कोरोना महामारी : मृत्योत्सव मनाइरहेको राज्य !

-पारस राहादी मगर

बाहिर पिसिआर गर्न आउनेहरूको भीड छ । कुरुवाहरू अक्सिजनको लागि यता र उता गरिरहेछन् । कोही आइसियु, भेन्टिलेटर कहाँ पाइएला ? भनेर चिन्तत छन् । चर्को न चर्को घाम चर्केको छ । अस्पतालका सुरक्षा गार्डलाई “अक्सिजन आयो कि आएन ? कहिले आउने हो ?” सोेधिरहेछन् । “अक्सिजन सकिनै आँट्यो । बिरामीलाई गाह्रो भइरहेको छ ।” “लौन जसरी भए नि एउटा बेड त मिलाइदिनु प¥यो । अन्त कहीँ पाइएन ।” संक्रमितका नातेदारहरू हारगुहार गरिरहेछन् ।  
०००
त्यसदिन उनी बिहानै देखि आफ्नी श्रीमतीलाई आइसियुमा लैजानको लागि यताउति गरिरहेका थिए । लुम्बिनी प्रादेशिक अस्पतालको आइसियु बेड खाली छैन भन्ने सूचना छ । उनले भैरहवा, मणिग्राम, चितवन, काठमाडौँ सबैतिर आफ्नो बलबुताले भ्याएसम्म आइसियु खोजिरहेका थिए । अन्ततः अन्त कतै नपाए पछि पोखरा लैजाने भए । उनकी श्रीमती तीनदिन देखि बेडमा छट्पटाइरहेकी थिइन् । 

उनले एम्बुलेन्स खोजे । पाएका थिएनन् । सकभर उनले एम्बुलेन्स अक्सिजन र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स खोज्दै थिए । अरु नर्मल एम्बुलेन्स पनि पाएका थिएनन् । उनको स्वास्थ्यावस्था झन् जटिल हुँदै आइरहेको थियो । हेलिकप्टर पनि मिलेन । 

दिन ढल्दै थियो । पानी दर्केर पर्न थाल्यो । उनका नातेदारहरू पनि आइपुगे । जसोतसो उनले एउटा एम्बुलेन्स पाए । त्यहाँबाट डिस्चार्ज गरेर लैजाने तयारी भइरहेको थियो । जब स्वास्थ्यकर्मी आएर हेरे । हेर्दाहेर्दै तिनले प्राण त्यागिन् । स्वास्थ्यकर्मीले प्राण नरहेको बताएपछि भक्कानिन रुन थाले । ती मृतक २७ बर्षे महिला कञ्चन गाउँपालिकाका हुन् । 

हामी बाहिर गल्लीमा बसिरहेका थियौँ । हामीलाई शव नउठाउँदासम्म हामीलाई भित्र जान दिइएको थिएन । ती महिला र मामा एकै दिन बैशाख १९ गते राति भर्ना भएका हुन् । त्यस दिन साँझ ती महिलाका श्रीमान् र म उनीहरूको एक्सरे गर्नको लागि लाइनमा सँगै पालो कुरिरहेका थियौँ । उनीहरूलाई लामो समय उभिन गाह्रो भएकाले हामी लाइनमा उभिएका थियौँ । एक्सरे रिपोर्ट आएपछि राती करिब दश बजेतिर भर्ना ग¥यौँ । कोभिड इमर्जेन्सी कक्षको साइडमा सानो कोठा रहेछ । त्यहाँ दुईवटा मात्र बेड थियो । 
०००
कोभिड रिपोर्ट पोजिटिभ आएपछि मामा होम आइसोलेसनमा हुनुहुन्थ्यो । झन् गाह्रो हुँदै आएपछि अस्पताल जाने निधो भयो । बुझ्दा, कतै पनि बेड खाली छैन भन्ने सूचना पायौँ । १८ गते शनिवार भैरहवा मेडिकल कलेजमा बेड छ भन्ने थाहा पाउनासाथ हतारहतार एम्बुलेन्स रिजर्भ गरेर भैरहवा लाग्यौँ । एम्बुलेन्स बुझ्न जाँदा त बाबै, भाडा सुनेर झण्डै उत्तानै परिएन । प्रादेशिक अस्पताल अगाडि एम्बुलेन्स र टेयाक्सी थुप्रै थिए । एकजना चालकलाई सोध्दा, “कोभिडको बिरामी हो भने धागो कारखानाको तीन हजार, भैरहवाको लागि पाँच हजार, चितवन पैँतिस हजार, काठमाडौँको लागि साठी प्लस !” ती एम्बुलेन्स चालकले भटाभट सुनाए । म त भाडा सुनेर अत्तालिएँ । विश्वास दाइ र मामा दुवैलाई फोन गरेँ र बताएँ ।

अलि सस्तो कतै पाइन्छ कि भनेर बलबुताले भ्याएसम्म त खोज्यौँ । अन्ततः केही सीप लागेन । एउटा एम्बुलेन्सलाई बल्लतल्ल ४ हजार रुपैयाँमा मनाइयो । मामा र म एम्बुलेन्समा मेडिकल कलेज भैरहवा गयौँ । पुग्दा त, केको बेड खाली हुनु ? रहेनछ । फर्किनै पर्ने भो । फेरि अर्को एम्बुलेन्स खोज्यौँ । बल्लतल्ल ३ हजार रुपैँयामा मनायौँ र बुटवल आयौँ । अर्को दिन साँझ ५ बजेपछि छातिको एक्सरे गरायौँ । डा. राईले तत्काल भर्ना हुन सुझाए । तर बेड ? कुनै टुङ्गो छैन । जसोतसो लुम्बिनी प्रादेशिक अस्पतालमा बेड पायौँ र भर्ना गरियो ।
०००
अर्को दिन बिहानै तिलोत्तमा फार्मेसीमा औषधी लिन उभिएको थिएँ । पूर्णजी भेटिए । उनले आमालाई त्यहीँ अस्पतालमा भर्ना गरेका रहेछन् । पिसिआर टेष्ट गराएका रहेछन् आमाको । रिपोर्ट पोजिटिभ आएछ र दुई दिनमै तिलोत्तमा हस्पिटलले डिस्चार्ज गरिदिएछ । दिउँसै देखि मुसलधारे पानी परिरहेको थियो । रातभरि पानी परिह्यो । राति आमालाई लिएर पूर्णजी प्रादेशिक अस्पताल आए । निजी अस्पताल कोभिडको बहानामा बिरामीको उपचारबाट यसरी पन्छिन कसरी मिल्छ ? यो बिरामीमाथिको अपराध हैन ? 

बेड छैन । बेडको आश नगरौँ । भूँईसमेत खाली छैन । उनीसँग म्याट थिएन । मुसलधारे पानी परिरहेको रातमा कहाँ जाने हो म्याट लिन ? धन्न कुरुवा बस्ने तूल थियो । उनले आमालाई अक्सिजन लगाइदिएर त्यहीँ तुलमा बसाए । उमेरले ७० बर्ष काटेकी ती बुढी आमाले त्यसरात तुलमै बसेर रात काट्नु प¥यो । अर्को दिन पनि ढिलै गरि म्याट आइपुग्यो ।

दिनहूँ दुई भन्दा बढी संक्रमितहरू देह त्याग्न विवश छन् । लास, बिरामी र बिरामी कुरुवा लस्करै छौँ÷छन् । कस्तो भयावह ! त्यस्तो अवस्थामा संक्रमितहरूले कसरी आत्मबल बढाउन सक्छन् ? म झस्किइरहन्छु । सरकारले मृतक गणना गर्ने भन्दा अर्को के काम गरिरहेछ ?
०००
कोभिड इमर्जेन्सी कक्ष खचाखच कोभिड संक्रमितहरूले भरिएको छ । बेडमा नपाएर बिरामीहरू भूँईमा म्याट बिछ्याएर पल्टिएका छन् । जति संक्रमित छन् । त्यति नै कुरुवा छन् । दूरी कायम नि ? छैन । स्याहारसुसारको लागि त कुरुवा चाहियो नि । स्वास्थ्यकर्मीले मात्रै केके गरिभ्याउन् ? उनीहरूलाई भ्याइनभ्याइ छ ।
कोभिड इमर्जेन्सी कक्षमा, बिरामीको पिडा, छट्पटि हेरिनसक्नु छ । चित्कार सुनिनसक्नु छ । कुरुवाको दौडधुप अत्यासलाग्दो ! अक्सिजन अभाव छ । आफै व्यवस्था गर्नु भन्ने सूचना आइरहन्छ । सूचना नि के भन्नु ‘बाँच्ने मन भए आफै अक्सिजनको जोहो गर्नु भन्ने उर्दी’ भनौँ । बिरामी कुरुवाहरू विरामी हेरचाह गर्ने कि अक्सिजन व्वयवस्था गर्न पट्टि लाग्ने ? कहाँबाट ल्याउने अक्सिजन ? अस्पतालले ल्याउन नसकेको अक्सिजन हामी नाथे भूँईमा पल्टिएकाहरूले कहाँबाट जोहो गर्ने हो ? भूँईमान्छेहरू यसै पनि उसै भूँईमै थेँचारिन पर्ने ! कस्तो नियति ! 

जसोतसो धरौटीमा अक्सिजन सिलिण्डर मेसो मिल्यो । अक्सिजन भर्न दिन बिराएर अक्सिजन प्लान्ट टिकुलीगढतिर कुदाकुद् । सुरुका दुईतीन खेप त घन्टौँ लाइन बसेरै भए पनि ८ सय रुपैयाँमा पाइयो । पछि लाइन बस्नु त परेन । तर १ हजार रुपैयाँ प्रति सिलिण्डर अक्सिजन पुगेछ ! गाडीभाडा सहित हिसाब गर्दा त २५ सय रुपैयाँ, एकखेपमा एक सिलिण्डर अक्सिजन जोहो गर्दा खर्च ! यता औषधी किन्नै प¥यो । दैनिक दुई हजार देखि पच्चीस सय रुपैयाँ औषधीलाई । अस्पतालको फार्मेसीमा सबै औषधी नपाइने । निजी फार्मेसी चाहार्नै प¥यो । यो खर्च भूँईमान्छेका थाप्लोले के गरि धान्छ ? 
०००
उता प्रदेश सभामा दलाल संसदीय व्यवस्थाका कठपूतलीहरू नाङ्गो नाच चलिरहेको थियो । सरकार ढाल्ने र बनाउने खेल । सांसद भनिने ‘माल’हरूको खरिदबिक्री ! प्रदेश सभामा मृत्यु उत्सव धुमधाम चलिरहेको थियो भनौँ । प्रदेश सरकारका मुख्खेमन्त्रीले फेसबुकमा अक्सिजन आपूर्तिको ढ्वाङ् पिटिरहेका स्टाटसमार्फत् ! अस्पतालमा अक्सिजन, आइसियु, एम्बुलेन्स नपाएर संक्रमितहरू मर्न बाध्य छन् । मुख्खे सा’बले खिस्सि गरिरहेको हो कि भूँईमान्छेहरूलाई ?! जनस्वास्थ्य र जनजीविकाको सवाल पैताला मुनि राखेरमा संसदमा दलाल संसदीय व्यवस्थाका कठपुतलीहरू अर्थात् कथित जनप्रतिनिधि भनिएका अपराधीहरू सत्तास्वार्थको लागि तँछाडमछाड गरिरहेका छन् । 

जनतालाई घरभित्रै थुनेर, अक्सिजन, औषधीको कृत्रिम अभाव सिर्जना गराएर लुटिरहेका छन् । स्वास्थ्य सामग्री खरिदमा अर्बौ कमिसनको चलखेल ! जनताको स्वास्थ्य होइन, कमिसनकै ध्यान छ । जनतालाई घरभित्रै थुन्ने, कठपूतलीहरू रातारात जनघात र राष्ट्रघात गरिरहेका छन् । निहत्था जनताको हत्या गरिरहेका छन् । जनस्वास्थ्य, जनजीविकाप्रति राज्यको हदैसम्मको यो उदासिनता÷वेपरवाह कुनै हालतमा क्षम्य हुनै सक्दैन । म त भन्छु – हत्यारा राज्य मूर्दावाद ! हत्यारा राज्यविरुद्ध विद्रोह एकमात्र विकल्प हो ।
०००
फटिकजी र म, मामाको हेरचाहको लागि एघार दिन कोभिड इमर्जेन्सी कक्षमै बस्यौँ । जोखिम मोलेरै । बेन्चमा पालो गरिगरि सुत्थ्यौँ । मामा स्वासप्रश्वास समस्याले, त्यो भन्दा बढ्ता त्यहाँको भयावह अवस्था देखेर राम्ररी निदाउन सक्नुहुन्थेन । उहाँमात्र होइन, त्यहाँ कोही पनि सजिलै निदाउन सक्तैनथे । सकिदैँनथ्यो । बिहानी दिदीले दैनिक खाना बनाएर ल्याइरहनुहुन्थ्यो । अस्पतालमा मामासँगै प्रायः म, फटिकजी, बिहानी दिदी र रुपा हुन्थ्यौँ । साथीभाइ सुभचिन्तकहरू भेट्न आइरहेका थिए । मामाको खानपानको सन्तुलन मिल्न थाल्यो । हल्का व्यायाम गर्न थाल्नु भयो । विस्तारै फ्रेस हुँदै आउनुभयो । निमोनियाले फोक्सोमा बढी नै असर गरिसकेको रहेछ । र अक्सिजनको मात्रा हुनुपर्ने जति बढिरहेको थिएन । 

त्यस सानो कोठामा ती महिला बितेपछि बर्दघाटका एक पुरुष आएका थिए । अक्सिजन अभावको त्रासले दुईदिनमा नै डिस्चार्ज लिएर घर गए । त्यसपछि बुटवल देवसिद्ध चोकका अर्को एक महिला आए । उनी पनि छिट्टै रिकभर भइन् । उनको श्रीमानलाई खोमाजीले आफ्नो कृति “सपनाको भन्ज्याङ्तिर” निबन्ध संग्रह उपहार दिनुभयो । त्यस कोठा उकुसमुकुस त थियो । यद्यपि बिरामीको लागि सेपरेट थियो । भर्ना भएको ११ दिन पछि पिसिआर रिपोर्ट नेगेटिभ आयो । कोभिड इमर्जेन्सी कक्षको चित्कार, छट्पटि, पिडा र उकुसमुकुसबाट हामी सबै मुक्त भयौँ । डाक्टरको सल्लाह बमोजिम निमोनियाको उपचारको लागि उहाँलाई मेडिकल वार्डमा बैशाख ३१ गते राति नै भर्ना गरियो । हामीलाई भने अहिलेसम्म कोभिडको कुनै पनि लक्षण देखिएको छैन ।  
००० 

जेठ १०, २०७८ बुटवल