जातीय विभेद गर्ने घरबेटी पक्राउ 

बुटवल । इमेज टेलिभिजनबाट प्रसारण हुने उकाली ओराली कार्यक्रमकी प्रस्तोता अर्थात् सञ्चारकर्मी रुपा सुनारलाई कोठा खोज्नेक्रममा जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौको बबरमहलस्थित कोठा खोज्न पुगेकी सुनारलाई घरबेटी सरस्वती प्रधानले भाडामा बस्न सहमती दिएकी तर पछि थर थाहा पाएपछि कोठा दिन अस्विकार गरी जातीय विभेद गरेका कारण उनलाई प्रहरीले पक्राउ गरेको हो ।

राजधानी काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधान विरुद्ध सुनारले उजुरी गरेकी थिइन् ।

प्रहरीवृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटी विरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

रूपा भन्छिन्, ‘सबै कुरा मिलेपछि जातको कुरा आउँदा घरबेटीलाई मैले कामीकी छोरी हुँ भनेकी थिए । त्यसपछि भने घरबेटीले कोठा दिन अस्विकार गरिन् ।’
रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो । त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ ।