जनमत सङ्ग्रहद्वारा व्यवस्थाबारे छिनोफानो जनताले गर्नेछन् : विश्वास 

जनमत सङ्ग्रहद्वारा व्यवस्थाबारे छिनोफानो जनताले गर्नेछन् : विश्वास 

बुटवल । नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले दलाल पुँजीवादी संसदीय व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्थाबारे फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने र त्यसको छिनोफानो जनमत सङ्ग्रहद्वारा नेपाली श्रमिक जनताले गर्ने बताएका छन् ।

आइतबार नेकपा निकट मगर मुक्ति मोर्चा नेपाल जिल्ला समिति रुपन्देहीको प्रथम भेलालाई सम्बोधन गर्दै विश्वासले दश वर्षे जनयुद्धमा मगर समुदायले ठूलो मात्रामा बलिदान गरेको इतिहास साक्षी रहेको तर त्यो इतिहासलाई दलालहरूले बेचेर खाएको बताए । उनले मगर जातिभित्र उत्पीडनमा परेका समुदाय, श्रमिक जनता एकताबद्ध भएर वर्तमान दलाल संसदीय व्यवस्थाविरुद्ध कठोर संघर्ष गर्नुपर्ने बताए । 

विश्वासले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षा, भ्रष्टाचारी, कालोबजारी गर्ने दलाल र माफियाहरूलाई कारबाही गर्दा राज्यले आफ्नो पार्टीमाथि दुई वर्ष प्रतिबन्ध लगाएको आरोप लगाए । उनले त्यो प्रतिबन्ध नेपाली श्रमिक जनता र नागरिकको हितविरुद्ध रहेकोे बताउँदै एउटा नयाँ परिस्थितिमा राज्यसँग तीन बुँदे सहमति पश्चात् नयाँ एजेण्डा र कार्यक्रमका साथ जनताको माँझ आएको बताए । उनले आफ्नो पार्टीले विकास गरेको नयाँ कार्यनीतिको बारेमा स्पष्ट पारेका थिए । विश्वासले सडक र विद्युत परियोजनाको नाउँमा अमेरिकाले नेपालमा जर्बरजस्त एमसीसी ल्याउन खोजेको बताउँदै त्यसको विरुद्ध आफ्नो पार्टीले काठमाडौंमा बृहत जनप्रदर्शन गरेको समेत बताए । उनले इतिहासले नेपाली श्रमिक जनताको काँधमा महत्वपूर्ण जिम्मेवारी सुम्पिदिएको र त्यसको उपयोग वैज्ञानिक ढंगले गर्नुपर्ने बताए । उनले आफूहरू बलिदान गर्न तयार रहेको तर क्रान्तिको कार्यभार पुरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।