गुल्मीको ठूलो लुम्पेकमा सत्यवती मेला सम्पन्न

ठूलो लुम्पेक । गुल्मीको ठूलो लुम्पेकमा ८८ औं सत्यवती मेला सम्पन्न भएको छ । सत्यवती क्षेत्रलाई सरकारले पर्यटकीय क्षेत्रको सय गन्तव्य भित्र समेत समावेश गरेको छ । विगत लामो समयदेखि सत्यवती देवीको पुजाआजा, वर माग्ने, विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको छ । दैनिक जसो विभिन्न ठाउँबाट घुमफिर, पुजाआजा, वनभोजको लागि मानिसहरू आइरहन्छन् ।

यसबर्ष संगम युवा समूह र साकटेक नेपालको संयुक्त आयोजनामा खुल्ला महिला तथा गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री, प्रदेश सांसद सुदर्शन बराल मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै बरालले यस क्षेत्रको धार्मिक, सांस्कृतिक, खेलकुद पर्यटन प्रवद्र्धनको लागि युवाहरूले खेलेको भुमिको प्रशंसा गर्दै आफुले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सत्यवती गाउँपालिका उपमेयर सुवर्ण शाही, सत्यवती गापा प्रमुख प्रशासकिय अधिकृत झविश्वर रेग्मी, सत्यवती –३ का वडाध्यक्ष रुक राना मगर, वडा नं २ वडाध्यक्ष भीमलाल पाण्डे, कार्यपालिका सदस्य नरमाया राना, अर्जुन तरामु मगर लगायतको आतिथ्यता रहेको थियो ।

उक्त भलिवल प्रतियोगिता कार्तिक २९ गतेदेखि सुरु गरिएको थियो । प्रतियोगितामा महिलातर्फको प्रथम पुरस्कार लाफा स्पोर्टस् ट्रेनिङ सेन्टर, बुटवलले हात पारेको छ । द्वितीय पुरस्कार ठूलो लुम्पेक खेलकुद समिति, ठूलोलुम्पेकले हात पारेको छ भने सान्त्वना पुरस्कार बहुद्देश्यीय स्पोर्टस् क्लब, स्याङ्जा र न्यु नमुना युवा क्लब, लिम्घाले हात पारेको छ ।

त्यस्तै पुरुषतर्फको भलिवल प्रतियोगितामा प्रथम पुरस्कार कालीगण्डकी –२, स्याङ्जाले हात पारेको छ । द्वितीय पुरस्कार ठूलोलुम्पेक खेलकुद समिति, ठूलोलुम्पेकले हात पारेको छ भने सान्त्वना पुरस्कार सि.सि.वाइ.सि. चेहेमी र लाङ्घाली लाफा समूह, एकसिंले हात पार्न सफल भएको छ ।

भलिवलमा बिद्यागततर्फ उत्कृष्ट खेलाडीको पुरस्कार बुनु थापा मगर (लाफा स्पोर्टस् ट्रेनिङ सेन्टर बुटवल) र बसन झेँडी मगर (कालिगण्डकी–२,स्याङ्जा), उत्कृष्ट स्पाइकर सोइङ थापा मगर (लाफा स्पो.ट्रे.) र थमन श्रीस मगर (ठूलोलुम्पेक खेलकुद समिति), उत्कृष्ट सेटर सुष्मा दर्जी (लाफा स्पो.ट्रे.) र सुमित थापा मगर (कालिगण्डकी–२,स्याङ्जा), अनुशासित खेलाडी थमी श्रीस मगर (ठूलोलुम्पेक खे. वि.स.) र रोमन राना मगर (ठूलोलुम्पेक खे.वि.समिति) ले प्राप्त गरेको छन् ।

महिला तथा पुरुष भलिवल प्रतियोगिता यसक्षेत्रको खेलकुदको विकासको लागि तथा खेल पर्यटनको प्रवद्र्धनमा सहयोग हुने अपेक्षासहित गरिएको साकटेक नेपालका पुर्व अध्यक्ष जीतु तरामु मगरले बताए । कार्तिक २९ गतेदेखि सुरु भएको भलिबल प्रतियोगिता मंसिर ४ गते सकिएको थियो । सत्यवती मेलामा गुल्मी, स्याङ्जा, पर्वत, बाग्लुङ, पाल्पा, रुपन्देही लगायत विभिन्न जिल्लाबाट दशौँ हजार मानिस आएको साकटेक नेपाल अध्यक्ष युवराज तरामु मगरले बताए ।

मेलामा करिब चालिस लाख बराबरको व्यापार भएको आयोजकले जनाएका छन् । भलिवल खेल सञ्चालन तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापनको लागि एक लाख नब्बे हजार एकसय रुपैयाँ चन्दा सहयोग समेत उठेको जनाइएको छ ।

यसै कार्यक्रमको सन्दर्भमा कार्तिक २९ गते ल्हुम्पेक कला तथा साहित्य यात्राको ८ औं शृङ्खला समेत सम्पन्न गरिएको थियो । संगम युवा समूहको अध्यक्ष गिरी तरामु मगरको अध्यक्षतामा भएको सो कार्यक्रम उद्घोषण शिक्षक प्रदीप राहादी मगरले गरेका थिए ।