एसईई : आन्तरिक मूल्यांकनबारे

८० प्रतिशतभन्दा बढी अंक दिइए कारण खुलाउनुपर्ने

एसईई : आन्तरिक मूल्यांकनबारे

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ जारी गरेको छ ।

गतवर्ष आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्दा शिक्षकहरूले बढाइचढाई अंक दिएको पाइएपछि यसपटक केही कसिलो प्रावधानसहित कार्यविधि जारी गरिएको हो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा त्यसभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीको हकमा विषयगत शिक्षकले अनिवार्य रूपले ठोस कारण उल्लेख गर्नुपर्ने बताए । ‘नतिजा सकभर वस्तुनिष्ठ होस् भनेर केही व्यवस्था गरेका छौं,’ उनले भने, ‘विद्यालयस्तरीय मूल्यांकन समिति पनि गत वर्षभन्दा बढाएर ५ जनाको बनाएका छौं ।’

पठाएको अंक अस्वाभाविकलागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले पुनः विद्यालयमा फिर्तापठाउन सक्ने व्यवस्थासमेत गरिएको छ । गतवर्षजस्तो जथाभावी अंक दिने प्रवृत्ति रोक्न यस्ता प्रावधान राखिएको बोर्डका पदाधिकारीहरूले जनाए ।

विद्यालयले पठाएको अंक अस्वाभाविक लागेमा इकाईले आधार र प्रमाणसहितको कागजातसमेत माग गर्न सक्ने कार्यविधिमा उल्लेख छ । अस्वाभाविक अंक पाउने विद्यार्थीको कक्षा ८ देखिको नतिजाका उपलब्धि विश्लेषण गर्न सकिनेछ् ।

५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् । कार्यविधिअनुसार यी प्रत्येक विद्यार्थीको विषय शिक्षकले मूल्यांकन गरेर विद्यालयस्थित मूल्यांकन समितिमा अंक पेस गर्नुपर्नेछ । प्रधानाध्यापकको संयोजकत्वमा ५ सदस्यीय समिति रहनेछ् । समितिमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकसहितका सदस्य हुनेछन् । समितिले विषय शिक्षकले बुझाएको विद्यार्थीको प्राप्तांक प्रमाणित गरेर इकाईमा बुझाउनेछ । इकाईले रुजु र प्रमाणीकरणसहित विद्यालयबाट प्राप्त अंक बोर्डमा पठाउनुपर्नेछ ।