तारा श्रीष मगर : विगत र संघर्षको संक्षिप्त कथा 

तारा श्रीस मगर पुँजीवादी संस्कृतिका गीतहरूको बीचमा मौलिक संस्कृतिका गीतहरू प्रस्तुत गरी द भ्वाइस अफ नेपाल सिजन–३ को ग्रान्ड फिनालीमा प्रवेश गर्ने एकमात्र फिमेल गायिका हुन् । अर्थात् उनी एक मौलिक संस्कृतिकर्मी पनि हुन्, पुँजीवादी संस्कृतिका गीतहरूको हावी भइरहेको अवस्थामा र पुँजीवादी संस्कृतिका गीतहरूको ठूलो जमातमा मौलिक संस्कृतिका गीतहरूको प्रस्तुतीबाट पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा उदाहरण हुन् । 

बाबा बुद्धीमान श्रीष र आमा माया श्रीषको कोखबाट वि.स २०४८ असार २३ गते हालको बाग्लुङ जिल्लाको जयन्ती गाउँपालिका वडा नं. ९ केउइखानीमा जन्मेकी तारा श्रीष मगरको कथा निक्कै लामो र संघर्षपूर्ण छ, तथापी हामी यहाँ छोटकरीमा उनको केही संघर्षको कथाहरु समेट्न चाहन्छौँ :

सानैबाट गीत गाउन रुचाउने तारा अलि कति कम बोल्ने र लजालु स्वभावको हुनाले ताराले गाउँछ भन्दा कसैलाई पनि पत्यार नलाग्ने गरेको उनले बताउँछिन् । तर आफू ९ कक्षा पढ्दै गर्दा बाबा प्यारालाइसिस रोगबाट ग्रसित भएपछि उनको परिवारको आर्थिक अवस्था निक्कै दैनिय भएको उनले बताउछिन् । ९ कक्षा पढ्ने उमेरबाटै गीत गाएकी ताराले गीत गाएर कमाएको पैसाले +२ गरिने साथै घरको आर्थिक अवस्था निक्कै कमजोर भएकोले आफ्नो भाईहरुलाई समेत गीत गायरै पढाएको उनी बताउँछिन् ।

वि.स. २०६५/६६ बाट पोखराको ओपल हाउस गजल साँझमा काम गर्न सुरु गरिन्, साथै केही समयपछि फेवा दोहोरी साँझमा आधुनिक गायिकाको रुपमा काम गरिन् । नेपाल टेलिभिजनबाट प्रसारित (भोइस अफ टिन) मा टप १९ सम्म आइपुग्न सफल तारा पोखरामा आयोजित बिग आइकनको टप –४ सम्म पुगेकी थिइन् ।

आफ्नो साङ्गीतिक यात्रा र भविष्यलाई थप सुन्दर, सुनौलो र सफल बनाउने उद्धेश्यले २०७१ सालमा काठमाडौं पाइला टेकेकी ताराले ठमेलस्थित गामबेशी दोहोरी साँझबाट पुनः आफ्नो संघर्ष सुरु गरिन् । करिब १ बर्ष सम्म गामवेशी दोहोरी साँझमा काम गरेकी तारा एक दिन गेष्टको रुपमा मालिङो गजलमा पुगिन्, संगै जाने साथि भाइको करकापमै गेष्टकै रुपमा गीत गाएकी ताराको स्वर राम्रो मानेपछि साहुले त्यही काम गर्ने अफर गरे र ताराले मालिङो गजलमा करिब ४ बर्ष गीत गाइन् । यसैबीच विभिन्न मान्छेहरुले उनको स्वर मन पारेर गीतहरु रेकर्ड गर्न अफर गरे, हाल सम्म नेपाली, मगर, गुरुङ, तामाङ र हिन्दी भाषा गरि करिब ५ सय वटा भन्दा बढी गीतमा उनले स्वर भरी सकेकी छिन् ।

चलचित्र शिरफुलको भिरैमाथी भिरफुल, रोधिघरको आगन (कौराहा), रैया बुमोले (मगर गीत), खाएछकी कलेजो (सालैजो), झोर्ले साली ज्यु (मगर गीत ) लगायत दर्जनौं गीत अत्यन्तै चर्चामा छन् । गीत संगीतकै शिलशिलामा यु.के, जापान, हङकङ, कतार कोरिया लगायतको देशमा पुगेकी गायिका तारा हाल चलिरहेको द भोइस अफ नेपाल सिजन –३ मा टिम राजुबाट टप– ४ अर्थात् ग्रान्ड फिलनालीमा प्रवेश गर्ने एक मात्र महिला कलाकार हुन् । उनले शनिबार हुने भ्वाइसको गा्रन्ड फिनालीका लागि आफ्नो सम्पूर्ण सुभचिन्तक, सुभेच्छुक र सपोटरहरुलाई सक्दो धेरै भन्दा धेरै भोटको लागि अपिल गरेकी छिन् । 

आधुनिक, पप, लोक सबै खालको गीतहरुलाई उतिकै न्याय दिएर गाउने भएकोले पनि तारा श्रीष मगर सबैको रोजाइमा परेकी छिन् र सबैजनाले ताराको लागि भोटको अपिल गरेको विभिन्न सामाजिक संजालहरुमा देख्न पाइन्छ । 

नेपाल मगर संघले पनि ‘तारा श्रीस जिताऔं अभियान’ मा साथ दिन अपिल गरेको छ । उनी मगर समुदायबाट भ्वाइसको प्रतिनिधित्व गरेकी छिन् । उनले मगर संस्कृतिका गीतहरू पनि निरन्तर गाउँदै आएकी छिन् ।