माडीको १३१ कित्ता कृषियोग्य जमिन खण्डीकरण गर्ने षड्यन्त्रविरुद्ध नेकपाको चेतावनी 

माडीको १३१ कित्ता कृषियोग्य जमिन खण्डीकरण गर्ने षड्यन्त्रविरुद्ध नेकपाको चेतावनी 

चितवन । नेपाल कम्युनिस्ट पार्टी माडी नगर समितिले माडी नगरपालिकाको नगरसभाबाट भएको निर्णयविपरीत माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल र केहि वडा अध्यक्षहरुले भूमाफियासँगको मिलोमतोमा १३१ कित्ता कृषि योग्य जमिन खण्डीकरणका लागी रकम मागेको र पुरानो मितीमा कर्मचारीहरुलाई हस्ताक्षर गर्न दबाब दिएको विषयप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा माडी नगर समितिका इन्चार्ज रमाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माडी नगरपालिका भित्र खेतियोग्य जमिन खण्डीकरण गर्न नदिने नगरपालिकाको नगरसभाबाट भएको निर्णय विपरित हाल १३१ कित्ता जमिन खण्डीकरण गर्न मेयर ठाकुर प्रसाद ढकालले पुरानो मितीमा कर्मचारीहरुलाई हस्ताक्षर गर्न दबाब दिएको, हस्ताक्षर गर्न नमान्ने कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएको र खुलेआम रुपमा केही वडाअध्यक्ष र स्वयम् मेयरले भूमाफियासँंग रकम मागेको साथै विभिन्न ठाउँमा परिचालन गर्नु भनेको विषय गर्वसाथ सुनाउँदै हिँडेको प्रमाण फेला परेको छ । यस्तो विषयले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।’

साथै नेकपाले उक्त विज्ञप्ति मार्फत सयौं कित्ता कृषि योग्य जमिन खण्डिकरण गर्ने निर्णयमा पुरानो मितीमा कार्मचारीलाई हस्ताक्षर गर्न दिएको दबाब तत्काल रोक्न, उक्त विषयसँग सम्बन्धित भएका विगतका गल्ती, कमिकमजोरी, चलखेल गरीएको रकम पारदर्शी गरी सार्वजनिक रुपमा माफि माग्नु पर्ने, नापी कार्यालय, मालपोत कार्यालय र नगरपालिका भित्रका केहि निश्चित दलालहरुको अनैतिक भ्रष्ट गतिविधि तत्काल रोक्न, तिनिहरुलाई कारबाही गर्न र चलखेल गरेको रकम माडी क्याम्पस तथा सार्वजनिक संस्थामा तत्काल हस्तान्तरण गर्न माग गरेको छ । अन्यथा पार्टीले नगरपालिका र मेयरको अनैतिक र भ्रष्ट कदमको ससक्त प्रतिरोध गर्ने चेतावनि समेत दिएको छ ।