तीन बुँदेमा राज्य गम्भीर नभए जनतामा जान्छौं : सुदर्शन

दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’ले नेकपा दाङको तेस्रो जिल्ला बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै आफूहरु अदालतको आदेशमा छुटेको बताए । नेता सुदर्शनले भने, ‘केपी ओली नेतृत्वको सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि सरकार इमानदार भएन, हामी अदालतको आदेशमा छुट्यौं ।’ उनले तीन बुँदे सहमतिप्रति राज्य गम्भीर नभए आफूहरु जनतामा जाने उद्घोष गरेका थिए ।

नेता सुदर्शनले संसदीय व्यवस्थामा प्रजातन्त्र भ्रम मात्रै रहेको तर्क गरे । वास्तविक प्रजातान्त्रिक मूल्य मान्यताहरुको रक्षा र प्रयोग वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा हुने सुदर्शनको जिकिर थियो ।

एक फरक प्रसंगमा नेता सुदर्शनले निजी सम्पत्तीको अन्त्य गरि सामूहिक सम्पत्तिको विकास गर्दै वैज्ञानिक समाजवादको अनवरत यात्रामा अविचलित दौड्न आग्रह गरे । उनले वैज्ञानिक समाजवाद साम्यवादको प्रारम्भिक रुप भएको बताए । पार्टीले नेपालमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत विविध समस्याहरुको समाधानको विकल्पको रुपमा जनमतसंग्रहको एजेन्डा अघि सारेको नेता सुदर्शनको भनाइ थियो ।

पुँजीवादी संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनतालाई व्यवस्था चुन्ने अधिकारको माग गर्दा आफूहरुमाथि सच्चा लोकतन्त्रवादी ठान्नेहरुले अनेक भ्रम छरेको र जनतालाई सचेत रहन सुदर्शनले अपिल गरेका थिए । लोकतन्त्रको उच्चतम रुप जनमत भएकाले व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुपर्ने नेता सुदर्शनको धारणा थियो ।