडितहरुले वर्गीय लडाई लड्नुपर्दछ । त्यसकारण विप्लव कमरेडको नेतृत्वमा नयाँ कार्यदिशा र कार्यक्रम बनाइएको छ । हामीले उत्पीडित वर्गको यो कार्यदिशालाई एकीकृत जनक्रान्ति र कार्यक्रमलाई वैज्ञानिक समाजवाद भनेका छौं । एकीकृत जनक्रान्ति वास्तवमा लेनिनले रूसमा विकास गरेको सशस्त्र विद्रोह र माओले चीनमा विकास गरेको दीर्घकालीन युद्धको पछिल्लो विकास हो । यो कार्यदिशामा राजनीतिक, आर्थिक र सांस्कृतिक क्रान्ति सँगसँगै जोडिएका छन् । हामीलाई कार्ल मार्क्सले के सिकाउनुभएको छ भने जब उत्पादक शक्तिको विकासका लागि विद्यमान उत्पादन सम्बन्ध छेकवार बन्दछ तब क्रन्ति शुरू हुन्छ । लेनिनको पालामा पूँजीवाद एकाधिकार पूँजीवादमा पुग्यो भने आज त्यो अति एकाधिकारवादी र अतिकेन्द्रीयतावादी उत्पादन सम्बन्ध बनेको छ । उदाहरणका लागि लेनिनको पालामा सिन्डीकेटहरू, कार्टेलहरू र ट्रष्टहरू हजारौं धनीहरूको हातमा थिए भने आज सय जनाको हातमा रहेका छन् । आज सिन्डीकेटहरू, कार्टेलहरू र ट्रष्टहरू निगमहरू बनेका छन् । यसलाई निगम पुँजीवाद पनि भन्न सकिन्छ । दोस्रो, आजको पूँजीवादको उत्पादन प्रणालीको उत्पादन विकेन्द्रित र वितरण केन्द्रीत छ । यसको कारण मजदुर वर्गलाई विकेन्द्रित गर्नु र अतिरिक्त मूल्यलाई मुठ्ठीभर व्यक्तिको हातमा केन्द्रीत गर्नु हो । तेस्रो, आज राजनीतिमाथि अर्थतन्त्र हावी भएको छ । यसको अर्थ पुँजीपतिले चाहे अनुसार राज्यसत्ता घुमाउन सक्छ ।  चौंथो कुरा आजको उत्पादक शक्तिमा विज्ञान र प्रविधि जोडिएको छ । यो विज्ञान र प्रविधि एकीकृत छ भन्ने कुरा हकिन्सको ‘एकीकृत भौतिकशास्त्र’ र यूभल योह हरारीको ‘सबै थोकको सञ्जाल’ले पुष्टि गरिसकेको छ । तर उत्पादन सम्बन्ध अति एकाधिकारवादी छ । आजको अर्थतन्त्र यी चारवटै विशेषताले मजदुर, किसान, सिपाही, न्यूनवैतनिक कर्मचारी, राष्ट्रिय पूँजीपति र मध्यम वर्गको ठूलो तप्का अति एकाधिकारवादका विरूद्ध लड्न एकजुट हुँदैछन् । यो इतिहासको आवश्यकता बनेको छ । यही अर्थतन्त्रको आधारमा एकीकृत जनक्रान्ति खडा भएको छ । आजको कथित अछुट समुदायका मानिसहरू दक्षिण एशियामा मात्र सीमित छैनन्, बरू विश्व श्रम बजारमा पनि पुगेका छन् । उनीहरू वर्ण व्यवस्थाको जातीय शोषणमा मात्र होइन, बरू वर्गीय राज्यसत्ताको शोषणमा पनि रहेका छन् । त्यसकारण राजनीतिक क्रान्ति नगरीकन दलित जनसमुदायको मुक्ति हुन सक्दैन । यसको साथसाथै क्रान्तिका दौरानमा नै आदतको सत्तामा क्रान्ति भएन भने क्रान्तिबाट प्राप्त भएको वैज्ञानिक समाजवाद बचाउन सकिदैन । अतः एकीकृत जनक्रान्ति भनेको राजनीति, आर्थिक र सांस्कृतिक क्रान्तिको समग्र क्रान्ति हो । यो क्रान्तिले मात्र आफ्नो तयारी–रिहर्सल–विद्रोहको गतिशील प्रक्रियाबाट वैज्ञानिक समाजवाद प्राप्त हुन्छ । यही नै दलित लगायत सम्पूर्ण उत्पीडित जनसमुदायको मुक्तिका लागि न्युनतम कार्यक्रम हो । 

त्यसो भए वैज्ञानिक समाजवाद भनेको के हो त ? यो दलित लगायतको उत्पीडित वर्ग, पूर्ण प्रजातन्त्र र मानवतावाद भएको साम्यवादमा पुग्ने पहिलो खुट्किलो हो । पूँजीवाद र साम्यवाद बीचको संक्रमणकाल हो । यसलाई वैज्ञानिक भन्नुको कारण के हो भने हामी धनी र गरिब बीचको असमानता धनीको व्यवस्थामा रहेर ल्याउने कल्पना गर्दैनौं । दलितलाई दलित बनाइरहने, शोषितलाई शोषण गरिरहने दलाल पूँजीवादी संसदीय व्यवस्थामा पूर्ण जनतन्त्र र मानवतावादको कल्पना गरी दुनियाँलाई पुष्पकमल दाहाल र बाबुरामले जस्तै ढाँट्न सक्दैनौं । हामी मालेमावादीहरू वर्तमान पूँजीवादी व्यवस्थाको दोषहरू जनता सामू वैज्ञानिक विश्लेषण गरेर देखाइदिन्छौं । वैज्ञानिक समाजवादी क्रान्तिका लागि हामीलार्इृ वर्गसङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । यसको लागि उत्पीडित वर्गको अग्रदस्ता साम्यवादी दल, त्यो दलको नेतृत्वमा रणनीतिक र कार्यनीतिक संयुक्त मोर्चा र त्यो अग्रदस्ताको आदेशमा चल्ने सेना आवश्यक हुन्छ । यी तीन जादुगरी हतियारसहितको एकीकृत जनक्रान्तिद्धारा मात्र मुठ्ठीभर पूँजीपति वर्गको राज्यसत्तालाई ढालेर मात्र उत्पीडित वर्गले ‘जसले गर्दैन काम, उसले पाउँदैन माम’ भन्ने वैज्ञानिक समाजवाद ल्याउन सक्दछ । उत्पीडित वर्गका लागि क्रान्ति किन आवश्यक छ ? मार्क्स–एङ्गेल्सले आफ्नो संयुक्त कृति जर्मेली विचारधारामा भन्नुभएको छ,“..क्रान्ति यसकारणले मात्र आवश्यक छैन कि शासक वर्गको तख्ता अरू कुनै तरिकाले उल्ट्याउन सकिदैन, बरू यसकारणले पनि आवश्यक छ कि तख्ता उल्ट्याउने वर्गले केवल क्रान्तिद्धारा युगौं–युगको सम्पूर्ण फोहरबाट मुक्ति पाउन सक्दछ तथा समाजलाई नयाँ शिराबाट स्थापित गर्न योग्य बन्न सक्दछ ।” क्रान्तिकारी वर्ग युगौं–युगको फोहरबाट मुक्त हुने र समाजलाई नयाँ शिराबाट सञ्चालन गर्न योग्य बन्ने भनेको आफैलाई निराशा बनाएर सांस्कृतिक क्रान्ति गर्ने कुरा हो । त्यसकारणले नै लेनिनले के भन्नुभएको छ भने वैज्ञानिक समाजवादी संक्रमणकाल लामो हुन्छ । मार्क्सले पनि भन्नुभएको छ कि समाजवाद स्थायी क्रान्तिको उद्घोष हो । वर्गीय क्रान्तिले अन्ततः सर्वहारा वर्गको अधिनायकत्वमा पु¥याउँदछ । यो बहुसंख्यक विजयी उत्पीडित वर्गको हिजोको अल्पसंख्यक सत्ताधारी र आज सत्ताच्युत वर्गको प्रतिक्रान्ति रोक्ने हतियार हो । यसलाई आजका सन्दर्भमा उत्पीडित वर्गको सत्ताच्यूत वर्गमाथिको हुकुम पनि भन्न सकिन्छ । मार्क्सका अनुसार यो सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत सञ्चालित संक्रमणकालीन समाजवादले चार काम गर्नुपर्दछ । पहिलो काम भनेको वर्गविभेदको अन्त्य गर्नुपर्दछ । यस अन्तर्गत लिङ्गभेद, वर्णभेद, राष्ट्रियताभेद, क्षेत्रभेद इत्यादिको पनि उन्मूलन गर्नुपर्दछ । दोस्रो काम भनेको यो वर्गविभेद जन्माउने उत्पादन सम्बन्धको पूर्णरूपले अन्त गर्नुपर्दछ । यसको अर्थ सामाजिक उत्पादनको व्यक्तिगत स्वामित्वको स्थानमा सामुहिक स्वामित्व कायम गर्नुपर्दछ । यही प्रक्रियामा सम्पूर्ण रूपले निजी सम्पत्तिको अन्त भई सामुहिक स्वामित्व भएको विश्व साम्यवादको उदय हुनेछ । तेस्रो कुरा पूँजीवादी उत्पादन सम्बन्धबाट जन्मेको सामाजिक सम्बन्धलाई पनि उन्मूलन गर्नुपर्दछ । चौंथो कुरा यसले यो सामाजिक सम्बन्धबाट बनेका सम्पूर्ण विचारहरूलाई क्रान्तिकारीकरण गर्नुपर्नेछ । यही नै सर्वहारा अधिनायकत्वको कार्य हो । यसबाट नै ‘योग्यता अनुसार काम गर्ने र आवश्यकता अनुसार लैजाने’ साम्यवादमा पुग्न सकिन्छ । सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको प्रक्रियामा नै मानव जातिका लागि पर्याप्त उत्पादन हुनेछ । उत्पादनको अभावले शुरू भएको वर्गीय र वर्णीय भेदभावको धार्मिक तथा सांस्कृतिक रूढीवाद विलाएर जानेछ । किनभने अब त्यस्तो कुनै अज्ञात चीज रहने छैन जसको प्रतिबिम्ब हुन सकोस् ।

(स्रोत : लालदिशा अंक २)