सम्पादकीय : बलिदानीपूर्ण सङ्घर्षका सपनाहरू पुरा गरौं !

जनबाटो डटकम यसबारे ‘जन’ अर्थात् जनतालाई सही सूचना वा ‘बाटो’ सम्प्रेषण गर्न चाहन्छ  ।

सम्पादकीय : बलिदानीपूर्ण सङ्घर्षका सपनाहरू पुरा गरौं !

सम्पादकीय

हामीले एक बर्ष अगाडी, अर्थात् २०७७ मङ्सिर ८ गतेदेखि जनबाटो डटकम (www.janabato.com) को औपचारिक सुरूवात गरेका थियौं । यद्यपी, चार बर्ष अघि, अर्थात् २०७४ असोज ३ गते रुसी महान अक्टोवर समाजवादी क्रान्तिको द्विशतबार्षिकीको सन्दर्भ पारेर अनौपचारिक आरम्भ गरेका थियौं । अनलाइनको औपचारिक सुरुवातको १ बर्ष पुरा भएको छ । । यो अवधिमा हामीले उत्पीडित जनताका आवाजहरुलाई मुखरित गर्ने प्रयास गर्यौं । बुद्धिजीवी, पाठक एवं शुभेच्छुकहरुबाट प्राप्त सुझाव र प्रतिक्रियाले हामीलाई थप क्रियाशील हुन उत्प्रेरणा दिएको छ ।

हामीले अनलाइनको औपचारिक सुरूवात सहिद परिवारको हातबाट गरेका थियौं । यसको अर्थ साम्राज्यवादविरोधी आन्दोलनमा जीवनको बलिदान गर्ने नेपाली वीर वीरङ्गनाहरूको महान त्याग, बलिदानी, समर्पण र उत्सर्गका अधुरा सपनाहरु पुरा गर्ने सङ्कल्प थियो । यो यात्रालाई हामीले अविछिन्न निरन्तरता दिएका छौं । 

अहिले पनि बहुसङ्ख्यक नेपाली जनताको आधारभूत जीवनस्तर बदलिएको छैन । श्रमिक वर्गमाथिको शोषण, उत्पीडन, अतिक्रमण र थिचोमिचो अझ बढ्दो छ । जनताको सपना अधुरो छ र पुरा भएको छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था कमजोर छ । अर्कोतिर जनताले बलिदानीपूर्ण सङ्घर्षहरू गरिरहेका छन् । उनीहरूको भविष्य उज्ज्वल छ । जनबाटो डटकम यसबारे ‘जन’ अर्थात् जनतालाई सही सूचना वा ‘बाटो’ सम्प्रेषण गर्न चाहन्छ  ।

हाम्रो यस अभियानमा बुद्धिजीवी, लेखक–स्तम्भकार, कर्मशील सञ्चारकर्मी, विज्ञापन एवं सहयोगदाता र श्रद्धेय पाठकवर्गको न्यानो स्नेह, साथ र सहयोग निरन्तर रहने विश्वासका साथ सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

जनबाटो डटकम परिवार
www.janabato.com
मङ्सिर ८, २०७८, नोभेम्बर २४, २०२१