नेकपा दाङद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

हेमन्त वली । दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको लमही नगरपालिका–३ जखेरा, टिकुलीगढस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्ने अति विपन्न रुकमान चौधरी परिवारको आवास निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको छ । शुक्रबार आवास हस्तान्तरण कार्यक्रमको आयोजना गरि चौधरी परिवारलाई घर हस्तान्तरण गरिएको हो। 

आवास हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले पार्टी निरन्तर निर्माण, जनसेवा र श्रमदानमा जुटिरहेको बताए । उनले नेपालको संसदवादी राजनीतिमा असहाय, गरिब, सुकुम्बासी लगायत सबै नागरिकहरुप्रति राज्यको  दृष्टिकोण ठिक नभएको बताए ।

इन्चार्ज शितलले विगतमा सुकुम्बासी बस्तीलाई जबर्जस्त नियन्त्रणमा लिन खोजेको बेला आफ्नो पार्टी र स्थानीय जनताको बलमा बस्ती जोगाएको स्मरण गर्दै बस्तीले वर्ग संघर्षको पहिचान बोकेको बताए ।

एक अर्को प्रसंगमा नेता शितलले आफ्नो पार्टी नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक समस्याहरुको समाधान संवाद र छलफलद्वारा समाधान गर्न तयार रहेको बताए । जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिन नेता शितलले माग गरे । उनले भने, ‘व्यक्ति र सासंद पटक–पटक छान्याँै, एकपटक व्यवस्था छान्ने अधिकार जनतालाइ दिउँ ।’ इन्चार्ज शितलले संसदीय व्यवस्था कि बैज्ञानिक समाजवाद भन्ने बिसयमा जनमतसंग्रह भए जनताको अत्याधिक मत बैज्ञानिक समाजवादको पक्षमा हुने बिश्वास ब्यक्त गरे।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला विशेष कमिटी सदस्य तथा कार्यक्रमका अतिथि समेत रहेका नेता बिक्रमले वैज्ञानिक समाजवादको पक्षमा जनलहर बढिरहेको बताए । उनले निकट भविष्यमै नेपालमा नेपाली जनताको आफ्नै शासन, वैदेशिक हस्तक्षेप मुक्त, स्वतन्त्र, शान्त, समृद्ध, स्वाधिन मुलुकको परिकल्पना साकार हुने बताए ।

नेकपा दाङ जिल्ला कमिटी सदस्य उज्ज्वलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा दाङ जिल्ला सल्लाहकार कमिटी सदस्य तथा स्थानिय अगुवा सौनी र मधुसूदनले शुभकामना मन्तव्य राखेका थिए ।

आवास हस्तान्तरण कार्यक्रममा नगद तथा जिन्सी सहयोग गर्ने सहयोगीहरुलाई नेकपा दाङले सम्मान पत्रसहित सम्मान गरेको छ ।

कार्यक्रममा धन्यवाद मन्तव्य अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा राप्ती समन्वय समिती संयोजक डिल्लीले राखेका थिए । 

नेकपा लमही नगर इन्चार्ज जनकले संचालन गरेको कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला सेक्रेटरी प्रदीपले गरेका थिए ।

विपन्न चौधरी परिवारको घर निर्माण जिल्लाका व्यापारी, समाजसेवी, विभिन्न सामाजिक व्यक्तित्वहरुको नगद तथा जिन्सी सहयोगमा र नेकपा दाङका नेता–कार्यकर्ताको श्रमदानमा सम्पन्न भएको हो ।