स्वतन्त्रताको लागि...

-पारस राहादी मगर

कुरो गतबर्ष लकडाउन समयको हो । भाइबैनीे एसइई परिक्षामा सहभागि हुन गइरहेका थिए, चैत्रमा । परिक्षा अवधिभर उनीहरूसँगै रहने उद्देश्यले म बुटवलबाट रिडी निस्केको थिएँ । परिक्षा सुरु हुने दिनको अगिल्लो साँझ परिक्षा अकस्मात् स्थगित भयो । कारण थियो, विश्वव्यापी कोरोना आतङ्क ! परिक्षार्थीहरू घर फर्के । म पनि घर पुगेर बुटवल झर्ने निधोका साथ लुम्पेक हान्निएँ । 

चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन भयो । म गाउँमै रोकिएँ । गाउँमा मल बोक्ने, मेलो बनाउने चटारो ! टोलमा मल बोक्ने हुड्डा चलेको थियो । मल बोकियो । मकै पनि छरियो । घरमा, मेरो भागमा भने बाख्रा चराउने काम प¥यो । जम्माजम्मी १२ वटा बाख्रा थिए । त्यसमध्ये ४ वटा थिए, महिना दिन नपुगेका पाठापाठीहरू ! 

घरबाट जङ्गल टाढा पनि छैन । सानोतिनो चरन त घर नजिकै छ । एकदुई हप्ता, बारीमा मकै नउम्रिउञ्जेलसम्म घर छेउका चरनमा चराएँ । मकै उम्रिन थालेपछि भने बाख्राहरूबाट मकै जोगाउनै आपत् पर्न थाल्यो । जङ्गल नलगि धरै भएन । जङ्गलतिर धपाउन सुरु भयो । 
०००
वनमा घोँगारी, अयाँर, कालोझार सेतै फूलेका छन् । काफल फलेका छन्, पाकिसकेका भने छैनन् । ऐँसेलु पाकेका छन् । चुत्रो पहेँलै फूलेका छन् । झुसे वन रङ्गीचङ्गी देखिन्छ । आहा ! चराचुरुङ्गीका चिरबिर चिरबिर ! पुतली, भमराहरूको नाच ! घमाइला र रमाइला दिनहरू ! उकुसमुकुस र कष्टकर लकडाउन र कोरोना त्रासभन्दा पर ! कस्सो लकडाउन अगावै बुटवल फर्किएनछ । 

वनमा मोटामोटा कुरिला र बाँकोका टुसाहरू पलाएका छन् । दिनहुँ कुरिलाको टुसा टिप्छु । तरकारीको लागि । वन तरुलको टुसा पलाएका छन् । तरुल खोज्दै खन्दै गर्छु। मलाई वन तरुल खन्न भनेपछि असाध्यै रहर र जाँगर लाग्ने । कहिले कुरिला टिप्छु त कहिले तरुल खन्छु । कहिले यत्तिकै वारिपारि डुल्छु । फोटोहरू खिच्छु । प्रायः झोलामा किताब भने छुटाइएन । रुखका फेदमा बस्छु । किताब पल्टाउँछु । 
०००
कोरोना महामारीको समय छ । देशव्यापी लकडाउनले जनस्वास्थ्य र जनजीविकामा नराम्ररी प्रभाव पारेको छ । क्वारेन्टिन, आइसोलेसन, औषधी उपचार छैन । रेडियो सुन्यो – कोरोना । फेसबुक हे¥यो – कोरोना । जताततै कोरोना आतङ्क ! स्वास्थ्य सामग्री खरिदमा घोटला भएको समाचार आइरहेको छ । स्वास्थ्यमन्त्री स्वयं मुछिएको समाचार छ । मजदुरहरू हप्ता पन्ध्र दिन लगाएर पैदलै घर फर्केका समाचारहरू छन् । निजी अस्पतालहरूले बिरामी उपचार गर्नै नमानेका खबर छन् । 

वैदेशिक रोजगार गएका युवाशक्ति बिचबाटोमै अलपत्र परेका खबरहरू आइरहेका छन् । सरकारको उदासिनता र गैरजिम्मेवारीपनले हद पार गरेको छ । भारतीय साम्राज्यवादले गरेको सीमा अतिक्रमण र जनस्वास्थ्य, जनजीविका माथि सरकारी खेलबाड विरुद्ध रोग, भोक परवाह नगरि नागरिक सडकमा उत्रेका छन् । त्यसमाथि सरकारी दमन छ ! एकातिर म वनजङ्लमा प्राकृतिक सौन्दर्यसँग रमाइरहेछु, हराइरहेछु भने अर्कोतिर कोरोना महामारी र सरकारी रवैयाका कारण गरिखाने वर्गको पिडा, चित्कारले तर्सिरहेछु । उकुसमुकुस भइरहेछु ।
०००
बेलाबेलामा पानी परिरहन्छ । चहुर हरिया छन् । वनमा भूँई घाँसहरू लोभलाग्दो गरि पलाएका छन् । डाले घाँस पनि । बाख्राहरू प्रायः भूँईको घाँसमा भन्दा पनि झाडी, बुट्यानतिरै बढ्ता बल गर्दा रहेछन् । हाम्रो बाख्राहरूको मलाई मन परेको पक्ष के हो भने, तिनीहरू एकै हूलमा चर्दथे । एकाएक छरपस्त जाँदैनथे । अरुका बाख्राहरू भने छरपस्त हुन्थे । मलाई छरपस्त भएको चित्तै नपर्ने । किनभने बटुल्न असाध्यै गाह्रो लाग्थ्यो ।

मैले के सोच्थेँ भने बाख्राहरू एकै ठाउँ चरून् । आफू आनन्दले बस्न पाइयोस् । टाढाटाढा नजाऊन् । त्यसैले मैले बाख्राहरूलाई छेकिछेकि सानै क्षेत्रमा चराउन खोज्थेँ । तर बाख्राहरू भागिहाल्थे । कहिले कहाँ ? कहिले कहाँ ? छिनमै मेरो आँखा छलिहाल्थे । जब म छेकिछेकि चराउन खोज्छु । तिनीहरू आनन्दले चर्दैनथे । बोकाले त भलन् हान्न तम्सिन्थ्यो । तर आफू खुसी छाड्दा भने मस्त चर्दथे र निकै छिटो अघाउँथे पनि । आफू खुसी छाड्दा कहाँ कहाँ पुग्थे । भेट्टाउनै मुस्किल ! हैरान हुन्थ्यो । पानी पर्दा त झनै दुःख पाइने !

एकातिर धपायो, अर्कोतिर दगुर्ने । काँडैकाँडाका लहराहरू, झाडीहरूमा आफू अल्झिइरहनु पर्ने ! असाध्यै रिस उठ्थ्यो । बाख्राहरू जहाँ पनि सुलुसुलु पसिहाल्थे । म सक्तैनथेँ । बाख्राहरू कहाँ पुगिसक्थे । म कहाँ झाडी छिचोल्दै हुन्थेँ । खोरमा आइपुगे पछि भकाभक बाख्रा पिटेर जङ्गलको झोँक फेर्थे ! जङ्गलमै झोँक पोख्न त नजिक भेट्नु पनि प¥यो नि ! 
०००
र, बिस्तारै मैले बाख्राहरूलाई चर्न स्वतन्त्र (मनपरी होइन) छाड्न थालेँ । किनभने छेक्दाछेक्दा हैरान भइसकेको थिएँ म । बर्खाको समय । पानी परिरहने । जुकाले टोकेर रगतै रगत भइन्थ्यो । बाख्राहरूलाई उछिनेर म अगाडि नै गएर बस्थेँ । बाख्राहरू बिस्तारै आफ्नै धुनमा मस्त चर्दै आउँथे । नजिकै आइसकेपछि फेरि अर्कोतिर सोझ्याउथेँ र  उछिनेर अगाडि बस्न जान्थेँ । तिनीहरु मस्त चर्दथे । छेकिछेकि चराउँदा जस्तो यताउता भाग्दैनथे । काँडादार झाडीमा आफू अल्झिनु परेन ।

पहिले मैले बाख्राहरुलाई छेकिछेकि चराउँथेँ । सानो घेराभन्दा उम्किन दिन्नथेँ । तिनीहरू आफू खुसी यताउति डुल्न पाउँदैनथेँ । मैले पनि झाडीमा अल्झिइरहनु परिरहन्थ्यो । जब तिनीहरूलाई चर्न फ्रि (स्वतन्त्र) छाड्न थालेँ । मनपरि भने होइन । उछिनेर अलि पर बस्न गएपछि तिनीहरूलाई त्यहाँबाट जान नदिन फर्काए भइहाल्थ्यो । अरु झन्झट गर्नु पर्थेन । साना पाठापाठीहरू अल्झिन्छन् कि छाडिन्छन् कि भनेर यसो ख्याल गरे भयो । तिनीहरू मस्त चर्थे । अघाउँथे । बेला भएपछि आफै घरतिर सोझिन्थे ।  
०००
हामी मानिसले जसरी स्वतन्त्रता हरण भएको रुचाउन्नौँ । तिनीहरू पनि रुचाउँदा रहेनछन् भन्ने कुराको गतिलो उदाहरण हो यो भन्ने लाग्छ । जतिखेर नेपालीजन भारतीय साम्राज्यवादले गरेको सीमा अतिक्रमण विरुद्ध लकडाउन (कोरोना संक्रमण), राज्यको दमनको पर्वाह नगरि सडकमा ओर्लिएर आन्दोलित भइरहेको समय थियो । किनभने कोही पनि कसैको अनावश्यक हस्तक्षेप सहन चाहदँैन । कोरोना फैलन नदिने बहानामा देशव्यापी लकडाउन गरि जनतालाई विकल्पविहीन तवरले घरभित्रै थुनिन बाध्य पारेको थियो । रोगले भन्दा बढी श्रमिकहरू/गरिखाने वर्ग भोकले तड्पिइरहेका थिए । राज्यको रवैयाको विरोधमा सडक आन्दोलन भइरहेको थियो । 

मैले अहिले महसुस गर्छु कि तिनी बाख्राहरूलाई चाहिने भन्दा बढी नियन्त्रण गर्न खोज्थेँ, तब मैले निकै हैरान हुनुपथ्र्यो । जब मैले तिनीहरूलाई स्वतन्त्र (मनपरी होइन) ढङ्गले चर्न छाड्थेँ, मैले अनावश्यक रुपमा काँडावाल झाडीहरूमा कमै अल्झिनु प¥यो । तब मलाई जङ्गल डुल्नुको आनन्द महसुस हुन थाल्यो । अहिले सोच्छु, झोँक नै सहि बाख्राहरूलाई स्वतन्त्र चर्न छाड्न थालेपछि आफूलाई हैरानी खेप्नु परेन । 

स्वतन्त्रता मानिसलाई मात्र होइन, पशुलाई पनि चाहिन्छ । तिनीहरू पनि जो कसैको अधीनमुक्त रहने चाहना गर्दा रहेछन् । कसैले नियन्त्रण गर्न खोज्दा वा गर्दा प्रतिरोध गर्दा रहेछन् । आफु खुसी चर्न नपाउँदा भाग्न खोज्दा रहेछन् । सकभर भाग्दा रहेछन् । स्वतन्त्रतापूर्वक चर्न पाउँदा मज्जाले चर्दा रहेछन् । मज्जाले पेट भर्न पाउँदा रहेछन् । स्वतन्त्रताको चाहना ती पशुहरूलाई पनि मानिसलाई जसरी हुँदो रहेछ । स्वतन्त्रताको निम्ति तिनीहरू कुनै न कुनै ढङ्गले संघर्ष गरिरहेका हुँदा रहेछन् । 
०००

जेठ ७, २०७८ बुटवल ।