एनबी विक ‘निशान’को जातीय विभेद विरुद्धको गीत सार्वजनिक

बुटवल । दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य, प्रगतिशील गायक तथा सर्जक एनबी विक ‘निशान’को जातीय विभेद विरुद्धको गीत ‘घिनलाग्दो विभेद’ को म्युजिक भिडियो सार्वजनिक भएको छ  ।

काठमाण्डौँमा रुपा सुनारले डेरा नपाएर दलित समुदाय र अधिकारकर्मीहरु आन्दोलित भईरहेको समयमा निशानले जातीय विभेद विरुद्धको गीत सार्वजनिक गरेको बताए । 

उक्त गीतको भिडियो ‘हाइलाइट्स नेपाल’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा शब्द–स्वर प्रगतिशिल गायक एनबी विक पटेल र संगीत सङ्गीतकार आरोह नेपालीको रहेको छ । 

विभेदयुक्त नेपाली समाजलाई उजागर गरिएको सो गीतको एरेन्ज चर्चित गायक सौगात सायरले गरेका छन् । गीतको छायाङ्कन तथा निर्देशन पंकी सुरज र सम्पादन सागर महतले गरेका छन् भने जनकलाकार आत्मा पौडेल, संगीता सुनार, दिपेन्द्र पाण्डे, विनिता चन्द साथै बाल कलाकार स्पन्दन विक र प्रीन्स कौसल लगायतले गीतको भिडियोमा नृत्य गरेका छन् । उक्त भिडियोमा कुलचन्द्र विक पटेल, मिना विक, स्मृति सुनार, हिरा परियार, अर्जुननर सिंह खनाल लगायतले अभिनय गरेका छन् । 

गीतमा दलित समुदायले भोग्नुपरेका समसामयिक विभेदका विषयहरु सरल तरिकाले प्रस्तुत गरिएको छ । धारा छुँदा, अन्तरजातीय प्रेम–विवाह गर्दा ज्यान गुमाउनु परेका साथै बजारमा दलितले डेरा समेत नपाउने विषय उल्लेख गरिएको छ । गीतमा नेपाली समाजमा विद्यमान छुवाछूतको संस्कारलाई घिनलाग्दो विभेदको संज्ञा दिंदै विज्ञानको दुनियाँमा हाम्रो नेपाली समाज जात व्यवस्था मै अल्झिरहेकोले यसको अन्त्यको लागि सबै जाति, वर्ग एकजुट हुनुपर्ने जस्ता भावहरूलाई प्रस्तुत गरिएको छ ।