वैज्ञानिक समाजवादले मात्र जातीय उत्पीडनको अन्त्य गर्छ : मगर 

बुटवल । मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय महासचिव इन्द्रबहादुर घर्ती मगरले दलाल संसदीय व्यवस्थाबाट वर्गिय/जातीय उत्पीडनको अन्त्य सम्भव नरहेको भन्दै त्यसको अन्त्य वैज्ञानिक समाजवादले गर्ने बताएका छन् ।

आइतबार मगर मुक्ति मोर्चा नेपाल रुपन्देहीको प्रथम भेलामा घर्ती मगरले मगर समुदायको बारेमा संक्षिप्त व्याख्या र विश्लेषण गर्दै उत्पीडित मगर समुदायको वैज्ञानिक समाधान वैज्ञानिक समाजवादी राज्यसत्ताले मात्र दिने बताए । उनले मगर समुदायमा प्रचलित खराब प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपर्ने र निमित्यान्न पार्नुपर्ने धारणा व्यक्त गरेका थिए । नेपाल एकीकरण र दश वर्षे जनयुद्धको समयमा मगर समुदायले ठूलो बलिदानी खेप्नुपरेको बताउँदै उनले राज्यले मगर भाषाको संरक्षण र सम्बोधन नगरेको बताए ।

घर्ती मगरले वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणको लागि व्यापक र गहन छलफल, अन्तक्रिया, बहस गरेर वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताए ।