युवा संगठन नेपाल घोराही नगरको बैठक सम्पन्न 

हेमन्त वली । दाङ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत घोराही नगर कमिटीको बैठक सोमबार सम्पन्न भएको छ ।

संगठनका केन्द्रीय संयोजक पाटनको प्रमुख आतिथ्यमा बसेको बैठकमा संगठनका केन्द्रीय सदस्य तिलक, संगठनका दाङ जिल्ला इन्चार्ज मनोज, नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य महानको विशेष उपस्थिति रहेको थियो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले जनता र राष्ट्रको मुक्तिका लागि युवाहरु सधैं बलिदान दिन तयार हुनुपर्ने धारणा राखे । संयोजक पाटनले साम्राज्यवादले पटक–पटक नेपालको राष्ट्रियतामाथि गम्भीर प्रहार गरिरहेको र नागरिकको हत्या गर्ने जस्ता अमानवीय हिंस्रक गतिविधिको घोर निन्दा गरे । उनले भने, ‘भारतीय साम्राज्यवादले बारम्बार प्रहार गरिरहेको छ, नेपालका नेताहरु साम्राज्यवादका दास बनेका छन् ।’

नेता पाटनले संसदीय व्यवस्था रहेसम्म साम्राज्यवादी अतिक्रमण, दमन, शोषण, जनघात, राष्ट्रघात भइरहने बताए । उनले सबै युवाहरुलाई वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको लागि एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध गराउन संगठन केन्द्रीत रहन आग्रह गरे ।

जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने एजेन्डाका विरुद्धमा उभिने लुटेरा शक्तिहरुसँग संघर्ष गर्न नेता पाटनको अपिल थियो ।

बैठकले नगरमा अन्तक्रिया, प्रशिक्षण संचालन गर्ने, क्रान्तिकारी, देशभक्त, प्रगतिशील युवाहरुको ध्रुवीकरणलाई व्यापक गर्ने, संगठनका वडा भेला÷सम्मेलन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ । बैठकले २७ सदस्यीय नगर कमिटी पनि चयन गरेको बताइएको छ ।

बैठकको संचालन तथा अध्यक्षता युवा संगठन नेपाल घोराही नगर इन्चार्ज पदमले गरेका थिए ।