मध्यावधि निर्वाचनमा होइन, जनमतसङ्ग्रहमा जाऔं : विप्लव

वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न जनतामा नेकपाको अपिल

मध्यावधि निर्वाचनमा होइन, जनमतसङ्ग्रहमा जाऔं : विप्लव

बुटवल । नेपाल कम्युनिस्ट पार्टीले शान्ति, स्थिरता एवं समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आउनुमा वर्तमान संसदीय व्यवस्थाको असफलता प्रमाणित भएको बताएको छ । 

नेकपाका महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै २०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खाँदैन र यो सफल हुँदैन भन्ने आफ्नो पार्टीको निष्कर्ष सही साबित भएको उल्लेख गरेका छन् ।

वर्तमान संसदीय व्यवस्था असफल हुनुको पछाडी यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भन्दै महासचिव विप्लवले यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र भएको बताएका छन् । उनले वर्तमान दलाल पुँजीवादी व्यवस्थाको संकटको निकास निर्विकल्प रुपले वैज्ञानिक समाजवाद एक मात्र विकल्प हुनसक्छ भन्ने आफ्नो पार्टीको विचार सही साबित भएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पुँजीवादी रोज्ने अधिकार जनमतसङ्ग्रद्धारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसङ्ग्रहको लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौँ ।’

गएराती १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर कार्तिक २६ र मङ्सिर ३ मा मध्यावधि चुनावको घोषणा गरेपछि उत्पन्न राजनीतिक परिस्तििलाई लिएर नेकपाले संसद् विघटन र मध्यावधि चुनावको विषय राष्ट्रिय महत्वको विषय भएको भन्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।