फूलबाट आश्रमका बृद्धाबृद्धहरुले कमाए वार्षिक पाँचलाख

बुटवल । मंगलबार बिहान ७ बजे ७० वर्षीय सन्त चित्रकार बारीमा फूल टिप्दै थिए । आफैँले फक्राएका फूल टिप्दै गर्दा उनी दङ्ग देखिन्थे । ‘‘फूल रोपेको अस्ति भर्खरजस्तो लाग्छ । कतिछिट्टै ढकमक्क भइसके । तिहार पनि लाग्यो,” चित्रकार सुनाउँदै थिए । 

नवजीवन परोकार समाजमा बस्ने वृद्धवृद्धाहरूले सामूहिक रूपमा गरेको फूलखेती यतिबेला ढकमक्क बनेको छ । नवजीवनको बारी मखमली र सयपत्री फूलले ढाकिएको छ । अहिले आफूहरूले फूलाएका फूल टिप्न व्यस्त छन्, ती वृद्धवृद्धाहरू । 

तारकेश्वर नगरपालिका–७ फुटुङस्थित नवजीवनको आश्रममा बसोबास गर्ने वृद्धवृद्धाहरूले केही महिना पहिले थाइल्यान्डबाट मगाइएको फूलको बिउ रोपेका थिए । ‘‘करिब तीन रोपनी जग्गामा फूल रोपेका थियौँ । थाइल्यान्डबाट मगाइएको फूल हो । वृद्धावृद्धाहरूले गाईको अर्गानिक मलको प्रयोग गरी उत्पादन गरेका हुन्,” नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले भने ।

अहिले फूल लगाइएको नवजीवनको बारी पहिले बाँझो थियो । वृद्धवृद्धाहरूले फूल खेती गर्न थालेको तीन वर्ष भयो । “तीन वर्षदेखि बाँझो बारीमा ढकमक्क फूल फूलाउन थालेका छौँ,” चित्रकारले फूल टिप्दै भने ।

 सन्त चित्रकारले आफू आश्रममा जाँदा आफूसँगै परेवालाई पनि आश्रममै लिएर गएका थिए । चित्रकार भन्छन्, ‘‘सानैदेखि परेवा पाल्दै हुर्केको हुँ । आश्रम आउँदा पनि यी परेवालाई छाडिँन । योसँगै आश्रममा अरू प्राणीहरू पनि रहेछन् । यीनीहरूसँगै रमाउन मन लाग्छ । खेतबारीमा गोडमेल गर्न खेतिसँग रमाउन मन लाग्छ ।”

नवजीवनमा गाई, कुकुर, खरायो, खसी, सुगा, कछुवा, माछा, टर्की पनि पालिएका छन् । अध्यक्ष दाहालले यी प्राणीहरूलाई बिरामी र बेवारिसे अवस्थामा फेला पारेर उद्धार गरेर ल्याएका हुन् ।

सन्त चित्रकारजस्तै अन्य २४ जना वृद्धावृद्धाहरू छन् । बाँझो हुँदा नराम्रो उजाड देखिएको बारी अहिले फूलले झकिझकाउ भएको छ । अध्यक्ष अध्यक्ष दाहालले वृद्धवृद्धाहरूले दैनिक पानी हाल्दै गोडमेल गर्दै ढकमक्क फूल फूलाएको बताए । ‘‘आजभोलि वृद्धवृद्धाहरूलाई फूल टिप्ने चटारो छ । यतिधेरै फूल फूलेको छ । अब फूल बेचेर आएको आम्दानीले आश्रम सञ्चालन तथा वृद्धवृद्धाको पालनपोषणमा खर्च हुन्छ,” दाहालले भने ।

उनकाअनुसार नवजीवनले वृद्धावृद्धाहरूले गरेको फूलखेतीबाट हरेक वर्ष चारदेखि पाँच लाखसम्मको आम्दानी गर्दै आएको छ । ‘‘वृद्धवद्धाहरू तिर्थयात्रा जाँदा, मठमन्दिरमा घुम्न जाँदा लगायतको काममा फूलको आम्दानी प्रयोग गरिन्छ,” दाहालले भने ।

आश्रमकी सक्रिय सदस्य शान्ति तिवारीले अब वृद्धवृद्धाले टिपेका फूल बिक्रिवितरणका लागि बजारसम्म लैजाने जानकारी दिइन् । ‘‘तिहारको बेलामा बारीभरि फूल फूलाइएको छ । फूलबाट आम्दानी केही हदसम्म आश्रम सञ्चालन गर्न मद्दत पुग्छ ।  आफैँले रोपेका फूल अहिले आफैँले टिप्न पाउँदा वृद्धवृद्धाहरू दंग छन,” उनले भनिन् ।

फूलखेतीसँगै वृद्धवृद्धाहरूले तरकारी र फलफूल खेती पनि गर्दै आएका छन् । नवजीवन परोपकार समाजले सहाराविहीन मानवसहित अन्य प्राणीहरूलाई पनि सहारा दिँदै आएको छ । 

बाह्रखरी/कविराज कार्की