प्रधानन्यायधीश शमशेरलगायत न्यायशीधहरुले तत्काल राजीनामा देऊ : प्रवक्ता, प्रकाण्ड

दलाल संसदीय व्यवस्थाले निम्त्याएको सङ्कट : सर्बोच्च अदालतमा देखिएको अराजकता

प्रधानन्यायधीश शमशेरलगायत न्यायशीधहरुले तत्काल राजीनामा देऊ : प्रवक्ता, प्रकाण्ड

बुटवल । नेपाल कम्युनिस्ट पार्टीले प्रधान न्यायाधिश चोलेन्द्र शमशेर राणालगायत न्यायाधिकारीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्तिमार्फत नेपालका क्रान्तिकारी एवम् परिवर्तनशील ऐतिहासिक राजनीतिक आन्दोलनहरू, दश बर्षे महान् जनयुद्ध र त्यसको जगमा बनेको ०६२/६३ को जनआन्दोलनका मुद्दा, जनआकाङ्क्षा र जनभावनाका बिरुद्ध जबरजस्त नेपाली जनताको थाप्लोमा लादिएको दलाल पुँजीपति वर्गको दलाल संसदीय व्यवस्थाले राष्ट्र र जनताको जीवनमा निम्त्याएको सङ्कटपूर्ण अवस्थाको पछिल्लो नाङ्गो चित्र सर्बोच्च अदालतमा देखिएको अराजकता, निकम्मापन र अनैतिकता भएको बताएका छन् ।

प्रवक्त प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘तथाकथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको न्यायपालिकाको उच्चतम् निकाय सर्वोच अदालतमा विगत लामो समयदेखि देखिएको गम्भीर समस्या र विवादको विषयले हाम्रो पार्टी र नेपाली जनतालाई गम्भीर बनाएको छ । यस घटनाबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । नेपालका क्रान्तिकारी एवम् परिवर्तनशील ऐतिहासिक आन्दोलनहरू १० वर्षको महान् जनयुद्ध र त्यसको जगमा बनेको ०६२/६३ को ऐतिहासिक जनआन्दोलनको मुद्दा, जनआकाङ्क्षा र जनभावनाका विरुद्ध जवरजस्त नेपाली जनताको टाउकोमा लादिएको दलाल पुँजीवादी वर्गको दलाल संसदीय व्यवस्थाले राष्ट्र र जनताको जीवनमा निम्त्याएको सङ्कटपूर्ण अवस्थाको पछिल्लो स्वरुप सर्वोच्च अदालतमा देखिएको अराजकता, निकम्मापन र अनैतिकता हो । साम्राज्यवादीहरूको रणनीतिमा आफ्नो सैद्धान्तिक मान्यता र क्षेत्राधिकार भन्दा बाहिर नाकाम र असफल सिद्ध भैसकेको दलाल संसदीय व्यवस्थाको कार्यपालिका र व्यवस्थापिकाको संरक्षण गर्ने दुस्साहसवादी कार्यको परिणाम पनि हो ।’

प्रकाण्डले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘संसदीय व्यवस्थाका मसियाहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र एवम् निष्पक्षता र शक्ति संन्तुलनको पगरि गुथाएर कहिल्यै थाक्दैनन् । तर, नेपालको विद्यमान न्यायपालिका र सर्वोच्च अदालत भ्रष्टाचार, अनियमितता, सेटिङ, घुसखोरी, नातावाद, कृपावाद, दलगत स्वार्थ र सम्वन्ध लगायतका समस्याहरूबाट ग्रसित रहेको छ । यो समस्या व्यक्ति विशेषको मात्र नभएर नेपालमा सत्तासिन दलाल पुँजीवादी वर्गको संसदीय व्यवस्थाको गम्भीर समस्या हो । यसको अन्तिम र रणनैतिक समाधान सङ्घर्षरत पक्षले दलाल संसदीय व्यवस्था र भ्रष्ट एवम् जनविरोधी न्यायपालिकाको अन्त्य गरेर नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था र न्याय प्रणालीको स्थापनाबाट खोज्नु पर्दछ । यसका निम्ति जनमतसङ्ग्रह उपयुक्त राजनीतिक कार्यक्रम सिद्ध भएको छ ।’

प्रवक्ता प्रकाण्डले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यस कार्यको शुभारम्भ र समस्याको तत्कालिन नियन्त्रणका निम्ति समस्यासँग सम्बन्धित प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणा लगायतका न्यायधिकारीहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित ठहरिने छ ।’