नेकपाद्वारा सामाजिक विकृतिका विरुद्ध हस्ताक्षर संकलन

गणेश एसके । कञ्चनपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुर अन्तरर्गत भिमदत्त नगर समितिले सामाजिक विकृति र विसङ्गतिका विरुद्ध जनजागरण तथा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

सो उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भिमदत्त नगर इन्चार्ज डम्मर विष्टले समुदायमा चोरी, डकैती, जुवातास, हत्या, हिंसा, बलात्कार, घुसखोरी, भ्रष्टाचार, कमिसन जस्ता तमाम समस्याहरू जल्दोबल्दो रूपमा देखा परेको र जसको कारण यो दलाल संसदीय व्यवस्था रहेको बताए । उनले यस्ता विकृति र विसङ्गतिका विरुद्ध आफ्नो पार्टी सदैव निर्मम तरिकाले संघर्ष गर्दै आएको स्मरण गराउँदै अबको दिनमा पनि यसलाई नियन्त्रण गर्न लागि पर्ने बताए । उनले यस प्रकारका सम्पूर्ण समस्याको हल वैज्ञानिक समाजवादले दिने बताए । उनले वैज्ञानिक समाजवादका लागि जनमत तयार गर्न र जनतासँगको समूधुर जनसम्बन्ध निर्माणमा लाग्न निर्देश गरे ।

नगर सचिव दीपेन्द्र ऐरीले समाजमा सामाजिक विकृति र विसङ्गतिहरू एकदमै तीब्र रुपमा भएको हावी भएको र यसलाई नियन्त्रण गर्न नगर कमिटीले महत्वपूर्ण भूमिका खेल्ने बताए । नगरका सबै वडाहरुमा अभियान टोलीले जनचेतनामूलक रचनात्मक कार्यक्रम सहित हस्ताक्षर संकलन गर्ने योजना रहेको उनले बताए । सो सङ्कलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बुझाउने योजना रहेको उनले बताए । 

नगर सचिव दीपेन्द्र ऐरीको अध्यक्षता र सञ्चालनमा भएको सो कार्यक्रममा कञ्चनपुर जिल्ला कार्यलय सचिव भुवन कुँवर, अखिल (क्रान्तिकारी) सेती महकाली ब्युरो संयोजक विरेन्द्र शाह, विभाग प्रमुख राम भट्ट लगायतका नेता तथा कार्यकर्ताहरुको उत्साहपूर्ण सहभागिता रहेको बताइएको छ ।