महासचिव विप्लवद्धारा रुपन्देहीमा पार्टी कार्यकर्तासित भेटघाट

बुटवल । नेकपाका महासचिव विप्लवले रुपन्देहीको सैनामैनामा रहेका पार्टी कार्यकर्ता, सहिद तथा बेपत्ता परिवारजन र स्थानीय जनतासित भेटघाट गरेका छन् । 
शनिबार महासचिव विप्लवले पार्टी आन्तरिक प्रशिक्षणको सिलसिलामा रुपन्देही आएको बेला सहिद परिवार तथा स्थानीय जनतासित भेटघाट गरेका हुन् । 

महासचिव विप्लवले सहिद परिवारसित भेटघाटपछि संक्षिप्त मन्तव्य राख्दै महान सहिदहरुको अधुरा सपनाहरुलाई पुरा गरिछाड्ने बताएका छन् । महासचिव विप्लवले आफुहरुले क्रान्तिलाई नयाँ ढंगले पुरा गर्ने बताउँदै कुनै पनि हालतमा संसदीय पुँजीवादी व्यवस्थामा आत्मसमर्पण नगरिने बताएका छन् । उनले जनमत संग्रहको माध्यमद्धारा वैज्ञानिक समाजवादमा पुग्न सम्भव रहेको बताउदै त्यसले मात्रै जनताको अधुरा सपनाहरु पुरा गर्ने बताए । महासचिव विप्लवले भने, “संसदीय पुँजीवाद र वैज्ञानिक समाजवाद ? जनताले रोज्न पाउनुपर्छ ।” त्यसका लागी जनमत संग्रह अनिवार्य भएको बताउदै विप्लवले जनताको बलमा यो सम्भव भएको बताए ।   

भेटघाट कार्यक्रममा सहिद परिवारकी आमा तुलसा पाण्डे र स्थानीय जनताले फूलमाला लगाएर स्वागत गरेका थिए भने सैनामैनाका स्थानीय नेता कार्यकर्ता र जनताको उत्साहपूर्ण उपस्थिति रहेको थियो । 

भेटघाट कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज कृति, केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय सचिव असल, रुपन्देही सेक्रेटरी विश्वास, सैनामैना सेक्रेटरी बर्षालगायतको सहभागिता रहेको थियो ।