जेलमा वली र बादलहरूले क्रुर यातना दिए : चुडामणि वली ‘आदर्श’

संसदीय व्यवस्थाको विकल्पमा जनमत संग्रहमा जानुपर्ने बताउँदै त्यसो नभए जनताले विद्रोह गर्ने बताए । 

जेलमा वली र बादलहरूले क्रुर यातना दिए :  चुडामणि वली ‘आदर्श’

रोल्पा । नेकपा केन्द्रीय सदस्य चुडामणि वली आदर्शले प्रतिबन्धको बेला वली–वादल सरकारले आफुहरुमाथि चरम यातना दिएको बताएका छन् । नेता आदर्शले आफुहरु शान्तिपूर्ण राजनीतिक अभियान चलाइरहेको बेला ओली–प्रचण्ड–बादल नेतृत्वको गृहप्रशासनले घेरा हालेर पक्राउ गरेर जेलमा अपराधिक कार्य गरेको बताए । 

नेता आदर्शले आफु र आफ्नो टोली रोगी हुँदासम्म सामान्य उपचार समेत नपाएको भन्दै जनताको मुक्तिको आकांक्षाविरुद्ध दलाल राज्यसत्ता क्रुर रहेको बताएका छन् । नेता आदर्शले रोल्पाली जनतालाई सम्बोधन गर्दै दलाल राज्यव्यवस्था अन्त्य नगर्दासम्म जनताको मुक्ति सम्भव नहुने बताए । उनले पार्टी नेता कमरेड बीरजंगलाई जेल हिरासतमा राखेर उपचार नगरेकै कारण असमायिक निधन भएको समेत आरोप लगाए । उहाँले दलाल राज्यसत्ता बदल्ने माध्यम जनमत संग्रह भएको बताए । 

जेल हिरासतमा रहेका आफ्ना सहयोद्धाहरुको रिहा नगरिए शान्ति प्रक्रिया भंग हुने बताउँदै आदर्शले तत्काल रिहा गर्न चुनौति दिएका छन् । उनले नेकपा नेता कार्यकर्ता फसाउन खोजेर निहुँ नखोज्न बताए । उनले प्रचण्ड बाबुराम जनयुद्धको धोकेबाज भएको भन्दै ठूलो पार्टी बनाउन र संसदीय चुनावमा जित्नलाई पार्टी एकता सम्भव नभएको समेत बताए । आफुहरु संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहमा जानुपर्ने बताउँदै त्यसो नभए जनताले विद्रोह गर्ने बताए । 

नेता आदर्शले सुस्तामाथि भारतीय अतिक्रणमलाई सहन नसकिने बताउदै नेपाली भूमि बचाउनका लागी निरन्तर संघर्ष आवश्यक भएको बताए ।