कुमार पौडेल हत्याप्रकरण : गृहमन्त्रीदेखि सुटरसम्मलाई अनुसन्धान गर्न सर्वोच्चको आदेश

दोषीलाई कारवाही नभएको भन्दै पौडेलकी आमा सर्वोच्चमा

कुमार पौडेल हत्याप्रकरण : गृहमन्त्रीदेखि सुटरसम्मलाई अनुसन्धान गर्न सर्वोच्चको आदेश


मंसिर १३, बुटवल । ०७६ साल असार ५ गते सर्लाहीमा प्रहरीद्धारा हत्या गरिएको राष्ट्रिय मानवअधिकार आयोगले ठहर गरेर संलग्न दोषीमाथि कार्बाही सिफारीस गरे पनि कार्बाही नभएको भन्दै कुमार पौडेलकी आमा दुर्गादेवी पौडेल सर्वोच्च पुगेकी छन् । उनले जिल्ला प्रहरी कार्यलय सर्लाहीले जाहेरी नलिएको र सरकारी वकिलको कार्यलयले समेत नलिए पछि हुलाकमार्फतm दिएको किटानी जाहेरीमा समेत कुनै अनुसन्धान र कार्बाही प्रकृया अघि नबढाएको भन्दै हुलाकमार्फत पठाएको निवेदन आज सर्वोच्च अदालतमा आईपुगेको स्रोतले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यलय र जिल्ला प्रहरी कार्यलय सर्लाहीमा हुलाक मार्फत तात्कालीन प्रमुख जिल्ला अधिकारी,तात्कालीन एसपी गोपाल भट्टराई सहित १० जना बिरुद्ध ७६ माघ २४ गते हुलाकमार्फत जाहेरी दिएको निवेदनमा उल्लेख छ । षड्यन्त्रमुलक तरीकाले निहत्था अवस्थामा पक्राउ गरी गोली हानेर हत्या गरिएको र आफूहरुले न्याय नपाएको भन्दै यस मुद्धामा अनुसन्धान अघि बढाउन परमादेशको माग निवेदनमा गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले समेत हत्यामा संलग्नहरुमाथि कार्बाही गर्न र अनुसन्धान गर्न सिफारीस गरेको थियो । ७६ साल कार्तिक ४ गते राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरेको थियो । ०७६ साल असार ५ गते दिँउसो करीब १ बजेतिर सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित लखन्देही जंगल नजिक पर्ने नवलपुरबाट हिरापुर जाने कच्ची सडकमा बाँसघारी मुनि कब्जामा लिएरु हत्या गरिएको पौडेलकी आमाले पेश गरेको निवेदनमा उल्लेख छ । निवेदनसगैँ पेश भएको जाहेरीमा कर्तव्य ज्यान मुद्धा दर्ता नगर्न आदेश दिने, पीडकलाई बचाउ गर्न लाग्ने पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहितमाथि पनि छानविन गर्न माग गरिएको छ ।

को को बिरुद्ध छ किटानी जाहेरी ?

पौडेल हत्या प्रकरणमा मुख्य १० जनाको नामै किटेर उजुरी गरिएको छ । जस अनुसार तात्कालिन जिल्ला प्रमुख अधिकारी कृष्ण बहादुर राउत, तात्कालीन सर्लाही प्रहरी प्रमुख गोपाल भट्टराई,प्रदेश २ का तात्कालिन डिआईजी हरी बहादुर पाल, लालबन्दी ईलाकाका तात्कालिन ईन्सपेक्टर किरण प्रसाद न्यौपाने,प्रहरी नायव निरीक्षक सुर्य कुमार कार्की, जिल्ला सरकारी अस्पताल मलंगवामा कार्यरत डा. वीरेन्द्र कुमार मण्डल, तात्कालीन प्रहरी महानिरीक्षकले खटाएर गएका रानीपोखरीमा कार्यरत हवल्दारद्धय सत्यनारायण मिश्र र विनोद शाह र मुख्य सुटर ईन्सपेक्टर कृष्णदेव प्रसाद शाह,सर्लाही वागमति नगरपालिकाका मेयर भरत कुमार थापा समेत नाम किटान भएका दश जना र घटनाको प्रमाण र अभिव्क्तिका आधारमा अन्य दोषीमाथि कर्तव्य ज्यान मुद्धामा अनुसन्धान गर्न माग गरिएको छ । गृहमन्त्री राम बहादुर थापाले संसदमा पौडेल ईन्काउन्टरमा मारिएको बताएका थिए भने तात्कालिन महानिरीक्षक खनालले पनि ईन्काउन्टरमा मारिएको बताउदै दोषी प्रहरीलाई जोगाउन खोजेको आरोप लाग्दै आौएको छ ।

विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाए पछि धरपकड र नियन्त्रणमा लिने क्रममा प्रहरीको गोलीबाट सर्लाहीका कुमार पौडेल, भोजपुरका तीर्थ घिमिरे र निर कुमार राईको ज्यान गएको छ । त्यस मध्य पौडेलको हत्याप्रकरणको भने राष्ट्रिय मानव अधिकार आयोगले छानविन गरेर प्रतिवेदन सार्वजनिक गरी कार्बाहीको लागि सिफारीस गरेको थियो ।