कमरेड गोञ्जालोका योगदानहरू तथा हामीहरूले सिक्नुपर्ने कुराहरू

सर्वहारा अन्तरराष्ट्रवादी कम्युनिस्टहरूले क. गोञ्जालो र उहाँका योगदानहरूको उच्च सम्मान गर्नुपर्दछ ।

कमरेड गोञ्जालोका योगदानहरू तथा हामीहरूले सिक्नुपर्ने कुराहरू

विश्व सर्वहारा वर्ग मजदूर, किसानलगायत सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्गका प्रेरणादायी नेता तथा पेरू कम्युनिस्ट पार्टी (साइनिरूपथ) का संस्थापक अध्यक्ष क. गोञ्जालोका योगदानहरू अमर र महान् छन् । जोसे मोरियाते गुईको नेतृत्वमा स्थापना भएको पुरानो पार्टीको संशोधनवादमा पतन भएको स्थितिमा उहाँले पेरू कम्युनिस्ट पार्टी (साइनिङपाथ) पार्टीको कम्युनिस्टा डेल पेरू (सिन्डेरो–लुमिनेन्सो) पुनर्गठन (१९६९) गर्नु भयो । मार्क्सवाद–लेनिनवाद र माओ त्सेतुङविचारधारा र चीनमा माओको नेतृत्वमा एक दशकसम्म चलेको महान् सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षाहरूलाई आत्मसात गर्दै उहाँले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा पहिलेको समाजवादी शिविरको विघटन, पहिलेका समाजवादी मुलुकहरूमा पूँजीवादको पुनस्र्थापना तथा ती देशहरू र विश्वस्तरमा पहिलेका कम्युनिस्ट पार्टीहरूको संशोधनवादमा पतन भएर विश्व कम्युनिस्ट आन्दोलन कमजोर र रक्षात्मक स्थितिमा रहेको विश्व परिस्थितिमा ल्याटिन अमेरिकी राज्य पेरूमा क्रान्तिको रातो झण्डा फहराउँदै एक दशक लामो जनयुद्ध सञ्चालन गर्नुभयो ।

साम्राज्यवाद, विशेषतः अमेरिकी साम्राज्यवादको जुन दादागिरी चलिरहेको छ, त्यसको तथा त्यसको कृतदास फुजिमोरी शासनको फासीवादी दमनको प्रतिकार गर्दै पेरूको जनयुद्धलाई रणनैतिक सन्तुलनबाट रणनैतिक प्रत्याक्रमणको दिशामा अगाडि बढाउनुभयो । सर्वहारा वर्गका महान् नेता तथा गुरु माओ त्सेतुङको देहावसान र त्यसको लगत्तै चीनमा भएको प्रतिक्रान्ति वा पूँजीवादको पुनस्थापनापश्चात् विश्वको आकाशमा मडारिइरहेको कालो बादललाई चिर्दै पेरूको आकाशमा जुन वसन्तको गर्जन उत्पन्न भयो, त्यसले खालि पेरूमा मात्रै सर्वहारा वर्ग, मजदूर, किसानलगायत सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्ग तथा साम्राज्यवादविरोधी र सामन्तवादविरोधी सबै न्यायप्रेमी, देशभक्त र जनवादी शक्तिहरू र ब्यक्तित्वहरूलाई संयुक्त मोर्चाको नीति अनुसार गोलबन्द गर्दै विश्व साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका साथै सबैप्रकारका संशोधनवादी र अवसरवादी तत्वहरूका विरुद्ध सम्झौताहीन सङ्घर्ष नगरेर विश्वका मार्क्सवादी–लेनिनवादी पार्टी सङ्गठनहरूलाई झकझकायो, त्यसबाट प्रेरित भएर विश्वका माक्र्सवादी–लेनिनवादी पार्टी र सङ्गनहरूमा सर्वहारा अन्तरराष्ट्रवादसम्बन्धी दबिएको आवाज पुनः घन्किनथाल्यो । त्यही क्रममा नै विश्वका माक्र्सवाद–लेनिनवाद तथा माओवाद वा माओ त्सेतुङविचारधारा मान्ने पार्टी र सङ्गठनहरूको पहलकदमीमा क्रान्तिकारी अन्तरराष्ट्रियतावादी आन्दोलन (RIM) को गठन भयो । त्यसरी रिमको गठनमा क. गोञ्जालोको नेतृत्वमा पेरू कम्युनिस्ट पार्टी (साइनिङ पाथ) ले चलाएको एकदशकभन्दा भन्दा लामो जनयुद्ध र क.गोञ्जालोको प्रेरणा महत्वपूर्ण रहेको छ ।

साथै “सन्सारका मजदूरहरू, एकहोऊ !” “सन्सारका मजदुर वर्ग र शोषित–पीडित श्रमजीवी जनसमुदाय एक होऊ !” भन्ने नारा भटाउन नछाडेपनि, हँसिया–हथौडा अङ्कित झण्डा राखे पनि, माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङविचारधारा वा माओवादको राग अलाप्न नछाडे पनि सर्वहारा अन्तरराष्ट्रवादलाई तिलाञ्जली दिएर तथाकथित “मानव अधिकार”, तथाकथित “शान्ति”, तथाकथित “प्रजातन्त्र”का साथै तथाकथित “राजनैतिक क्रान्ति पूरा भयो, आर्थिक समृद्धि गरेर सुखी जनता, समृद्ध राष्ट्र”को खोक्रो नाराको आडमा कमिसनतन्त्र, साम्राज्यवादको दलालीमा चुर्लुम्मै डुविसकेको तथाकथित कम्युनिस्ट आन्दोलनको पञ्जाबाट छुटाएर पेरूका समस्त ग्रामीण क्षेत्रहरूमा मात्र नभएर सन्सारभरि सर्वहारा अन्तरराष्ट्रवादको झण्डा फर्फराउने स्थिति सृजना गर्नुमा क. गोञ्जालोको प्रेरणादायी भूमिका महत्वपूर्ण रहेको छ । त्यसरी अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रिमको गठन क्रान्तिकारी पुनर्जागरणको थालनी थियो, यद्यपि क.गोञ्जालोको गिरफ्तार (सेप्टेम्बर १२, १९९२) पश्चात् रिमको विघटनको क्रम शुरु भएर अन्ततः त्यो पनि पहिेको समाजवादी शिविरसरह अस्तित्वविहीन हुनपुगेको छ तापनि रिमको पहलकदमीमा विभिन्न देशहरू र महादेशहरूमा कम्युनिस्ट पार्टी र सङ्गठनहरूको जुन गठन–पुनर्गठनको क्रम चल्यो, त्यसलाई सकारात्मकरूपमा लिनुपर्दछ ।

मार्क्स र एङ्गेल्सले तात्कालीन परिस्थितिमा, औद्योगिक क्रान्तिको परिणामस्वरूप विकसित भइरहेको मजदूर आन्दोलन, अर्थात् तात्कालीन अस्तित्वमान वर्गहरू, मजदूर वर्ग र पूँजीपति वर्गबीच वर्ग–सङ्घर्षसम्बन्धी ठोस विश्लेषण गरेर तात्कालीन न्यायिक लिगको कम्युनिस्ट लिगमा रूपान्तरणको लागि पहलकदमी गर्नुभयो । कम्युनिस्ट आन्दोलनसम्बन्धी धेय–उद्देश्य, कार्यक्रम र कार्य दिशा तय गरिएको महान् दस्तावेज, कम्युनिस्ट पार्टीको घोषणा–पत्र सृजना गर्नुभयो । कोलोनमा चलेको आन्दोलनमा उहाँहरू स्वयं सक्रियरूपमा सहभागी हुनुभयो र त्यो सङ्घर्षमा कम्युनिस्ट लिगको भूमिका सक्रिय रह्यो, यद्यपि त्यहाँ क्रान्ति र प्रतिक्रान्तिबीच जुन सङ्घर्ष चलेको थियो, त्यसमा क्रान्ति पराजित भएको थियो भने प्रतिक्रान्ति विजयी । त्यसपश्चात् क्रान्तिकारी कम्युनिस्टहरू र त्यसमा सहभागी मजदूर जनसमुदाय आतङकको जाँतोमा पिस्सिए, रगतको खोलो बग्यो तापनि त्यो बलिदानयुक्त सङ्घर्षको पृष्ठभूमिमा कम्युनिस्ट आन्दोलन नयाँ सवक र शिक्षाका साथ अगाडि बढ्दैगयो । त्यसकै निरन्तरतामा सर्वप्रथम १८६४ मा पहिलो अन्तरराष्ट्रियको स्थापना भयो । त्यसले पेरिस कम्यूनको स्थापना र सञ्चालन गर्ने प्रयत्न ग¥यो । यद्यपि पेरिस कम्यूनका कतिपय त्रुटीहरूको पृष्ठभूमिमा कम्यूनले प्रतिक्रियावादी दमनको सामना गर्नसकेन र पेरिस कम्यूनको पराजय भयो । र, अवश्य त्यसको कारणले मजदूर आन्दोलनको केन्द्र यूरोपबाट अमेरिकामा स्थानान्तरित भयो तर मजदूर आन्दोलन दबिएन ।

अमेरिकामा आठ घण्टा काम, आठघण्टा विश्राम र आठघण्टा मनोरञ्जनको मूल नाराका साथ जुन मई दिवसको आन्दोलनको नामले चर्चित आन्दोलन भयो, यद्यपि त्यो सङ्घर्षमा घोर भयो तापनि त्यसले निश्चय नै केही नकेही उपलब्धि हासिल गर्न, आठ घण्टाको कामको दिन कायम सफल भयो । यद्यपि त्यहाँ मजदूरमाथि गरिएको घोर दमनको कारण त्यहाँबाट, अर्थात् अमेरिकाबाट मजदूर आन्दोलन रूसमा स्थानान्तरित भयो । रूसमा १९१७ मा पहिलो विश्वयुद्धको ज्वालामुखीबाट लेनिनको नेतृत्वमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो, सोभियतसंघको निर्माण भयो । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग प्रारम्भ भयो । लेनिन र उहाँको देहावसानपश्चात् स्टालिनको नेतृत्वमा सोभियतसंघमा समाजवादी क्रान्ति र समाजवादी निर्माण हुनुका साथै स्टालिनले नेतृत्व गर्नुभएको सोभियत समाजवादी गणतन्त्रसंघको पहल र सक्रियतामा दोस्रो विश्वयुद्धमाथि विजय प्राप्त गरियो, पासिस्टहरू र नाजीहरूको गठबन्धनले नेतृत्व गरिरहेको उपनिवेशवादी युगको अन्त्य गर्दै विभिन्न मुलुकहरूमा कम्युनिस्ट पार्टीको स्थापना भयो । चीनलगायत विश्व भू–भागको १/६ भाग र विश्व जनसंख्याको १/३ भाग उपनिवेशवाद र साम्राज्यवादको शोषण, दमन र उत्पीडनबाट मुक्त भयो र एउटा सशक्त समाजवादी शिविरको निर्माण भयो । साम्राज्यवादीहरू र सबैखाले प्रतिक्रियावादी शक्तिहरूका अगाडि कम्युनिस्ट क्रान्ति अजेय छ भन्ने प्रमाणित गऱ्यो ।

निश्चय नै स्टालिनको देहावसान र सोभियतसंघलगायत पूर्वी यूरोपमा पूँजीवादको पुनस्र्थापना, सामाजिक–साम्राज्यवादमा सोभियतसंघको पतन र पछि त्यसको विघटन, पुरानो विश्व समाजवादी शिविरको पतनले विश्वका विभिन्न देशहरूका कम्युनिस्ट पर्टीहरू वा सङ्गठनहरूको साथसाथै कम्युनिस्ट आन्दोलनमा पनको क्रमसँगै सङ्गठनात्मक विभाजन आयो । त्यतिबेला सृजित नयाँ परिस्थितिमाथि ध्यान दिंदै माओ त्सेतुङको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टी) ले एकचोटी पूँजीवादलाई हराइसकेपछि पनि त्यसको पुनस्र्थापना रोक्नका लागि सर्वहारा वर्गको पार्टी तथा सर्वहारा अधिनायकत्वको वा सर्वहारा वर्गले नेतृत्व गरेको राज्यसत्ताले निरन्तर क्रान्तिको सिद्धान्तको आलोकमा समाजवादी क्रान्ति र समाजवादी निर्माणको अभियान जारी राख्नुपर्दछ, निरन्तररू पार्टी र सरकारमा घुस्न सफल भएका पूँजीवादपन्थी हर्ताकर्ताहरूको मुख्यालयमाथि बम वर्षाउनु, शोषण, दमन र उत्पीडनमा आधारित पुराना चाल–चलनहरू, पुराना रीतिस्थितिहरू, पुराना बानी–ब्यहोराहरू, पुराना विचार–चिन्तन शैलीहरू, पुराना संस्कार र संस्कृतिहरू जुन हदसम्म समाजवादी क्रान्ति र समाजवादी निर्माणको कार्य अगाडि बढाउन, सुदृढ बनाउन र अन्ततः साम्यवादी दिशामा समाजलाई उन्मुख गराउन बाधक हुन्छन्, तिनका विरुद्ध निर्मम सङ्घर्षको कार्यक्रम, महान् सर्वहारा सांस्कृतिक क्रान्तिसम्बन्धी कार्यक्रम अगाडि बढायो ।

त्यसरी नै क. गोञ्जालो, उहाँको नेतृत्वमा पेरूमा सञ्चालित जनयुद्धले नयाँ जनवादी क्रान्तिको जुन लहर ल्याएको थियो, त्यसको पृष्ठभूमिमा निम्न कुराहरूले भूमिका खेलिरहेका थिए : क्रान्तिकारी पार्टीको पुनर्गठन:  क. गोञ्जालोको नेतृत्वमा स्थापित पार्टी पेकपा (सिन्डेरो लुमिनेन्सो — साइनिङपाथ) जोसे कार्लोस मोरियातेगुईको पहलकदमी र नेतृत्वमा स्थापित पेरूको कम्युनिस्ट पार्टीको निरन्तर उत्तराधिकारी थियो । त्यसले दशकौंसम्म संशोधनवाका साथै सबैप्रकारका अवसरवादीसँग सङ्घर्ष गऱ्यो, जस्तो स्वयं क. गोञ्जालो भन्नुहुन्छ : “हाम्रो पार्टीले महाधिवेशन सम्पन्न गर्नेलगायत चीर प्रतीक्षित ऐतिहासिक काम गरेको छ । त्यसका लागि हामीहरूले दशकौंसम्म कडा सङ्घर्ष गऱ्यौं तर खालि त्यो जनयुद्ध मात्रै हो, जसले त्यो पूरा गर्ने अवस्था प्रदान गरेको छ ।”

कार्यक्रम, रणनीति र कार्यनीतिको निर्धारण र जनयुद्धको सञ्चालन क. गोञ्जालोले भन्नुहुन्छ “पहिलो महाधिवेशन दुई आमाबाउ, पार्टी र जनयुद्धको सन्तान हो । आधिकारिक दस्तावेजहरूको रूपमा उक्त महाधिवेशनले राज्यको शिलान्यास गर्छ, एउटा विजय हासिल गर्छ, जसमा हाम्रो पार्टीले लामो बाटो तय गर्न तथा तीनवटा आधारभूत तत्वहरू आफ्नो विचारधारा, माक्र्सवाद–लेनिनवाद–माओवाद, गोञ्जालोविचारधारा, कार्यक्रम तथा राजनैतिक आम कार्यदिशा स्थापित गर्न सक्षम भएको छ । त्यसबाहेक उक्त महाधिवेशनले भविष्यमा राज्यसत्ता कब्जा गर्ने दिशातर्फ ठोस आधार स्थापित गरेको छ ।”

मार्क्सवादी सिद्धान्तको आत्मसातीकरण :

क.गोञ्जालोले भन्नुहुन्छ : “वर्ग–सङ्घर्षको आरनमा खारिएर माक्र्सवादको रूपमा अन्तरराष्ट्रिय सर्वहारा वर्गको विचारधारा उत्पन्न भयो, त्यसपछि मार्क्सवाद–लेनिनवादमा अनि पछि माओवादमा विकसित भयो । अतः सर्वहारा वर्गको वैज्ञानिक दृष्टिकोण सर्वशक्तिमान छ किनभने यो सत्य छ, विकाससम्बन्धी यसको द्वन्द्वात्मक प्रक्रियामा तीन चरणहरू वा पदचिह्नहरू हुन्छन् : क.मार्क्सवाद, ख.लेनिनवाद र, ग.माओवाद । यी तीनवटा चरणहरू त्यो उही एकताका अङ्गहरू हुन्, जुन १४० वर्षपहिले कम्युनिस्ट घोषणापत्रबाट त्यो वर्ग–सङ्घर्षको त्यो वीरताको चरणसहित स्वयं कम्युनिस्ट पार्टीहरूभित्र चलेका गम्भीर र फलदायी सङ्घर्षहरूमा तथा विचार र गतिविधिहरूको त्यो महान् कार्यमा प्राप्त भए, जुन खालि श्रमजीवी वर्गले मात्र पैदा गर्नसक्दथ्यो ।”

क.गोञ्जालोले अगाडि भन्नुहुन्छ : “माओवाद, त्यसको सारतत्वको सम्बन्धमा निम्न विषय–वस्तुहरूलाई अवश्य इङ्गित गर्नुपर्दछ : प्रथम, सिद्धान्त । मार्क्सवादका तीन अङ्गहरू छन् : मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र वैज्ञानिक समाजवाद । ती तीन सङ्घटकहरूमध्ये सबैको विकासले समग्ररूपमा, नयाँ चरण समावेश गर्ने एउटा धेरै उच्चस्तर तहको एकताको रूपमा मार्क्सवादको गुणात्मक फड्को उत्पन्न गर्छ । फलस्वरूप त्यो देखाउने आवश्यक चीज त्यही हुन्छ, जसमा नयाँ चरण समावेश हुन्छ ।

“…हामीहरूका लागि, माक्र्सवाद विकासको एउटा प्रक्रिया हो । त्यो महान् प्रक्रियाले हामीहरूसमक्ष एउटा नयाँ, तेस्रो र उच्चतर चरण प्रदान गरेको छ । हामीहरूले माओवादलाई किन एउटा नयाँ, तेस्रो र उच्चतर चरण भन्दछौ ? त्यो हामीहरूले किन भन्दछौं भने माक्र्सवादका तीन अभिन्न अङ्गहरूको परीक्षणमा अ.माओ त्सेतुङले ती तीन अङ्गहरूमध्ये हरेकको विकास गर्नुभएको छ भन्ने स्पष्टरूपमा प्रमाण छ : “अन्तरविरोधको त्यो नियम (अर्थात् विपरीत तत्वहरूको एकताको नियम) का सम्बन्धमा केन्द्रित गरेर र खालि त्यसलाई मात्रै आधारभूत नियमको रूपमा स्थापित गरेर माक्र्सवादी दर्शनमा उहाँले गर्नुभएको महान् योगदानलाई कसैले अस्वीकार गर्नसक्दैन । राजनैतिक अर्थशास्त्रका सम्बन्धमा दुई चीजहरूमाथि प्रकाश हाल्नु पर्याप्त हुनेछ : हामीहरूको लागि पहिलो, तात्कालिक र विशिष्ट महत्वको नोकरशाही पूँजीवादी तथा दोस्रो, समाजवादको त्यो राजनैतिक अर्थशास्त्रको विकास । किनभने संश्लेषणमा त्यो अ.माओ त्सेतुङ नै हुनुहुन्छ, जसले वास्तवमा समाजवादको त्यो राजनैतिक अर्थतन्त्र स्थापित गर्नुभयो र विकसित गर्नुभयो ।

“वैज्ञानिक समाजवादको सम्बन्धमा जनयुद्धलाई जोड दिनु पर्याप्त हुन्छ किनभने अ.माओ त्सेतुङसितबाट नै अन्तरराष्ट्रिय सर्वहारा वर्गले एउटा पूर्णरूपमा विकसित सैन्य विज्ञान प्राप्त गरेको छ, त्यस उप्रान्त जहाँसुकै प्रयोग हुनयोग्य हाम्रो वर्ग, सर्वहारा वर्गको त्यो सैन्य सिद्धान्त हामीहरूलाई” दिइएको छ । त्यो “विश्वब्यापी चरित्रको विकास” भएको र त्यसका आधारमा त्यो “हामीहरूसँग एउटा नयाँ चरण हुन्छ” र त्यसलाई “हामीहरूले तेस्रो चरण भन्दछौं ।” अहिले सही कम्युनिस्ट हुन “माक्र्सवादी–लेनिनवादी–माओवादी र मुख्यतः माओवादी हुनुपर्दछ”, अन्यथा कम्युनिस्ट हुनसकिंदैन ।” क.गोञ्जालोका उद्धरणहरू पेकपा (साइनिङ पाथ) का सङ्ग्रहित रचनाहरूबाट लिइएको छ । ती पेकपा (साइनिङ पाथ) को पहिलो महाधिवेशनका दस्तावेजहरू र क.गोञ्जालोले एल डाइरियो सामयिक सङ्लनलाई दिनुभएको अन्तरवार्ता, आदिबाट लिइएका हुन् ।

उपर्युक्त स्पष्ट दृष्टिकोणरूपसाथ उहाँले जोसे कार्लोस मोरियातेगुईको नेतृत्वमा गठित पेरूको कम्युनिस्ट पार्टीभित्र घुसेर त्यसको नेतृत्व कब्जा गर्न सफल भएका विभिन्न संशोधनवादी र अवसरवादी तत्वहरूका विरुद्धको सङ्घर्षबाट खारिएको पेकपा (साइनिङ पाथ) निर्माण गर्नुभयो, पेरूको भूमिमा माक्र्सवाद–लेनिनवाद–माओवाद, गोञ्जालोविचारधाराको झण्डा फहराउँदै जनयुद्धको थालनी गर्नुभयो र एकदशकभन्दा लामो समयसम्म जनयुद्धको नेतृत्व गर्नुभयो र खालि रणनैतिक सन्तुलनको स्थितिमा पु¥याउनुभएको मात्र नभए नयाँ जनवादी क्रान्तिको देशब्यापी विजय गरेरै छाड्ने दिशामा दृढताका साथ अगाडि बढाउँदै लग्नुभयो, वर्ग–शत्रुको सैनिक घेराभित्रैबाट माक्र्सवाद–लेनिनवाद–माओवाद, पेरूको जनयुद्ध र पेकपाको पक्षमा आवाज घन्काइरहनुभयो तथा २९ वर्षभन्दा बढी समयसम्म फासीवादी सैनिक घेराभित्र कष्टदायी र मृत्यु–शय्यामा जीवन बिताउनुभयो । यी र यस्तै यावत् कुराहरूले क.गोञ्जालोको दृढ र स्पष्ट क्रान्तिकारी चरित्रको परिचय दिन्छ ।

क. गोञ्जालोको जीवन–परिचय :

महान् मार्क्सवादी–लेनिनवादी तथा पेरूको जनयुद्धका महान् नेता म्यानुएल रुबेन अभिमाएल गुज्म्यान  क. गोञ्जालो दिसेम्बर ३, १९३४ मा बेरेनियस रेनोसोको कोखबाट मोलेन्दो, पेरूमा जन्मिनुभएको थियो । उहाँ ५ वर्षको हुँदासम्म आमाका साथ आफ्नो मावली घरमा रहनुभएको थियो । उहाँ ५ वर्षको हुँदा आमाको मृत्यु भयो । त्यसपछि उहाँ बाबुको घरमा बस्नुभयो । उहाँका बाबु धनी ब्यापारी थिए । उनका विभिन्न ५ वटी पत्नीहरू थिए । उनीहरूको कोखबाट ७ जना सौतेला दाजुभाइ र दिदीबहिनीहरू जन्मेका थिए । उहाँ १९६४ मा अगस्ता ला टोरेसित विवाह–बन्धनमा गाँस्सिनुभएको थियो । १९८८ मा उहाँकी पत्नी टोरेको रहस्यमय मृत्यु भएको थियो । उनको मृत्युपश्चात् उहाँले पेरूको जनयुद्धका क्रममा उहाँसँगै जेल परेर आजीवन जेल सजायँ भोगिरहेकी एलना इपारागुइरे (lEena Iparraguirre) सित २०१० मा जेलभित्रै विवाह गर्नुभएको थियो । त्यो विवाहका लागि सरकारले अनुमति नदिएको कारण उहाँहरूले अनसन गर्नुपरेको थियो । उहाँकी पत्नी इपारागुइरेलाई आजीवन काराबासको सजायँ तोकेर अद्यावधि जेलमै राखिएको छ ।

हामीहरूले क. गोञ्जालोबाट सिक्नुपर्ने कुराहरू :

मार्क्सवादी–लेनिनवादी दर्शन, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादले हरेक चीजलाई हेर्ने, बुझ्ने, ब्याख्या–विश्लेषण र संश्लेषण गर्ने सम्बन्धमा हेक चीज त्यसमा निहित दुई विपरीत तत्वहरूको एकताको आधारमा अस्तित्वमान हुन्छ भन्ने बताउँदछ । यदि कसैले स्वयंलाई द्वन्द्ववादी भएको दाबा गर्छ भने उसले स्वयंलाई एकाङ्गी बनाउनुहुन्न, अर्थात् हरेक वस्तुमा निहित सकारात्मक र नकारात्मक पक्षको लेखाजोखा गरिनुपर्दछ । तसर्थ त्यसैलाई आधारमा बनाएर हामीहरूले पनि क.गोञ्जोको मूल्याङ्कन गर्नुपर्दछ । एकातिर, सच्चा, इमानदार र सर्वहारा अन्तरराष्ट्रवादी क्रान्तिकारी कम्युनिस्ट, एकजना सर्वहारा वर्गको लौह नायक वा नेताका रूपमा हामीहरूले क. गोञ्जालोको उच्च सम्मान गर्नुपर्दछ भने अर्कोतिर, जसरी हामीहरूले माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका त्रुटी वा कमी–कमजोरीहरूको निर्धक्क आलोचना गर्दछौं, त्यसरी नै क.गोञ्जालोको उच्च सम्मान गर्ने नाममा उहाँका कमी–कमजोरीहरूलाई देखेको नदेखेझैं गर्नुहुन्न ।

हामीहरूले गोञ्जालोबाट कसरी सिक्दछौं ?

हामीहरूले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा छ भनिरहँदाखेरि यदि हामीहरू, सन्सारभरिका क्रान्तिकारीहरू तथा आमूल परिवर्तनका पक्षधरहरू हौं भने क.गोञ्जालोले पेरूमा दशकौंसम्म गर्नुभएको “अथक सङ्घर्ष” के हो ? एकातिर, त्यो बुझ्नुपर्दछ, उहाँले जुन किसिमले मार्गदर्शक सिद्धान्त उहाँकै शब्दमा, “माक्र्सवाद–लेनिनवाद–माओवाद तथा गोञ्जालो विचारधारा”प्रति स्वयंलाई पूर्णतः समर्पित गर्दै त्याग, तपस्या र बलिदानको पाठ सिकाउनुभयो, त्यसलाई हामीहरूले खालि सम्मान गरेर मात्र पुग्दैन, अर्थात् यदि हामीहरूले स्वयंलाई “माक्र्सवाद–लेनिनवाद–माओवाद” वा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङविचारधारा अवलम्बन गर्ने क्रान्तिकारी भनेर दाबा गर्छौं भने बचाउवादी प्रवृत्ति अर्थात् आत्मसुरक्षावादी होइन, उहाँले जुन “अथक सङ्घर्ष”को बाटो चयन गर्नु भयो, त्यसलाई आत्मसात गर्नुपर्दछ, दिलोज्यानले त्यो दिशामा स्वयं होमिनु पर्दछ, स्वयंलाई होमिदिनुपर्दछ ।

मार्क्सवादी–लेनिवादी दर्शंन गतिशील हुन्छ र यसलाई त्यही रूपमा ग्रहण गर्नुपर्दछ :

मार्क्सवादी–लेनिवादी दर्शंन, अर्थात् द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद स्वयं गतिशील हुन्छ र हरेक चीजलाई यसले गतिशील रूपमा हेर्न, अध्ययन गर्न, बुझ्न, ब्याख्या–विश्लेषण वा संश्लेषण गर्न निर्दिष्ट गर्छ, बेग्लाबेग्लै देश, काल र परिवेश अनुसार हरेक चीजलाई विपरीत तत्वहरूको एकताको रूपमा, निरन्तर परिवर्तितत भइरहेको विकसित भइरहेको रूपमा आत्मसात गर्नुपर्दछ, त्यसको साथसाथै त्यो परिवर्तनमा विपरीत तत्वहरूको एकताको निर्णयात्मक भूमिका हुन्छ, त्यसको केन्द्रमा सर्वहारा वर्गलाई राखिनुपर्दछ । त्यसरी जुन हदसम्म आफ्नो सोंच–विचार गैर–सर्वहारा वर्गीय हुन्छ, त्यसलाई पराजित गर्नका स्वयंलाई हराउनुपर्दछ ।

हामीहरूले नेपालको ठोस राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्थितिको ठोस मूल्याङ्कन गर्नुपर्दछ :
क. गोञ्जालोले पेरूको सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक, आदि विभिन्न पक्षहरूको गहन अध्ययन गरेर त्यहाँको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक प्रणाली तथा त्यहाँका जनताका ब्यापक समस्याहरूबीच, सारतः उपरि संरचना र आधारका बीचको सम्बन्धलाई गहनरूपमा बुझ्नुभयो र निष्कर्ष निकाल्नुभयो : पेरू एउटा अर्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक मुलुक हो, अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक मुलुक, पेरूको क्रान्तिको चरित्र नयाँ जनवादी हुन्छ, जनयुद्धविना पेरूमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नसकिन्न । त्यसका लागि उहाँ जनवादी गणतन्त्र चीन जानुभयो । चीन प्रवासमा रहँदा एकातिर, उहाँले चीनमा माओ त्सेतुङको नेतृत्वमा सम्पन्न नयाँ जनवादी क्रान्तिसम्बन्धी अध्ययन र मनन गर्नुभयो भने अर्कातिर, माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले सञ्चालन गरिरहेको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको नजीकैबाट अध्ययन गर्नुभयो । त्यसै गरी हामी नेपालका क्रान्तिकारी कम्युनिस्टहरूले पनि यहाँको सामाजिक–आर्थिक–राजनैतिक–सांस्कृतिक, आदि विविध पक्षहरूको स्थिति के छ, यहाँका शासक र शोषक वर्गको स्थिति के छ तथा यहाँका सर्वहारा वर्ग, मजदूर, किसान लगायत सम्प्रर्ण शोषित–पीडित जनताको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्थिति के छ र जनताको चेतना स्तर कुन प्रकारको छ, यहाँका शासक–शोषक वर्गका साथै सत्ताको बेलाबखतमा बागडोर आफ्नो हातमा लिन सफल भएका एवं सत्ताको वरिपरि नाचिरहेका राजनैतिक दलहरूको भूमिका के–कस्तो रहँदैआएको छ, स्वयंलाई श्रमजीवी जनसमुदाय आमूल परिवर्तनका पक्षधर भएको दाबा गरिरहेका राजनैतिक दलहरूको भौतिक, नैतिक र वैचारिक, आदिसम्बन्धी स्थिति के छ, त्यससम्बन्धी वस्तुनिष्ठ विश्लेषण, अर्थात् लेनिनका शब्दमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकाल्नुपर्दछ ।

यो एउटा अत्यन्त धेरै महत्वपूर्ण पक्ष हो र सन्सारभरिका सच्चा, इमानदार र सर्वहारा अन्तरराष्ट्रवादी कम्युनिस्टहरूले क. गोञ्जालो र उहाँका योगदानहरूको उच्च सम्मान गर्नुपर्दछ । त्यसको सँगसँगै सन्सारभरिका सच्चा, इमानदार र अन्तरराष्ट्रिय सर्वहारावादी कम्युनिस्टहरूले विचार गर्नुपर्ने कुरा के हो भने क. गोञ्जालोले भन्नुभएको माओवाद अस्वीकार गर्ने दुई प्रवृत्तिगत तत्वहरू, सामान्यतः माओका योगदानहरूलाई अस्वीकार गर्ने तथा माओका योगदानहरूलाई खालि माओ त्सेतुङविचारधाराको रूपमा मात्र स्वीकार गरेर माओवाद अस्वीकार गर्ने “दुवै स्थितिहरूले उनीहरूबीच स्पष्ट भिन्नतासहित सारतः माओ त्सेतुङद्वारा विकसित गरिएको माक्र्सवादको सामान्य विकासलाई अस्वीकार गर्छन्” भन्ने सही हो वा होइन ? यदि सही हो भने “माओवाद” स्वीकार गरेपछि जो कोही पनि समग्र विचार र ब्यवहारमा जे गरे पनि इमानदार, क्रान्तिकारी र, सर्वहारा अन्तरराष्ट्रवादी हुनेछ भने माओवाद अस्वीका गरेपछि इमानदार, क्रान्तिकारी र, सर्वहारा अन्तरराष्ट्रवादी हुनेछैन । के यसप्रकारको विचार पद्धति द्वन्द्वात्मक हुन्छ ? मलाई लाग्दछ, त्यसप्रकारको चिन्तन त्यसरी नै द्वन्द्वात्मक पद्धति नभएर एकाङ्गी हुन्छ, जसरी विश्व कम्युनिस्ट आन्दोलन तथा सोभियतसंघको समाजवादी क्रान्ति र समाजवादी निर्माणको नेतृत्व गरिरहनुभएका सर्वहारा वर्गका गुरु र महान् नेता स्टालिनले सोभियतसंघमा समाजवादी निर्माणको कालमा त्यहाँ वर्गहरू र वर्ग–सङ्घर्षको अस्तित्व नभएको बताउनुभएको थियो, त्यहाँ स्टालिन जीवित छँदा टिटोपन्थी संशोधनवादको विरोध गरेका ख्रुश्चोवले उहाँको मृत्युको लगत्तै सोभियतसंघको रङ्ग बदलेथे, सोभियतसंघमा पूँजीवादको पुनस्र्थापना गरेथे, त्यसरी नै माओवादको वकालत गरिरहेका, रिमको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका र माओवाद अस्वीकार गरे वापत् तात्कालीन नेकपा (मसाल) लाई रिमबाट गलहत्याएका बभ अभाकियनले क. गोञ्जालो जेल पर्दानपर्दै माओवाद परित्याग गरेको उदाहरण हाम्रा अगाडि छ । त्यसरी नै प्रकारान्तरले लिन पियाओ, अनवर होक्सा, पुष्पकमल दाहाल (प्रचण्ड) लगायत कैयौं नेताहरूको नेतृत्व स्वीकार गरिरहेका पार्टी, सङ्गठन, समूह वा ब्यक्तित्वका कैयौं उदाहरणहरू हाम्रा अगाडि छन् । तर त्यसको अर्थ स्वयं क. गोञ्जालोले अवलम्बन गर्नुभएका सबै विचारहरू गलत छन् र विरोध गर्नुपर्दछ भन्ने होइन । लेनिनले भन्नु भए झैं गल्ती गर्नु मानवीय कमजोरी हो तर क्रान्तिकारीहरूले आफ्नो गल्तीहरूप्रति पश्चाताप गर्दछन् र गर्नुपर्दछ । तर क. गोञ्जालोले उत्तर दिनसक्नु हुन्न न त गल्तीप्रति पश्चाताप गर्नसक्नुहुन्छ किनभने उहाँ ८६ वर्षको उमेरमा गत सेप्टेम्बर ११, २०२१ का दिनदेखि चीर निद्रामा हुनुहुन्छ । उहाँले अभिब्यक्त गरेका सबै विचारहरूलाई निरपेक्षरूपमा ग्रहण गर्ने वा सापेक्षरूपमा । सबै इमानदार कम्युनिस्टहरूले गम्भीरतापूर्वक विचार गर्नुपर्दछ ? त्यसरी हामीहरूले क. गोञ्जालोबाट सकारात्मक र नकारात्मक दुवै शिक्षा पाउनसक्दछौं । उहाँका सकारात्मक योगदाहरूलाई आत्मसात गर्न र उहाँका गल्ती–कमजोरीहरूबाट त्यसप्रकारका गल्तीहरूको पुनरावृत्ति हुननदिन सवक सिक्नुपर्दछ ।

हामीहरूले विचार गरौं । हाम्रो देशको राजनैतिक, आर्थिक, सामाजिक, नीतिगत र सांस्कृतिक विशेषता के–के हुन् ? हाम्रो देशमा विदेशी शक्ति–केन्द्रहरूको शोषण, दमन, उत्पीडन वा हस्तक्षेप हुनेगरेको छ वा छैन ? स्वयं नेपालकै शासक र शोषकबाट सर्वहारा वर्ग, मजदूर, किसानलगायत सम्पूर्ण श्रमजीवी वर्गका जनसमुदाय, महिला, दलित, जनजाति, अत्पसंख्यक, विभिन्न क्षेत्रका जनसमुदायप्रति कुनै पनि किसिमको शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, असमानता, भेदभाव र अपमानजनक गतिविधि हुनेगरेको छ वा छैन ? यदि छ भने पहिलाथरी, अर्थात् विदेशी शक्ति–केन्द्रहरूको शोषण, दमन, उत्पीडन वा हस्तक्षेपमा दोस्राथरी, अर्थात् स्वयं नेपालकै शासक र शोषक वर्ग उक्त पहिलाथरीलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले साथ दिने वा उनीहरूको पक्षपोषण गर्नेगरेका छन् वा छैनन् ? उक्त प्रश्नहरूका उत्तरहरूले सबैभन्दा पहिलो, अर्थात् हाम्रो देशको राजनैतिक, आर्थिक, सामाजिक, नीतिगत र सांस्कृतिक विशेषतासम्बन्धी प्रश्नलाई प्रष्ट गर्दछ । हामीलाई थाह छ, हाम्रो देशले विभिन्न देशहरू, उदाहरणका लागि, भारत, अमेरिका, चीन, यूरोपेली मुलुकहरू, आदि तथा विभिन्न अन्तरराष्ट्रिय संघ–संस्थाहरू, उदाहरणका लागि, विश्वब्याङ्क, अन्तरराष्ट्रिय मुद्राकोष, एशियाली विकास ब्याङ्क, विश्वब्यापार सङ्गठन, आदिसित अहिलेसम्म गरिएका सन्धि–सम्झौताहरूमा नेपाल ठगिएको छ, नेपालमाथि विदेशी शक्ति–केन्द्रहरूको शोषण, दमन, उत्पीडन वा हस्तक्षेप हुनेगरेको छ । नेपाली शासक र शोषक वर्गले आम नेपालीहलाई ढाँट–छल गरेर शोषण, दमन, उत्पीडन वा हस्तक्षेपको पक्षपोषण गर्नेगरेका ज्वलन्त उदाहरणहरू छन् । तसर्थ साम्राज्यवाद तिनका दलालहरूको शोषण, दमन, उत्पीडन वा हस्तक्षेपका कारणले अर्ध –औपनिवेशिक जाँतोमा पिस्सिइँदै नव–औपनिवेशिक शोषणको शिकार बनिरहेको छ । अर्कातिर, सामन्तवादको नाइके राजतन्त्रको अन्त्य र धार्मिक एकारधिकारको अन्त्य परम्परागत सामन्ती शोषणबाट आम जनसमुदाय अद्यावधि उत्पीडित छन् । त्यसकारण नेपाल अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक हो । त्यसकारण नेपालको प्रमुख अन्तरविरोध साम्राज्यवादको आड–भरोशामा चलिरहेको सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्ग र नेपालका श्रमजीवी वर्ग, तह र तप्काका जनताबीचको अन्तरविरोध हो । र, यो अन्तरविरोध हल गर्नका लागि माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङविचारधाराको आलोकमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम, कार्यदिशान, रणनीति र कार्यनीति निर्माण गर्दै अगाडि बढ्नु हाम्रो दायित्व हो ।

-मागदर्शन अनलाइन