भौतिकवाद र आध्यात्मिकवाद बीचको संघर्ष

मार्क्सवाद वैज्ञानिक दर्शन हो, विज्ञानमा आधारित दर्शन हो ।

भौतिकवाद र आध्यात्मिकवाद बीचको संघर्ष

प्राचीन कालदेखि, खासगरी मानव–सभ्यताको थालनीदेखि नै मानिसको चिन्तनमा अध्यात्मवादी चिन्तन र भौतिकवादी चिन्तन देखाप¥यो र यी दुई विचारका बीचमा द्वन्द्व पनि सुरु भयो । अध्ययनको अर्थ हो आदिआत्मा । यो पृथ्वी जगत र ब्रह्माण्ड सुरु हुनुभन्दा पहिले, आदिकालमै आत्मा वा परमात्मा वा ईश्वरको अस्तित्व थियो र त्यसैबाट अरू सबैको उत्पति भयो भन्ने विचार नै अध्यात्मवादी चिन्तन थियो । यही अध्यात्मवादी फाँटभित्र विभिन्न आस्तिक चिन्तन पर्दछन् । आदर्शवाद यसैको एउटा प्रारुप थियो । आदर्शवादी र भौतिकवादी दार्शनिकबीच द्वन्द्व, सङ्घर्ष र गालीगलौजका कैयौँ उदाहरण छन्, जसको उल्लेख तल गरिनेछ ।

अध्यात्मवादको सबभन्दा कट्टर मतावलम्बीको रुपमा निस्केका चिन्तकहरूले भने, जगत र ब्रह्माण्ड मानव जीवन सबैको उत्पत्तिको कारक तत्व आदिआत्मा हो । त्यतिमात्रै होइन, उनीहरूले आदिआत्माबाहेक अरूको अस्तित्व नै छैन, अरू सबै झूट हो पनि भने । शङ््कराचार्यले ‘ब्रह्म सत्यम् जगत मिथ्या’ भनी प्रचार गरे, यस्तो विचार नमान्नेहरूविरुद्ध युद्ध नै घोषणा गरे । भारतमा मात्र होइन, नेपालभित्र पनि पसेर उनले बौद्ध भिक्षुहरूको आमहत्या गरेको इतिहास हाम्रो अगाडि छ ।
प्राचीन नेपालमा ईशाको छैटौँ शताब्दीमा लिच्छविकालमा अनुपरम भन्ने एक भारदार (लिच्छवी राजाका मन्त्री) द्वारा कान्तिपुरको हाँडीगाउँस्थित सत्यनारायण मन्दिरमा राखिएको र आजसम्म पनि रहेको एक शिलापत्रमा सुगत (बुद्ध) का अनुयायीहरू (बौद्ध धर्मावलम्बीहरू) लाई कुमति, मूर्ख, नास्तिक, कुतार्किक भन्दै गाली गरिएको छ । बुद्ध धर्म मूलभूतरुपमा अनात्म, अनीश्वर (आत्म र ईश्वर नमान्ने) भौतिकवादी दर्शन भएकोले अध्यात्मवादीहरूको कोपभाजनमा परेको हो ।

त्यसैगरी प्राचीनकालका प्रसिद्ध भौतिकवादी दार्शनिक चार्वाकका विचारलाई निन्दा गर्न हिन्दू दार्शनिकहरूले यावत् जीवेत् सुखम् जीवेत् ऋण कृत्वा धृतम् पिवेत् (जबसम्म बाँचिन्छ सुखले बाँच्नु, अर्कासित ऋण भए पनि घिउ खाएर मोज गर्नु) भन्ने अनैतिक विचार भनी वर्णन गरेका छन् । ती अध्यात्मवादीमध्ये कुनैले आत्म र ईश्वरबाहेक अरू सबै झूटा हुन्, भ्रम हुन् भने ‘माया’ मात्र हो भने, अस्तित्वहीन हो भने । कुनै अध्यात्मवादीले जगत र पदार्थको अस्तित्व माने पनि आदिआत्मा, परमात्माबाट निस्केको परमात्माको लीलामात्र हो भने ।

यसैगरी आदर्शवाद मान्नेहरूले विचार नै सबथोक हो, पदार्थको कुनै अर्थ छैन, भए पनि विचारमा आश्रित र विचारबाट निस्कने र बिलाउने वस्तु हो भने । यो अध्यात्मवाद र आदर्शवादविरुद्ध भौतिकवादलाई मान्नेहरूले पदार्थ नै सबथोक हो, जगत नै पदार्थ हो, त्यसैबाट सबथोक निस्कन्छ भने । यो दर्शन मान्नेहरूमध्ये केहीले ईश्वरको अस्तित्व नमानेर सीधै अनीश्वरवाद प्रचार गरे त केही ईश्वर र परमात्माबारे मौन रहे । प्रसिद्ध भौतिकवादीहरूमा प्राचीन कालका ग्रीसका अरिस्टोटल, भारतका चार्वक, नेपालकै कक्रुच्छन्द, कनक र सिद्धार्थ गौतमको नाम लिन सकिन्छ ।

प्रसङ्गवस यहाँनिर प्रसिद्ध विद्वान् केशरबहादुर केसीको एउटा भनाइ उल्लेख गर्नु उपयुक्त होला । उहाँले बताउनुभएअनुसार प्राचीन कालमा पूर्वी नेपालको सप्तकोसी क्षेत्रमा याज्ञवल्क्यका अनुयायी अध्यात्मवादी दार्शनिकहरू कौशिक ऋषिहरू निस्केका थिए, जो ब्राह्मणवादी कर्मकाण्डका यज्ञ पूजा आदि मान्ने गर्थे । पश्चिम नेपालको सप्तगण्डकी क्षेत्रमा भने कनकमुनि र कपिलमुनिजस्ता भौतिकवादका प्रकाण्ड विद्वान् र दार्शनिकहरूको उदय भएको थियो ।

भौतिक जगतको अलग्गै अस्तित्व छ ?
अध्यात्मवादीहरूको विचारअनुसार भौतिक जगत वा पदार्थको अलग अस्तित्वको त कुरै छाडौँ, अस्तित्व नै छैन, मिथ्या हो, भ्रम र भुलभुलैयामात्र हो । शङ्कराचार्यले सीधै भने, ‘ब्रह्म सत्यम् मिथ्या’ (ब्रम्ह वा ईश्वरमात्र सत्य हो, जगत त माया वा छायामात्र हो ।) अध्यात्मवादअनुसार जसरी हामी निदाउँदा सपनामा राम्रा राम्रा वस्तु रङ्गीचङ्गी दृश्य देख्छौँ, तर ब्युँझनेबित्तिकै सबै बिलाउँछन्, त्यसैगरी हामी बाँचुञ्जेल हाम्रो शरीरका इन्द्रियले वस्तुतः आत्माले संसार हाम्रो अगाडि देख्छ, तर मरिसकेपछि त्यसको केही अर्थ हुँदैन अर्थात् ‘सपनासरिको जीवन’ ।

यसको ठीकविपरीत भौतिकवादले आदिआत्मा र परमात्माको अस्तित्वलाई मान्दैन । मनको विषयमा पनि भौतिकतावादले फरक मत राख्छ । यसले मन भन्ने वस्तु भए पनि त्यसलाई भौतिक पदार्थबाटै उत्पत्ति हुने चिज भनी मान्दछ । मानव शरीरका ‘दस इन्द्रिय’मध्ये ज्ञानेन्द्रिय भनिने पाँच वटा इन्द्रिय आँखा, कान, नाक, जिब्रो र छालाले दृश्य शक्ति, श्रवण शक्ति, घ्राण शक्ति, स्वाद शक्ति र स्पर्श शक्तिबाट अर्थात् देख्ने, सुन्ने, सुँघ्ने, स्वाद लिने र छोएर थाहा पाउने शक्तिबाट बाह्य जगतबारे हामी थाहा पाउँछौँ । यी इन्द्रिय शक्तिले हामीले बाह्य जगतबारे जानेर आफ्नै पहलबाट थाहा पाउँछौँ । यसरी हामीले बाह्य जगत वा पदार्थबारे थाहा पाउँछौँ । तर, यो बाह्य जगत वा विश्व ब्रह्माण्डको स्वतन्त्र अस्तित्व छ, मानिसको अस्तित्व र चेतनामा निर्भर हुने होइन, तीभन्दा स्वाधीनरूपले जगत वा पदार्थको अस्तित्व हुन्छ । ‘जगत र पदार्थ केही पनि होइनन्, हाम्रो इन्द्रियले मात्र जान्ने वस्तु हुन्, मानिसको जीवनपछि केही रहँदैन’ भन्ने अध्यात्मवादीहरूलाई कक्रुच्छन्द, कनक र सिद्धार्थ गौतमका अनुयायीले मुखभरि जवाफ दिए । उनीहरूले भने, “मर्न त हामी मर्छाँै, तर मरे पनि जगत त रहिरहन्छ । तर, जगत रहेन भने तिमी पनि रहँदैनौ ।”

यही कुरालाई व्याख्या गर्दै एउटा प्रवचनमा भारतका प्रसिद्ध मार्क्सवादी चिन्तक शिवदास घोषले भन्नुभयो, ‘अहिले म यहाँ उभिएर बोल्दै छु, म यहाँबाट हिँडे पनि यो माइक्रोफोन, यो पानीको गिलास यहीँ रहिरहन्छन्, त्यहाँबाट नहटाएसम्म । अझ म जुन ठाउँमा बसी प्रवचन गरिरहेको छु, म मरे पनि यो ठाउँ यो संस्था रहिरहन्छ । त्यसैगरी यो भौतिक जगत हाम्रो अस्तित्व र हाम्रो चेतनामा निर्भर होइन, यसको स्वाधीन अस्तित्व छ, जगत मिथ्या, जगत माया, जगत भ्रम भन्ने धारणा गलत छ ।’

यसरी हामी देख्छौँ–भौतिक जगत वा भौतिक पदार्थ भन्ने कुरा मानिसको मन वा विचारमा निर्भर छैन, यसको स्वाधीन अस्तित्व छ । तर, यसको उल्टो बरु मन वा विचार नै भौतिक पदार्थमा निर्भर रहन्छ । पदार्थबाट अलग त्यसको अस्तित्व हुँदैन । मानिसको मन वा विचार भन्नु उसको मस्तिष्कको उपज हो । यो बाह्य जगतले जगतको पदार्थले मानिसका ज्ञानेन्द्रियको माध्यमबाट मानिसको मस्तिष्कमा हानिरहन्छ वा प्रक्षेपण गरिरहन्छ । मानव मस्तिष्कको विशेष गुण वा शक्तिबाट विचार निर्माण हुन्छ । सोच्ने, विश्लेषण गर्ने, बुझ्ने रुपान्तर गर्ने र प्रतिक्रिया दिने शक्तिद्वारा विचार निस्कन्छ । यसको अर्थ मानिसको विचार मस्तिष्कबाट निर्माण हुन्छ । अनि मस्तिष्क के हो त ? निश्चय पनि पदार्थबाट बनेको मानव शरीरको एक अङ्ग हो मस्तिष्क । मार्क्सको द्वन्द्वात्मक भौतिकवादको व्याख्या गरिएको प्रसिद्ध लेखमा स्तालिनले लेनिनको विचार भनी लेख्नुभयो, “मानव मस्तिष्क भौतिक पदार्थको सर्वाेच्च उत्पादन हो ।”

विज्ञान नै सत्य जान्ने साँचो
मानव सभ्यताको विकाससँगै मानिसले चिन्तन मनन गर्न थालेपछि मानव जीवन विषयमा आफू बसेको संसारबारे अझ यो सम्पूर्ण ब्रह्माण्डका विषयमा अर्थात् आकाशमा देखिने सूर्य, चन्द्र, तारा विषयमा पनि सोच्न थाल्यो । यी सबै विषयमा सत्य के हो जान्ने कौतुहल मानिसमा जाग्यो । प्राचीन काल र त्यसपछि आधुनिक कालमा पनि माक्र्सभन्दा पहिलेका दार्शनिकमा कसैले सत्य जान्न शास्त्र वा दैवी प्रेरणाबाट बनेको भनी आफूले ठानेको पवित्र ग्रन्थ अध्ययन गर्नुपर्छ भन्ने ठान्यो । यो विचारअनुसार बाइबल, कुरान, वेद, गीता आदि धर्मग्रन्थ अध्ययन गरेपछि अकाट्य सत्य थाहा हुन्छ भन्ने विश्वास गरियो । यस्तो धार्मिक आस्था नहुनेहरूमा पनि युरोपमा त्यस्ता विद्वान निस्के, जसले प्राचीन ग्रीसका अरिस्टोललगायत ठूलठूला विद्वानले ज्ञानका सबै फाँटमा ठूलठूला चमत्कार गरी सबै विषयमा सत्य पत्ता लगाइसकेका छन्, तसर्थ ती अग्रज विद्वानका कृति पढे सत्य जानिन्छ’ भन्ने विश्वास गरे । यसको मतलब धार्मिक ग्रन्थप्रति अन्धविश्वासको सट्टा प्राचीन ग्रीसका विद्वानहरूप्रति अन्धश्रद्धा र अन्धविश्वास राखे ।
यसरी धर्मग्रन्थमा वा पुराना शास्त्रमा वा कुनै विद्वानको भनाइमा अन्धभक्ति र अन्धआस्था राख्नुहुँदैन, आफैले के सत्य हो, के झूट हो सोचेर हेर्नुपर्छ भन्ने स्वतन्त्र चिन्तनका हिमायती दार्शनिक प्राचीनकालमा पनि निस्केका थिए । उदाहरणका लागि सिद्धार्थ गौतम (शाक्यमुनि) लाई लिन सकिन्छ । उहाँले भन्नुभयो, “शास्त्रमा लेखिएकोले सत्य हो वा कुनै ऋषिमुनिले भनेकाले सत्य हो वा गुरुले भनेकाले सत्य हो भन्ने ठान्नु अन्धविश्वास हो, यस्तो सोच्नु मूर्खता हो । आफैले सोचेर, विचार गरेर हेर्ने स्वतन्त्र चिन्तनको बानी बसाल । मैले भनेको कुरामा पनि आफैले हो–होइन नसोचिकन खुरुक्क विश्वास नगर्नू ।” यसप्रकार बुद्धले अन्धविश्वासको विरुद्ध स्वतन्त्र चिन्तनको आवाज दिनुभयो । यसको अर्थ अर्काको कुरामा आँखा चिम्लेर विश्वास नगर, आफैले सोच्ने शक्ति प्रयोग गर भन्ने थियो ।

माथि उल्लिखित दुबै प्रकारका सोचाइ अर्थात् पवित्र ग्रन्थमा लेखिएको कुरा वा कुनै पण्डित, प्रकाण्ड विद्वान वा गुरुले भनेको कुरालाई शिरोपर गर्ने धारणा होस् वा आफ्नै दिमागले आफैले सोच्ने स्वतन्त्र चिन्तन होस्, यी दुबै चिन्तनबाट मार्क्सवाद भिन्न छ । माक्र्सभन्दा पहिलेका सबै प्रकारका दर्शन वा दार्शनिकले मानिसको चिन्तन–शक्तिमा भर परे, कि त अर्काको चिन्तनमा भर परे । मानिसहरूले कि त अरुले सोचेर लेखेका ग्रन्थ र शास्त्रमा वा आफूले सम्मान गरेका गुरु, पण्डित, पुरोहित, ठूलाबडाले भनेका कुरामा भर परे वा आफैले स्वतन्त्र चिन्तन गरी आफूलाई लागेको कुरालाई सत्य ठाने । जे होस्, यी दुबै चिन्तनले मानिसको बुद्धि, दिमाग अर्थात् सोच्ने शक्तिलाई नै सत्य थाहा पाउने स्रोत माने ।

तर, विज्ञानले कुनै पनि भनाइ या कथनलाई व्यवहार र प्रयोगको कसीमा घोटेर नजाँचिकन सही नदेखिएसम्म सत्य भनेर मान्दैन । एउटा उदाहरण लिऔँ, पानी तताएपछि के हुन्छ ? यस्तो प्रश्न उठ्यो भने शास्त्र पल्टाएर हेर्ने होइन पानी तताएरै हेर्नुपर्दछ । पानीलाई आगोको वा कुनै उपकरणको तापमा तताउँदै जाँदा पहिले न्यानो हुँदै जान्छ, त्यसपछि तातो हुन्छ, झन्–झन् तातो हुँदै जान्छ र एउटा निश्चित तापक्रम अर्थात् सामान्यतः १०० डिग्री सेन्टिग्रेड पुगेपछि पानी उम्लिन्छ र बाफ भएर जान्छ । यो सत्यतथ्य हेरेरमात्रै विज्ञानले भन्छ–पानी तताएपछि उम्लेर बाफ बन्छ ।

यसरी हामी के भन्नसक्छौँ भने विज्ञान पनि एउटा ज्ञान हो, तर चिन्तन–मननबाट आउने ज्ञान होइन, व्यवहार र प्रयोगको कसीबाट पाइने ज्ञान हो । विज्ञानका लक्षणबारे एक–दुईवटा विशेषता जान्नु जरुरी छ । पहिलो कुरा यसको मूल सार वा प्रस्थापना (approach) धर्मको ठीकविपरीत छ । धर्मको सार र आधार नै विश्वास र आस्था हुन् । विभिन्न धर्मका धारणा अलग–अलग हुन्छन्, तर सबै धर्मका आफ्ना–आफ्ना आस्था हुन्छन् । तर, विज्ञानले भन्छ, कुनै चिजलाई पनि हो भनेर नमान हो–होइन जाँचेर हेर । यसप्रकार विज्ञानको प्रस्थानबिन्दु नै अनास्था वा सन्देह हो । महान् वैज्ञानिक जेबी एस हाल्डेनले आफ्नो (The Duty of Doubt) भन्ने प्रसिद्ध लेखमा विज्ञानको मूल कर्तव्य आस्था  होइन सन्देह  हो भनी जोड दिनुभएको छ ।

विज्ञानमा सत्य पत्ता लगाउने तरिकालाई तीनवटा क्रममा लिने गरिन्छ (क) प्रयोग (experiment) (ख) अवलोकन (observation) र (ग) निष्कर्ष (inference) । कुनै चिज वा प्रक्रिया प्रयोग गर्ने, त्यस्तो प्रयोगको अवलोकन गर्ने र त्यसको आधारमा निष्कर्ष निकाल्ने, यही तरिकालाई विज्ञानले सत्य मान्दछ । यस्तो प्रयोग एउटा होइन, कैयौँ वस्तुमा वा कैयौँ पटक प्रयोग गरी हेरेरमात्र एउटा धारणा बनाउनुपर्दछ । यसरी बनाइसकेको धारणा पनि कतै गलत हुनसक्छ कि भनी संशोधन गर्न सधँै तयार रहने खुला मन हुनुपर्दछ ।

प्रयोग, अवलोकन र निष्कर्षको प्रक्रियालाई एक होइन, तीन–चार वटा वस्तुको प्रयोगद्वारा सामान्यीकरण (generalissation)  गरी सत्य पहिचान गर्ने विज्ञानको तरिकाको एउटा उदाहरण प्रस्तुत गरौँ । सल्फ्युरिक एसिड H2So4 वा Sulphric acid मा तामा राखेर हे¥यौँ भने तामा एसिडमा गलेर बिलाएको देख्छौँ । यो उदाहरणमा एसिडमा तामा राख्ने कार्य प्रयोग भयो, अनि गलेको देख्नु अवलोकन (observation) भयो । तर, प्रयोग र अवलोकनपछि एकै पटक निष्कर्ष (inference) निकाल्नु हुँदैन ।
अब अर्को प्रयोग गरौँ । एसिडमा फलाम राखौँ, फलाम पनि गलेको देख्छौँ । त्यसैगरी सल्फ्युरिक एसिडमा जस्ता (Zinc) राखेर हेर्दा जस्ता पनि गल्दछ । यी तीनवटा सके अझ चार–पाँच वटा उदाहरण हेरेर सामान्यीकरणद्वारा निष्कर्ष निकाल्न सकिन्छ । सल्फ्युरिक एसिडमा धातु गलेर विलीन हुन्छ ।

तर, यो निष्कर्ष शत–प्रतिशत सही वा ठीक नहुन सक्छ । अब सल्फ्युरिक एसिडमा सुन राखेर हेरौँ, सुन त गल्दैन । सुन पनि त धातु हो । अनि हामीलाई भन्न कर लाग्छ, सल्फ्युरिक एसिडमा सबै धातु होइन, धेरैजसो धातु गलेर घोलिन्छ । प्रयोग वा व्यवहारको कसीमा अवलोकन गरी जाँचेर हेरी सत्य पत्ता लगाउने प्रक्रिया विज्ञानद्वारा सत्य जान्ने प्रक्रिया हो ।

सत्य जान्न विज्ञानको तरिका सबै क्षेत्रमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन ?
गैर–मार्क्सवादी दार्शनिकहरूले विज्ञान सत्य थाहा पाउने एउटा बाटो भए तापनि सत्य पत्ता लगाउन विज्ञान सबै क्षेत्रमा सक्षम हुँदैन भन्ने ठाने । उनीहरूले कुनै खास–खास क्षेत्रमा मात्र सत्य पहिल्याउन विज्ञानको प्रयोग हुनसक्छ भन्ने धारणा लिए । हाम्रो चारैतिर रहेको वा हाम्रोसामु रहेको विश्वलाई पूर्णरूपले जान्न विज्ञान सक्षम हुन सक्दैन भन्ने उनीहरूको धारणा हो । विज्ञानले जान्न नसकेका वा पुग्न नसकेका क्षेत्रको ज्ञान लिन व्यक्तित्व आत्मबोध चिन्तनशक्तिबाट मात्र सम्भव हुन्छ भन्ने उनीहरूको जिकिर छ । विज्ञानबाट अथवा मानिसको सामूहिक प्रयत्नबाट, अनुभव र व्यावहारिक प्रयोगबाट जान्न नसकिने कुरा मानिसको व्यक्तिगत चिन्तनबाट थाहा हुन्छ भन्ने अजीवको विश्वास उनीहरू गर्दथे ।

मार्क्सवाद विज्ञान हो
तर, मार्क्सवादले यस्तो अजीवको विश्वासलाई मान्दैन । हुन त समाजमा भइरहेका घटना र समाज विकासको प्रक्रियालाई कुनै भौतिक वस्तु वा पदार्थजस्तै सोझै प्रयोगशालामा लगेर जाँच्न सकिँदैन र पनि समाजमा भइरहेका घटना इतिहासको अवलोकन गरेर, व्यवहार र प्रयोगकै रूपमा हेर्न सकिन्छ । निश्चय पनि सत्यलाई जान्ने उपायका लागि एक व्यक्तिको चिन्तन–शक्तिभन्दा पनि कता हो कता बढी प्रभावकारी उपाय भनेको विज्ञान हो भन्ने मार्क्सवादको धारणा हो । तसर्थ, मार्क्सवाद वैज्ञानिक दर्शन हो, विज्ञानमा आधारित दर्शन हो । अरु दर्शनभन्दा मार्क्सवादको भिन्नता यही नै हो ।

यही कारण महान् मार्क्सवादी क्रान्तिबारे राजनीतिज्ञ लेनिनले मार्क्सवादका अङ्गहरूमध्ये एउटा समाजवादलाई ‘समाजवाद मात्र नभनी ‘वैज्ञानिक समाजवाद’ भन्नुभयो । वैज्ञानिक पनि भन्नुको अर्थ ‘विज्ञानमा आधारित अध्ययनबाट निस्केको निष्कर्ष’ भन्ने हो । यसबारे छलफल एउटा छुट्टै प्रकरणमा गरिनेछ ।

‘मानव – समाजको विकासबारे मार्क्सवादी दृष्टिकोण’ को अंश