निशानको सामाजिक पञ्चेबाजा गीति सङ्ग्रह सार्वजनिक 

बुटवल । प्रगतिशील गायक तथा सर्जक एनबी विक पटेल ‘निशान’ को सामाजिक पञ्चेबाजा ‘परदेशी मन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘हाइलाइट्स नेपाल’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा शब्द, संगीत र स्वर एनबी विक पटेलको रहेको छ । 

परदेशमा रहेका नेपाली युवाहरूको मनोभावनालाई उजागर गरिएको सो गीतमा एरेन्ज चर्तित गायक सौगात सायरले गरेका छन् । गीतको छायाङ्कन तथा निर्देशन पंकी सुरज र सम्पादन सागर महतले गरेका छन् ।  जनकलाकार आत्मा पौडेल, संगीता सुनार, रेसम सर्बुजा, विनिता चन्द लगायतले गीतको भिडियोमा नृत्य गरेका छन् । उक्त भिडियोमा मन विश्वकर्मा र कुलचन्द्र विक पटेलले अभिनय गरेका छन् । 

डिग्री पास गरे पनि नेपाली युवाहरूको हातमा केही सीप नभएको र देशमा रोजगारीको व्यवस्था पनि नभएका कारण पासपोर्ट लिएर विदेशिन बाध्य हुनुपर्ने भावनालाई उक्त गीतमा समेटिएको छ ।  प्रदेश जानका लागि घरबारी बन्धक राख्नुपर्ने, राखेर ऋृण लिनुपर्ने र दुख गरेर कमाएको पैसा घरमा पठाउँदा राज्यले रेमिट्यान्स काट्ने जस्ता विवशतालाई गीतमार्फत प्रस्तुत गरिएकोे छ । 

दलाली र भ्रष्टाचारले देश खोक्रो बनेको र युवा शक्ति विदेशिदा छिमेकीले सीमाना मिच्ने गरेको राष्ट्रिय समस्यालाई गीतमा सरल तरिकाले प्रस्तुत गरिएको छ । गीतमा जनताको व्यवस्था ल्याउनका निम्ति युवाको अठोट समेत झल्किएको छ । त्यसैगरी एनबी विक पटेलको अर्को प्रगतिशील सालैजो ‘धर्ती फुलाउने किसान’ पनि केही दिनमा सार्वजनिक हुने बताइएको छ ।