क्रान्ति आवेगमा होइन, विवेक र योजनामा बढ्छ : विप्लव

वार्ता अधिक लालायित र अधिक त्रसित हुने विषय होइन ।

क्रान्ति आवेगमा होइन, विवेक र योजनामा बढ्छ : विप्लव

(सरकारले यतिखेर नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । सयौं नेता कार्यकर्ता जेल हिरासतमा रहेका छन् । नेकपाले दलाल पुँजीवादी व्यवस्था फालेर श्रमिक जनताको नयाँ वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा सहित अहिले संघर्ष गरिरहेको छ । तर कोरोना भाइरसको महामारीका कारण देश संकटमा परिरहेको कारण संघर्षलाई तेजबोध गर्न नसकिरहेको नेकपाले बताएको छ । भर्खरै राज्यको तीव्र दमन, धरपकड र गिरफ्तारका वावजुद नेकपाले देशभर ७ औं पार्टी पुनर्गठन दिवस मनाएको छ । नेकपाका महासचिव विप्लवसँग देशको पछिल्लो समसामयिक राजनीतिक परिस्थिति, पार्टीको अवस्थाका बारेमा गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः)

तपाईहरुले भर्खरै मङ्सिर ८ गते देशभर पार्टी पुनर्गठन दिवसलाई उत्सवको रुपमा मनाउनु भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा यसको महत्व के छ ?

हामीले भर्खरै पार्टीको ७ औं पुनर्गठन दिवस देशभर उत्सवको रुपमा मनाएका छौं । दिवसमा हज्जारौं नेता, कार्यकर्ता, सहिद, वेपत्ता, घाइते योद्धा, जनमुक्ति सेना र श्रमिक जनताले उत्साहपूर्वक भाग लिएका छन् । इतिहासमा कुनै दिन विशेष महत्वका हुन्छन् । समाजलाई नयाँ जग हालिदिन्छन्, ढोका खोलिदिन्छन् र मार्गनिर्देशन गर्छन् । मङ्सिर ८ नेपाली कम्युनिस्ट आन्दोलनका लागि त्यस्तै महत्व राख्ने ऐतिहासिक दिन हो । यसले ढाल्न थालिएको कम्युनिस्ट क्रान्तिको झण्डालाई खोसेर उँचो पार्यो । निराशामा डुब्न थालेको आन्दोलनलाई प्राण भर्यो । श्रमिक जनता र कम्युनिस्टहरूलाई आमूल परिवर्तन र वैज्ञानिक समाजवाद–साम्यवादतिरको विश्वास बचाइदियो । जीवन दिने दिनको महत्व कति हुन्छ, त्यति यसको महत्व छ । 

पछिल्लो समय राष्ट्रियताको बिषय असाध्यै संवेदनशील बनिरहेको छ । एमसीसी प्रकरण, बिआरआई, नयाँ नक्सा र भारतीय खुफिया संस्था रअका प्रमुख सामन्तकुमार गोयलसित प्रधानमन्त्री वली लगायत संसदीय नेताहरुको गोप्य भेट आदिको चौतर्फी विरोध भइरहेको छ । पछिल्ला यी घटनाक्रमहरुलाई कसरी हेरिरहनु भएको छ ?

दलाल पूँजीवादको दुःख नै यसको अनिश्चयता र सङ्कट हो । परनिर्भर जीवनमा बाँच्नुपर्ने भएकोले यसलाई जतिखेर जसले पनि नचाउने, खेलाउने र भोगगर्ने समस्या बनिरहन्छ । राज्य व्यवस्था जति अस्थिर बन्छ, त्यति बाह्य तत्वहरु छिर्न भ्याउँछन् । जति सङ्कट पैदा हुन्छ, त्यति हस्तक्षेप बढाउँछन् । अहिले त्यसै भइरहेको छ । अव त कर्मचारीलाई तलब खुवाउन पनि विदेशीले अनुदान या ऋण दिनुपर्ने अवस्था आउन सक्छ ! अनि कसरी देश माथि जान्छ ? 

अहिले सरकारप्रति जनआक्रोश तीव्र छ । सत्ताबाहिर रहेका वाम घटकहरुले खासगरी पार्टीका मोर्चा तथा विद्यार्थी संगठनहरुले सरकारको विरुद्ध विरोध गरिरहेका छन् । यी आक्रोश र असन्तुष्टिहरुलाई जनक्रान्तिमा बदल्न सकिने सम्भावना कत्तिको छ ?

एकदमै सही कुरा हो कि देशको अस्थिरता, अराजकता र सङ्कटले क्रान्तिको आवश्यकता माग गर्छ । ऐतिहासिक नियमले भन्छ–आज जनताको असन्तुष्टि, युवा विद्यार्थीहरूको सङ्घर्ष र सारा विरोधहरू भित्र क्रान्ति हुर्किरहेको छ । त्यसले जव आफ्नो मासमहिना पुरा गर्नेछ, क्रान्तिले अवश्य जन्म लिनेछ । 

ओली सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको २ बर्ष पुरा हुँदैछ । अहिले नेकपामाथि सरकारले दमन गरिरहेको छ । प्रतिबन्धपछि नेकपाको सङ्घर्षका कार्यक्रमहरू प्रभावकारी हुन सकेनन् भन्ने टिप्पणीप्रति यहाँको धारणा के छ ?

यो सही होइन, हामी क्रान्तिको गति जनताले नभेट्ने र नदेख्ने मोड पर नपुगोस् भन्नेमा सचेत छौं । क्रान्ति आवेगको अपेक्षामा होइन, विवेक र सचेतताको योजनामा बढ्छ । सत्ता र शासकहरू अन्धो दमनमा उत्रिन्छन् । त्यसैले उनीहरु समाप्त हुन्छन् । 

सरकारले छिटपुट रूपमा तपाईको पार्टीसित बार्ताको हल्ला समेत चलाइरहेको छ । यसबारे पार्टीको धारणा के छ ?

अहिलेसम्म सरकार आधिकारिक रूपले वार्ताबारे बोलेको छैन । हामीले आफ्नो धारणा प्रष्ट पारेका छौं । यो जनता र राष्ट्रको हितसँग जोडिएको गम्भीर विषय हो । वार्ता अधिक लालायित र अधिक त्रसित हुने विषय होइन ।   

यहाँहरुले पार्टीभित्र शुद्धीकरण अभियान समेत चलाइरहनु भएको छ । पार्टी शुद्धीकरण सैद्धान्तिक बिषय पनि हो । अहिले नेकपामा शुद्धीकरण अभियान किन आवश्यक भयो ?

हो, पार्टीमा शुद्धीकरण अभियान चलेको छ । तपाईले भन्नुभएजस्तै यो केवल सङ्गठनात्मक विषय मात्र नभएर सैद्धान्तिक विषय पनि हो । यसको अर्थ हो–पार्टी वस्तु भएकोले यसलाई वेला पुगेपछि होसियारीपूर्वक सफा र स्वस्थ बनाउँदै जानुपर्छ । बालीनालीलाई गोडमेल गरेजस्तो गर्नुपर्छ । अर्को अर्थमा आफुलाई रूपान्तरण गर्दै अरुलाई पनि रूपान्तरण गर्दै जानुपर्छ । 

हामी एकीकृत जनक्रान्तिमा प्रवेश गरेपछि यसलाई बुझ्ने, पकड्ने र कार्यान्वयन गर्नेमा केही वैचारिक, राजनैतिक र सांस्कृतिक समस्याहरू देखा परे ।  पूर्वजका केही गुण नवजातमा देखिने डार्बिनको जीव सिद्धान्त अनुसारका चरित्रहरू देखिन खोजे । हामीले बढो संयमतापूर्वक तर दृढताका साथ तिनलाई रूपान्तरण गर्नेतिर बढाएका छौं । यसलाई एउटै अभियानमा पुरा गरिहालिन्छ भन्दा पनि निरन्तर गर्दै जानुपर्छ । किनकी पार्टीको अवस्था स्वस्थ नभएसम्म क्रान्ति हाँक्न र पुरा गर्न सकिदैन । 

शुद्धीकरणले पार्टीभित्र र बाहिर तरङ्ग दियो, कस्तो परिणाम निस्केको देख्नुहुन्छ ? 

सही भन्नु भयो, केही नयाँ तरङ्गहरू पैदा भए । शुद्धीकरण अभियान हाम्रो पार्टीले चलाएको भएपनि यो आम नागरिकसँग जोडिएको विषय हो । जव पार्टी जनताको आवश्यकता, जीवन र भविष्यसँग जोडिन्छ, तव असल पार्टी बनाउने बिषय जनताकै सरोकार बन्न पुग्छ । 

शुद्धीकरण चल्दै गर्दा पार्टी रूपान्तरित बन्दै गएको छ । जनताले जीवन ठान्ने र जीवन दिने पार्टी बनाउनै पर्छ । यो अवश्य बन्छ भन्ने विश्वास छ ।   

अहिले क्रान्तिकारीहरु बीच एकता र ध्रुविकरण कुन स्थितिमा पुगेको छ ? अनि यसबारेमा पार्टीले के सोचिरहेको छ ?

राष्ट्रघात, भ्रष्टाचार, महङ्गी, महिला र दलितहरू माथिका दमन विरुद्ध कार्यगत एकता प्रभावकारी बन्दै गएको छ । २२ दलीय मोर्चा सडकमा छ । क्रान्तिकारीहरू बीचको संयुक्त मोर्चा र एकताका विषयमा महत्वपूर्ण छलफलहरू भएका छन् । देशलाई आमूल परिवर्तनकारी विकल्प दिनुपर्छ भन्नेमा सबैको एकमत छ । आउँदा दिनमा परिणामहरू देखिदै जानेछन् ।

सरकारी नेकपाभित्रको तिक्ततापूर्ण सङ्घर्षपछि कैयौं नेता कार्यकर्ताहरूले खुलेरै तपाईको नेतृत्वको नेकपाबारे सकारात्मक धारणा राख्दै आएका छन् । उनीहरूसँगको छलफल र धु्रवीकरणबारे केही सोँच्नु भएको छ ? उनीहरू आउन चाहे भने क्षमता अनुसारको जिम्मा दिन सक्नु हुन्छ ? 

विज्ञान अनुसार कुनै वस्तु विघटन हुन्छ भने अर्कोतिर सङ्घटन भइरहेको छ । विनाश हुँदा निर्माण भइरहेको हुन्छ । क्षयीकरण हुँदा धु्रवीकरण हुन्छ । 

जहाँ सङ्घटन, विकास र जीवन हुन्छ, त्यहाँ एकताबद्ध बन्ने कुरा आवश्यक, उचित र अनिवार्य हुन्छ । इमान्दार कम्युनिस्टहरू जहाँ भएपनि हामीले आफ्नो कार्यभार ठानेर यो कार्य पुरा गर्नुपर्छ । क्रान्तिलाई पुरा गर्न तयार हुने कुनै पनि कमरेड बराबर हैसियत हुन्छन् । यसमा कुनै शङ्का गर्न जरुरी छैन । 

केही पाका पुराना कम्युनिस्ट व्यक्तित्व, बुद्धिजीवी, कलाकारहरुले नेकपालाई लगाएको प्रतिबन्ध विरुद्ध सङ्घर्ष गरिरहेको देखिन्छ, साथै सहकार्य पनि गर्न खोजेको पाईन्छ । यसबारे केही बताउनुस् न ?

यो ज्यादै खुसी र उत्साहको विषय हो । यो वैचारिक, राजनैतिक विषय मात्र नभएर भावनाको विषय पनि बनेको छ हाम्रो लागि । कुनै दिन पुरानो सत्ताका विरुद्ध एउटै मोर्चामा बन्दुक लिएर लडेका साथी आज क्रान्तिको पक्षमा उभिएका कारण हामीलाई समाप्त पार्नुपर्छ भन्दै हिँडेका छन् । तर हिजोदेखि विभिन्न क्षेत्रमा आफ्नै क्षमताले उच्च प्रतिष्ठा बनाएका मित्रहरुले हाम्रो रक्षाका लागि खुलेर जोखिम मोल्नु भएको छ । यो विश्वासलाई टुट्न नदिन कुन स्तरबाट सहकार्य गर्न सकिन्छ हामी तयार नै छौं ।  

आजको विश्व साम्राज्यवादको भुमण्डलीकृत अवस्थामा छ । साम्राज्यवाद विरोधी विश्व समाजवादी आन्दोलनको शिविर कमजोर छ । यस्तो अवस्थामा तपाईहरू क्रान्ति अगाडी बढाइरहनु भएको छ । अन्तर्राष्ट्रिय भाइचाराहरुसितको सम्बन्ध कस्तो छ ? के अन्तर्राष्ट्रिय सहयोगबिना नेपालमा क्रान्ति सम्भव छ ?

समाजवादी शिविर कमजोर छ भन्ने तर्क सम्पूर्ण क्षेत्रबाट हेर्यो भने सही हुँदैन । स्तालिन, माओ, फिडेल, किम, हो ची मिन्ह हुँदाको स्थितिबाट हेर्दा त्यस्तो देखिन सक्छ तर आज पनि विश्वको मुख्य वैचारिक, राजनैतिक सङ्घर्ष भूमण्डलीकृत पूँजीवाद र वैज्ञानिक समाजवाद–साम्यवादकै बीचमा छ । 

जहाँसम्म कम्युनिस्ट अन्तराष्ट्रियको सवाल छ, त्यो श्रमिक वर्गीय अपेक्षा र क्रान्तिको आवश्यकताको स्तरमा सुदृढ छैन । तर विभिन्न रूपमा त्यसका प्रयत्न भइरहेका छन् । हाम्रो पार्टीले पनि कम्युनिस्ट अन्तराष्ट्रलाई संगठनात्मक रूप दिन प्रयत्न गरिरहेको छ । क्रान्तिकारी आन्दोलनको विकासले यसलाई सहज बनाउँदै जाने विश्वास छ । 

अर्को विषय नेपालमा क्रान्तिका लागि निश्चय नै अन्तराष्ट्रिय सहयोगको खाँचो पर्छ तर निर्णायक नै त्यो होइन । नेपाली क्रान्तिको निर्णायक पक्ष भनेको नेपाली श्रमिक जनता, क्रान्तिका मित्रशक्ति र नेपाल कम्युनिष्ट पार्टी बीचको एकता र यसको वस्तुवादी योजना हो । यसमा निकै राम्रो अनुकूलता विकास भएको छ । 

विश्व कम्युनिस्ट आन्दोलनका दुई शीर्ष नेताहरु कमरेड माओत्सेतुङ र कमरेड स्टालिनको जन्मजयन्ती दिवस नजिकिदै छ । यस दिवसको महत्वबारे संक्षिप्तमा बताइदिनु हुन्छ कि ?

हो केही समयमै यी दुई कम्युनिस्ट विचारक, नेता र कमरेडहरूको जन्म दिवस आउँदै छन् । 

कमरेड स्टालिनको मुख्य योगदान पहिलो समाजवादी देशमा माक्र्सवाद, लेनिनवाद र वैज्ञानिक समाजवादको रक्षा बन्यो । पूँजीवादीहरुको तारो बनेको वैज्ञानिक समाजवाद र कम्युनिस्टहरूलाई धुलो पार्छु भनेर रूस छिरेको फासिष्ट हिटलर समाजवाद र कम्युनिस्टहरूकै कारण धुलो चाट्नु पर्यो । ‘मै हुँ’ भनेर कुम उचाल्दै हिँडेको पूँजीवादी दुनियाँ आर्थिक मन्दीमा फस्दा रूस निरन्तर उच्च विन्दुतिर लम्क्यो । 

कमरेड माओको योगदान पहिलो समाजवादी देश रूसमा गद्दार खु्रश्चोभले प्रतिक्रान्ति लादेपछि वैज्ञानिक समाजवादको रक्षा गर्न विकास गरेको निरन्तर क्रान्तिको सिद्धान्त हो । जो चीनमा प्रयोग हुँदा महान सर्वहारा सांस्कृतिक क्रान्तिको रूपमा देखा पर्यो । 

आज नेपालको कम्युनिस्ट आन्दोलन रूस र चीनका दुवै समस्यामा परिरहेको छ । हाम्रो सन्दर्भमा स्टालिनको स्मरण भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको रक्षा र क्रान्तिको बचाउ हो । माओको स्मरणको सम्बन्ध विचलनबाट क्रान्ति बचाउन निरन्तर क्रान्तिको सिद्धान्तको अनुसरण गर्नु हो । हाम्रो निम्ति एकीकृत जनक्रान्तिलाई सफल पार्नु सर्वाधिक कार्यभार हो ।  

०००