नेकपा अछामद्वारा सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान उद्घाटन

नेकपा अछामद्वारा सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान उद्घाटन

कुमार क्षेत्री । अछाम । नेपाल कम्युनिस्ट पार्टी अछामले सोमबार सुदृढ जनसम्बन्ध तथा सङ्गठन विस्तार अभियानको उद्घाटन गरेको छ । उक्त अभियान ढकारी गाउँपालिका इन्चार्ज रमेश बिसि ‘समिर’ को अध्यक्षतामा सान्दर्भिक ढंगले सम्पन्न भएको बताइएको छ । 

कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला कार्यलय सचिव लोकेन्द्र शाही ‘प्रज्वलन’ को उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सोहि पालिका सचिव दर्शन नेपालीले गरेका थिए । अतिथिमा युवा सङ्गठन नेपाल अछामका जिल्ला सचिव तथा कमलबजार नगरपालिका सचिव कमरेड कुमार क्षेत्री, दलित मुक्ति मोर्चा नेपाल अछामका अध्यक्ष कमरेड दिलिप विश्वकर्मा र ढकारी गाउँपालिकामा पूर्व इन्चार्ज उमेश बुढा उपस्थित रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रज्वलनले अहिलेका अन्य संसदवादी पार्टी दल वा पात्रले हालसम्म पनि जनताको जीवनस्तरमा कुनै ठोस रुपान्तरण गर्न नसकेको बताए । उनले चुनावी प्रक्रियामा गतिला नारा र एजेण्डा ल्याएर जनता र समुदायभित्र स्थापित हुने अनि आफ्नो गन्तव्यमा पुगेपछि आफूले दिएका नारा र एजेण्डा सबै भुल्ने गरेको बताए । 

प्रज्वलनले पछिल्लो समयमा केपी प्रचण्डहरुले दुई तिहाई बहुमत प्राप्त सरकार गठन गरे पनि राष्ट्र, राष्ट्रियता र जनताको जनजिविकाको सवालमा कुनै पनि क्षेत्रबाट उत्तरदायी नरहेको र पार्टी भित्र उल्टै आन्तरिक विवाद जन्माएर टुटको संघारमा दुर्घटना हुन पुगेको बताए । अब यसको विकल्पमा वैज्ञानिक समाजवादको अकाट्य आवश्यकता रहेको उनले बताए । उनले आफ्नो पार्टीले एकिकृत जनक्रान्तिको बाटोबाट आवाज उठाएर मुर्त एजेण्डा सहित जनतामाझ आएको र सबै सचेत देशभक्त, राष्ट्रवादी, वामपन्थी शक्तिहरु एकिकृत भएर दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको लागि अब जनमतसंग्रहमा जानुपर्ने बताए । उनले वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने उच्चतम बाटो जनमत संग्रह रहेको बताए ।

कार्यक्रमका अध्यक्ष रमेश बिसि ‘समिर’ले पार्टी र सङ्गठन चलाउन जनताको साथ र समर्थन मुख्य रहने बताए । उनले इतिहासका निर्माता जनता हुने र अबको एकिकृत जनक्रान्तिमा जनतालाई पार्टी र सङ्गठमा समावेश गरेर लैजानु कार्यक्रमको मुख्य उदेश्य रहेको बताए । उनले जनता बिनाको पार्टी र सङ्गठन चल्छ भन्नु भनेको मानविय चेत गुमाउनु भएको बताए । उनले जब जनता साथमा रहन्छ तब मात्र पार्टी शसक्त ढंगले अगाडि बढ्ने बताए ।