दशैंमा देश छाडेर जानेहरु...!

‘मेरो छोराले दसैँको मुखमा मैजसरी विदेशिनु नपरोस्’

दशैंमा देश छाडेर जानेहरु...!

बुटवल । महोत्तरी रामगोपालपुरका २० वर्षीय सञ्जय दासलाई दसैँतिहारअघि कतार जान मनै थिएन । तर, भिसा लागिहाल्यो । कम्पनीले टिकट काटेर तुरुन्तै आइहाल्न भन्यो । १७ असोज आइतबार साँझ ६ बजे उनी हतारिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । यो समाचार शिलापत्र डटकममा नवराज कुँवर र कौशल काफ्लेले लेखेका छन् । 
उनीजस्तै विदेश जान लागेका अरू थुप्रैका घाँटीमा खादा, माला अनि निधारमा रातो टीका देखिन्थ्यो । उनीहरूलाई छोड्न आफन्तहरू पनि सँगै त्रिभुवन विमानस्थलमा आएका थिए ।
तर, सञ्जयको निधारमा कुनै टीका थिएन । घाँटीमा खादा वा माला पनि थिएन । उनलाई बिदाइ गर्नचाहिँ गाउँका दाइ सन्तोष आएका थिए । पीसीआर रिपोर्टमा छाप लगाउन लाइन बसेका सञ्जयले भने, ‘हामी दसैँभन्दा पनि तिहारमा खुब रमाइलो गर्थ्यौं । परिवारका सबै एक ठाउँ भइन्थ्यो । साथीभाइहरूसँग फिल्म हेर्न गइन्थ्यो ।’ सञ्जयले अबका केही तिहार विगतको सम्झनामै गुजार्नेछन् ।
यसरी चाडबाडको मुखैमा विदेशिनु उनको रहर पक्कै होइन । दाइ, दुई बहिनी, आमा र बुबा गरी ६ जनाको परिवार छ उनको । बुबाआमा दुवै दमका रोगी छन् । उनीहरूका हातगोडा कमजोर भएका छन् । आँखा धमिलिएका छन् । कान पनि कम सुन्छन् ।
दाजु काठमाडौंमा ज्यालादारी गर्छन् । तर, उनको कमाइले मात्र घर चलाउन मुस्किल छ । सञ्जय भन्छन्, ‘लाउन, खान त बनिबुतो गरेर भए पनि टारिएला । तर, दुई छोरीको बिहे गर्न सकिँदैन कि भन्ने चिन्ता आमाबुबालाई छ । म पनि मेरा बहिनीहरूले दुःख पाएको देख्न सक्दिनँ । त्यसैले ११ को पढाइ छोडेँ अनि यी... कतार हिँडे ।’

सुरुकै प्रयासमा भिसा लाग्दा मिलेको खुसी उनले मनाउन पाएनन्, जब दसैँअघि नै देश छोड्नुपर्ने सन्देश म्यानपावर कम्पनीले पठायो । भन्छन्, ‘भिसा नलागेको भए म गाउँमै हुन्थेँ, दसैँतिहार मनाउन पाउँथेँ । तर, मसँग दुःख पनि हुन्थ्यो, मेरा आमाबुबाको थाप्लोमा ऋण बढेको बढ्यै हुन्थ्यो । बहिनीहरूको बिजोग हुन्थ्यो’, सञ्जय भन्छन् ।
कतारमा गर्नुपर्ने कामलाई लिएर भने उनी प्रस्ट छैनन् । पासपोर्टमा लेबर भिसा लागेको तर दोहा पुगेपछि जेसीबी अपरेटरको काम मिलाइदिने आश्वासन म्यानपावरले दिएको उनले सुनाए । ‘अब जे पर्छ, हेरौँला’, उनले दृढता व्यक्त गरे । 
पीसीआर रिपोर्टमा छाप हानेपछि उनी टिकट जाँचतिर लम्किए । पछिपछि सन्तोष पनि गए । त्यहाँ लाइन थियो । दाजुभाइले एक सेल्फी लिए, हात मिलाए अनि अंकमाल गरेर छुट्टिए ।
केही अघिसम्म हाँसीखुसी बोलिरहेका सञ्जय एकाएक भावुक बने । आँखाभरि आँसु पार्दै दाइ फर्केको हेरिरहे । ‘भाइ छिटो गर, कहाँ बीचमा उभेको ?’, टिकट जाँचमा रहेका सुरक्षाकर्मीलाई सुनेपछि हतारहतार सञ्जयले हातको मास्कले आँसु पुछे । फेरि त्यो मास्क मुखमा लगाए अनि लगेज तान्दै भित्र छिरे । 

०००
गाउँलाई दसैँले छोपेको छ । कोदो फुल्दै छ । धान झुल्दै छ । पारिलो घाम र घरीघरी आउने चिसो सिरेटोले दसैँको माहौललाई झन् रमाइलो बनाइरहेको छ । पढ्ने, काम गर्ने सिलसिलामा विदेशिएका, शहर पसेका युवायुवती गाउँ फर्किन थालेका छन् । तर, पर्वत फलेवास थापाठाना–३ की पुनम क्षत्रीको मनमा पोहोरजस्तो उल्लास छैन । दसैँको छेकोमै भाइ सागरको भिसा झ¥यो । अघिल्लो साता उनका भाइ सागर कतार उडेका छन् । ’दसैँचाहिँ मनाएर जाने कुरा थियो । भिसा आइहाल्यो’, पुनमले सुनाइन्, ’भाइ नहुँदा हाम्रो घरमा दसैँ र तिहार नै खल्लो हुने भयो ।’ उनका अनुसार सागर नेपालमै सेना वा प्रहरीको जागिर खान चाहन्थे । ’तर, यसमा पनि सोर्सफोर्स चाहिन्छ । यता समय बर्बाद गर्नुभन्दा विदेश गइयो भने अलिअलि कमाइ हुन्छ भनेर हिँड्यो’, उनले भनिन्, ’चाडको बेला परिवारमा सन्नाटा छायो ।’

०००

उनीहरू त प्रतिनिधि पात्र मात्र हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दसैँको मुखमा देश छोड्नेहरूको लस्कर सानोतिनो छैन ।

असोज लागेयता कामका लागि विदेशिनेको संख्या चार हजार नाघिसकेको वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्कले देखाउँछ । यसरी विदेशिनेमा पुरुष ३ हजारभन्दा बढी छन् भने झण्डै एक हजार महिला छन् । १६ सय बढी नेपाली कतार गएका छन् । दुबई, साउदी, ओमान, बहराइन, जापान, साइप्रस, कुवेत, मलेसिया, रोमानिया, माल्दिभ्स, क्रोएसियालगायतका देश जाने नेपालीको घुइँचो विमानस्थलमा देख्न सकिन्छ । अघिल्लो वर्ष कोरोनाका कारण यस्तो संख्या कम थियो । त्यसअघिका वर्षहरूमा त दैनिक हजारभन्दा बढी युवा दसैँको मुखमा विदेशिने गरेका वैदेशिक रोजगार विभागका अधिकारी बताउँछन् ।  

समाजशास्त्री दीपेश घिमिरेका अनुसार हाम्रो अस्थायी बसाइँसराइँको इतिहास हेर्दा पनि कुनै नौजवान कामका लागि देशभित्रै र बाहिर जाने तर दसैँको अवसरमा केही लुगाफाटो, खानेकुरा अनि पैसा बोकेर आफ्नै घर फर्किने गरेको देखिन्छ । दसैँ र तिहार बहुसंख्यक नेपालीहरूको महान् चाड हो । आफन्तहरू जमघट हुनु, ठूलाले सानालाई टीका लगाएर आशीर्वाद दिनु, मीठोमसिनो खाँदै रमाइलो गर्नु यो पर्वको खास विशेषता हो । यसपछि आउने तिहार गाउँटोलमा देउसीभैलो खेल्ने, नाचगान गर्ने, दाजुभाइले दिदीबहिनीको हातबाट सप्रेम टीका लगाउने अर्को उल्लासको पर्व हो । तर, यिनै महत्त्वपूर्ण पर्वको मुखैमा दैनिक सयौँ युवा कामको खोजीमा विदेशिइरहेका छन् ।

पेसा, व्यवसाय गर्दै काठमाडौंसहितका विभिन्न शहरमा बस्नेहरू दसैँका लागि गाउँ फर्किन थालेका छन् । विदेशमा हुनेहरू पनि छुट्टी मिलाएर दसैँ मनाउन काठमाडौं ओर्लिइरहेका छन् । तर, चाडबाडको मुखमा भर्खरै विवाह गरेका युवकदेखि मसिना केटाकेटीका बुबाआमासम्म विदेशिइरहेको टिठलाग्दो दृश्य विमानस्थलमा देख्न सकिन्छ । विदेशिनेको लर्काेमाझ विमानस्थलमा कतिपयका आफन्तबीच रुवाबासी नै हुने गरेको छ । सीमातिर दसैँ भुलेर भारत छिर्नेहरू पनि थुप्रै हुन्छन् ।

समाजशास्त्री घिमिरे यसलाई दुई तरिकाले अर्थ्याउँछन् । पहिलो, यसले नेपाली समाजमा आएको सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणको संकेत गर्छ । नागरिकको अवस्था, चेतना तथा बुझाइमा आएको परिवर्तनलाई देखाउँछ । यो एउटा सामाजिक परिवर्तनको द्योतक हो । ’अब समाजमा रहेका सम्बन्धहरूमा परिवर्तन आएको छ । यस्तो परिवर्तनबाट के बुझ्न सकिन्छ भने, आशीर्वादले आफ्नो समृद्धि सम्भव छ वा भाग्य निर्माण गर्छ भन्नेमा युवापुस्ता विश्वस्त छैन । बरू केही अवसर पाइहाल्यो भने त्यो अवसर छोप्न चाहन्छ’, उनी भन्छन् । 

दोस्रो, यसले देशमा रोजगारीका अवसरहरू अत्यन्तै कम भएको र सरकारले ल्याएका रोजगारीका कार्यक्रमहरूप्रति युवाको विकर्षण बुझाउँछ । देशभित्र रहेर आफ्नो आर्थिक उपार्जन गर्न नसक्ने ठानेर ठूलो संख्यामा युवाहरू कामको खोजीमा देश छोडिरहेका छन् । चाडबाड मात्र नभएर अरू बेला पनि, हरेक दिन सयौँको संख्यामा युवाहरू बाहिरिनुले आन्तरिक रोजगारीको कुरुप चित्रलाई उजागर गरेको समाजशास्त्री घिमिरेको तर्क छ । देशमा कलकारखाना उद्योग, धन्दा खुल्नुको साटो बन्द भएका छन् । आर्थिक उपार्जनका लागि केही अवसर नदेखेपछि युवाहरू आफ्ना मनका रहर र चाहनालाई गाँठो पारेर विदेशिरहेका छन् । 

हुन त, वैदेशिक रोजगारीले आर्थिक अवसर, गरिबी निवारण, विप्रेषण र राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पु¥याएको छ । तर, यो नेपाली युवाको बाध्यता र कष्टपछि मिलेको उपलब्धि भएको रोजगारविज्ञहरू बताउँछन् । 

रोजगारविज्ञ डा. गणेश गुरुङ भन्छन्, ’दसैँ आउनुअघि बिरानो देश जाने रहर कसलाई हुन्छ होला र ? तर, अब बाध्यताका बीच पनि नेपालीहरू रमाउन थालेका छन् भनेर बुझ्नुपर्छ ।’ 

समाजशास्त्रीसमेत रहेका उनी दसैँ मान्ने तौरतरिकामा थुप्रै परिवर्तहरू देखा परेको बताउँछन् । ’पहिला भेटघाट गरेर दसैँ मान्नुपर्छ भन्ने थियो । अहिले प्रविधिको युगले सँगै नभएर पनि दसैँ मनाउने सुविधा दिएको छ । प्रविधिको प्रयोग गरेर पनि दसैँ मनाउन थालिएको छ । यद्यपि, यो बाध्यता नै हो, जुन राज्यको कमजोरीका कारण सिर्जित हो,’ उनी भन्छन् ।

शिलापत्रको सम्पादित रिपोर्ट