नेकपा रूपन्देहीद्वारा सैनामैनामा सामूहिक आलु उत्पादन

कम्युनिस्ट पार्टीका सदस्य अनिवार्य श्रममा जोडिनुपर्ने

नेकपा रूपन्देहीद्वारा सैनामैनामा सामूहिक आलु उत्पादन

बुटवल । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले सैनामैनामा जनश्रम गरेको छ । जनश्रममा नेकपाले आलु खेती गरेको छ । नेकपाले जिल्ला पार्टीको उत्पादन योजना अनुरुप सैनामैनामा आलु रोपेको हो । 

उत्पादन कार्यको नेतृत्व नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृतिले गर्नुभएको छ भने जिल्ला सेक्रेटरी विश्वासलगायत जिल्ला स्तरिय नेताहरु, जबस मोर्चाका नेतृत्व, स्थानीय पार्टी एवं जनताको समेत सहभागिता रहेको थियो । 

पार्टीलाई आर्थिक दृष्टिले आत्मनिर्भर, स्वाधीन अर्थतन्त्रको विकास, समाजवादको आधार निर्माण र विश्वदृष्टिकोणको समाधान गर्न पार्टीलाई उत्पादनमा जोड्न अनिवार्य भएको बताउदै केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृतिले जनश्रमलाई जोडदिदै जाने बताउनु भयो । उहाँले कम्युनिस्ट पार्टीका सदस्य अनिवार्य श्रममा जोडिनुपर्ने बताउदै मालेमावादको वैचारिक नेतृत्वमा उत्पादन कार्यलाई तीव्रता दिइने बताउनु भयो । 

“उत्पादन पार्टीको केन्द्रीय योजना हो, यसैलाई हामीले जिल्लामा कार्यान्वयन गरेका हौं”–जिल्ला सेक्रेटरी विश्वासले भन्नुभयो । सेक्रेटरी विश्वासले उत्पादनलाई पार्टी सदस्यसम्म अनिवार्य बनाइने बताउनु भयो ।