तारा श्रीष मगर : संगीतमा राम्रो गर्ने संकल्प

बुटवल । तारा श्रीष मगर ‘द भ्वाइस अफ नेपाल’ को ग्रान्ड फिनालीमा प्रवेश गर्ने एकमात्र पहिलो फिमेल गायिका हुन् । जब तारा भ्वाइस अफ नेपालको स्टेजमा प्रस्तुत हुन थालिन्, उनले सोचेकी थिइनन्, यात्रा ग्रान्ड फिनालीसम्म पुग्छ भनेर । उनको सङ्गीतमा निरन्तर साधना र मिहिनेतले ब्याटल, नकआउट, लाइभ राउन्ड हुँदै उनी फाइनल राउन्डमा पुगिन् । त्यसमाथि भ्वाइस अफ नेपालको फाइनलमा पुग्ने पहिलो फिमेल गायिका बन्न पुगिन् । यसले उनलाई थप खुसी र हौसला मिल्यो ।

स्रोता एवं दर्शकको निकै माया पाएको तारा बताउँछिन् । उनी भन्छिन्, ‘मैले सोचेकी थिइन, यति धेरै दर्शक–स्रोताहरूले मेरो स्वरलाई मन पराउनुहुन्छ भनेर, माया गर्नुहुन्छ भनेर । भ्वाइसबाट मैले नसोचेको नाम पाएकी छु । त्यति धेरै गीत गाउँदा नपाएको चर्चा भ्वाइसको स्टेजबाट पाए । एकदमै खुसी छु । यस अगाडिको यात्राबारे थाहा छैन । तर यहाँसम्म आइपुगेकोमा निकै सन्तुष्ट छु । सङ्गीतमा नयाँ र राम्रो गर्ने सङ्कल्प छ ।’ उनी भन्छिन्– ‘प्यारालाइसिसबाट थलिएका बुबा निकै खुसी हुनुहुन्छ । बुबाको इच्छा पूरा गर्न भ्वाइसमा आएँ, राम्रो भयो । उहाँ खुसी हुनुहुन्छ ।’

मगर समुदायका विभिन्न संस्कृति बोकेका गीतहरूको प्रस्तुतिले उनलाई दर्शक स्रोताहरूको माया झन् मिल्यो । उनी भ्वाइसको विजेता बन्न नसके पनि सङ्गीतमा नयाँ गर्ने सङ्कल्प राखेकी छिन् । उनले भ्वाइस अफ नेपालको ग्रान्ड फिनालीसम्म पुर्याउन सहयोग गर्ने सबै दर्शक स्रोताहरूको माया साङ्गीतिक यात्राको बलियो आधार स्तम्भ बन्ने विश्वास व्यक्त गरेकी छिन् ।