नेकपा कास्कीद्वारा सुकुमबासी बस्तीमा राहत वितरण

पोखरा । नेपाल कम्युनिस्ट पार्टी कास्कीले पोखराको सुकुमबासी बस्तीका २६ घरपरिवारलाई राहत वितरण गरेको छ ।

नेकपा कास्कीले बुधबार पोखरा ३३ देउराली बस्तीको बसी खोलामा गिट्टी, बालुवा निकाली छाक टार्ने गरेका तर अहिले लकडाउनका कारण काम गर्नबाट बन्चित भएर समस्यामा परेका मजदुरहरुलाई राहत स्वरुप दाल, चामल, नुन, तेल, साबुन, मास्कलगायत अत्यावश्यक खाद्य वस्तुहरु वितरण गरेको हो ।

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्टको कारण देखाउँदै बन्दाबन्दीका कारण दैनिक मजदुरी गरेर जीवीकोपार्जन गर्ने मजदुरहरुमाथि परेको समस्यालाई केही हदसम्म भएपनि राहत हुने भन्दै आफूहरुले राहत वितरण गरेको नेकपा कास्की जिल्लाले बताएको छ ।

नेकपा कास्कीले अहिलेसम्म सयभन्दा बढी घर परिवारलाई राहत वितरण गरिसकेको जिल्ला सेक्रेटरी गोकुल पराजुलीले बताए । यस्तै समस्यामा परेका किसान, मजदुर, सुकुम्बासीहरुलाई आफूहरूले निरन्तर राहत वितरण गर्ने बताउँदै उनले अब सुकुम्बासी र समस्यामा परेका दृस्टीविहिन घर परिवारलाई समेत राहत वितरण गरिने बताए ।