नेकपा चितवनद्वारा मुसहर बस्तीमा राहत वितरण

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी चितवनले बुधबार भरतपुर महानगरपालिका वडा नं.२७ स्थित मुसहर बस्तीमा राहत वितरण गरेको छ ।

दोस्रो भेरियन्टको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका १२ घरपरिवारलाई नेकपा चितवनले सहयोग स्वरुप राहत वितरण गरेको हो । दाल, चामल, नुन, तेल, भुजाजस्ता अत्यावश्यक खाद्य वस्तुहरु राहत स्वरुप वितरण गरेको नेकपा जिल्ला समिति सदस्य वीरबहादुर थोकरले जानकारी दिए ।

कार्यक्रममा नेकपा चितवन जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाले सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्नको निम्ति गरेको लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवीकोपार्जन गर्ने मजदुर, किसान, सुकुम्बासीलगायत जनसमुदायमा परेको समस्यालाई केही हदसम्म भएपनि राहत पुग्न सक्ने विश्वाससहित आफूहरुले निकै नै अप्ठ्यारो परेका घरपरिवारलाई सहयोग स्वरुप राहत वितरण गरेको बताए । उनले जनता रोगले भन्दा पनि भोगले मर्न सक्ने अवस्था सिर्जना नहोस् भन्ने हेतुले सम्पूर्ण पार्टीपङ्क्तिलाई समेत राहत वितरणमा लाग्न आग्रह गरे ।

नेकपा भरतपुर महानगरपालिका वाड नं.१६ को आयोजनामा गरिएको राहत वितरण कार्यक्रमको अध्यक्षता नेकपा भरतपुर महानगर वडा न.१६ का इन्चार्ज रुम्बाले गरेका थिए भने नेकपा चितवनका सेक्रेटरी मिनप्रसाद सापकोटा र अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईको विशेष उपस्थिति रहेको थियो । 

राहत  वितरण कार्यक्रमको सञ्चालन नेकपा चितवन जिल्ला समिति सदस्य पुरन राईले गरेका थिए ।