चिनियाँ कम्युनिस्ट पार्टीको विस्तारित बैठक पेइचिङमा सुरू

पेइचिङ । चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठक सोमबारबाट राजधानी पेइचिङमा सुरु भएको छ । विस्तारित बैठकमा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्षको अन्तरालमा हासिल गरेका प्रमुख उपलब्धि र अनुभवको समीक्षा गरिने बताइएको छ ।

चीनको सत्तारुढ चिकपाअन्तर्गत सर्वोच्च निर्णायक निकाय दुई भागमा विभक्त छ : चिकपा राष्ट्रिय महाधिवेशन र महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समिति ।
चीनको राष्ट्रिय जनकाङ्ग्रेस र चिकपाको राष्ट्रिय महाधिवेशन फरक फरक हुन् । पार्टी महाधिवेशन हरेक पाँच वर्षको अन्तरालमा हुने गर्छ । महाधिवेशनमा पार्टीका क्षेत्रीय प्रतिनिधिहरू सहभागी हुन्छन् । महाधिवेशनले पार्टी र देश विकासको दिशा निर्देश गर्छ । चिकपाको नयाँ नेतृत्व निर्वाचित गर्छ । राजनीतिक सिद्धान्तको समीक्षा गर्छ र महत्वपूर्ण विषयमा निर्णय गर्छ ।

चिकपा केन्द्रीय समितिका महासचिवसमेत रहनुभएका चीनका राष्ट्रपति सी चिनफिङ सन् २०१२ को अन्त्यतिर भएको अठारौँ पार्टी महाधिवेशनबाट चिकपाको सर्वोच्च पदमा पुग्नुभएको थियो । त्यसयता देशको आर्थिक विकास र राष्ट्रिय रक्षालगायत अन्य क्षेत्रको नेतृत्व गर्ने समूहको अगुवाइ उहाँले नै गर्दै आउनुभएको छ ।
राष्ट्रिय महाधिवेशनकै अधिकार प्राप्त विस्तारित बैठक वर्षमा कम्तीमा एक पटक हुने गर्छ । विस्तारित बैठकमा चीनको राजनीतिक अवस्था र आर्थिक विकासलाई गहिराइमा दिशानिर्देश गर्छ ।

सन् १९२१ मा चिकपाको स्थापना यता हालसम्म उन्नाइसौँ केन्द्रीय समिति बनिसकेका छन् । विस्तारित बैठकको प्रावधान भने सन् १९९० दशकयता हँुदै आएको छ । सामान्यतः पाँच वर्षको कार्यकालमा सात वटा विस्तारित बैठक हुने गर्छ । हरेक विस्तारित बैठकमा फरक फरक विषय तय हुने गरेको छ ।
पहिलो विस्तारित बैठक नयाँ केन्द्रीय नेतृत्व चुन्नको लागि जिम्मेवार हुन्छ । दोस्रो विस्तारित बैठकले राज्य सरकारका नेतृत्वको लागि उम्मेदवारको सूची प्रस्ताव गर्छ । तेस्रो विस्तारित बैठकमा आर्थिक सुधार र विकासका महत्वपूर्ण निर्णय गर्ने गर्छ ।

चौथो विस्तारित बैठक पार्टी निर्माणमा सुधार गर्ने विषयमा केन्द्रित हुन्छ । पाँचौँ विस्तारित बैठकमा पञ्चवर्षीय योजनामार्फत चीनको सामाजिक र आर्थिक विकासमा केन्द्रित हुने गरेको छ । छैटौँ विस्तारित बैठकको खास विषय तोकिंदैन । सातौँ विस्तारित बैठकले अर्को पार्टी महाधिवेशनको लागि दस्तावेज तथा प्रक्रियाको तयारी गर्छ ।
उदाहरणको लागि सन् १९४९ मा सम्पन्न चिकपाको सातौँ केन्द्रीय समितिको दोस्रो विस्तारित बैठकले नयाँ चीनको प्रमुख नीति तय गरेको थियो । सन् १९७८ मा भएको चिकपाको एघारौँ केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकले चीनमा सुधार र खुलापनको नीति तय गरेको थियो ।

यो वर्षको विस्तारित बैठकको ऐतिहासिकता
यो वर्षको छैटौँ विस्तारित बैठक पार्टीका उपलब्धि र अनुभवमा केन्द्रित हुनेछ । महासचिव सीले पार्टीले स्थापनाको एक सय वर्ष मनाउँदै गर्दा चिकपाले एक सय वर्षको सङ्घर्ष र ७० वर्षको सरकार सञ्चालनको अनुभवको खानी हासिल गरेको बताउनुभयो ।

आत्मसमीक्षा गर्ने पार्टीको उच्च कदर गर्दै सीले चिकपा जीवन्त हुनुको कारण प्रभावकारी अनुगमन र पूर्ण तथा निर्मम आत्मसमीक्षा भएको बताउनुभयो ।
“त्यही भएर चिकपाले विभिन्न ऐतिहासिक कालखण्डका जोखिम र परीक्षालाई सही ढङ्गले पार गर्न सकेको हो । विश्वमा ठूलठूला आँधीबेहरी आए पनि त्यही भएर चिकपा अग्रमोर्चामा रहन सफल भएको हो”, सीले भन्नुभयो ।

बितेका एक सय वर्षमा चिकपाले ऐतिहासिक विषयमा सन् १९४५ र सन् १९८१ मा दुई पटक महत्वपूर्ण निर्णय गरेको थियो । दुवै पटक चिकपाले ऐतिहासिक घटना र व्यक्तित्वबारे मूल्याङ्कन गरेको थियो । त्यही सिङ्गो पार्टीको सहमतिको मूल्याङ्कनले पार्टी एकता बलियो बनाएको थियो ।
सोमबारबाट सुरु विस्तारित बैठक बिहीबारसम्म चालु रहनेछ ।