अखिल (क्रान्तिकारी) को २२ राष्ट्रिय सम्मेलन पोखरामा हुँदै

बुटवल । नेकपाको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन असोज ६ गते पोखरामा सुरु हुन गइरहेको छ । सम्मेलनको उद्घाटन नेकपाका महासचिव विप्लवले गर्ने (अखिल क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले बताएका छन् । 

सम्मेलनले “वैज्ञानिक समाजवादी व्यवस्थाका लागी एकीकृत जनक्रान्ति हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागी २२ औं राष्ट्रिय सम्मेलन” नारा तय गरेको छ । 
सम्मेलनको भोली अर्थात् असोज ६ गते बुधबार दिउँसो १२ बजे उद्घाटन पोखराको चिप्लेढुंगामा हुने र असोज ७ र ८ गते बन्दसत्र लेकसाइडमा हुने कोषाध्यक्ष विकले बताए । उनले सम्मेलनमा देशभरबाट ४ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी हुने र सम्मेलनपूर्व पोखरामा बृहद प्रदर्शन हुने समेत बताए । 

सम्मेलनमा केन्द्रीय समितिको तर्फबाट अध्यक्ष चिरञ्जीवी ढकालले राजनीतिक प्रतिवेदन र महासचिव प्रकाश शाहीले सांगठनिक तथा विधान प्रतिबेदन प्रस्तुत गर्ने केन्द्रीय केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक बिरेन्द्र विकले बताए । 

प्रतिवेदनमाथि सम्मेलनमा सहभागिता प्रतिनिधि पर्यवेक्षकहरुले छलफल गरी पारित गर्ने संगठनका केन्द्रीय सदस्य रूपा बुढा मगरले बताइन् । उनले सम्मेलनबारे संगठनको आयोजनामा आज (मंगलबार) दिउँसो २ बजे पोखरामा पत्रकार सम्मेलन गरिने समेत बताईन् । सम्मेलनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ । संगठनले सम्मेलन उद्घाटनको अवसरमा केन्द्रीय मुखपत्र “कम्युनिस्ट बिद्यार्थी”को सार्वजनिकीकरण गर्ने समेत बताइएको छ ।

संगठनले सम्मेलनपूर्व पोखराको मूल सडक, बजार क्षेत्र र विभिन्न चोक एवं बिद्यालय तथा क्याम्पस क्षेत्रहरुमा सम्मेलनका नेकपाका महासचिव विप्लवको फोटोसहितका नारा एवं पोस्टरहरुले रङ्गाएको छ ।