पैदलयात्रा : लुम्पेकदेखि तानसेनसम्म !

साउनको महिना । मुसलधारे पानी दर्किरहेको छ । बिहान करिब ७ बजे नै खाना खाएर हिँड्न तयार भयौँ, हामी तीन भाइ । जानुपर्ने अनिल ब्रो र म बुटवल, प्रदिप ब्रो तानसेनसम्म । प्लाष्टिकले झोला बे¥यौँ र छाता ओढ्यौँ । निसमन्न कुहिरोले डम्म ढाकेको छ । कुरो ९ साउन, शुक्रबारको हो ।

विश्वव्यापी कोरोना भाइरसको आतङ्कले सारा मान्छेलाई घरमै बन्दी बनाएको छ । गाँसको ठेगान छैन । बासको ठेगान छैन । औषधी उपचारको ठेगान छैन । छ त मात्रै डर, त्रास, आतङ्क, घृणा, तिरस्कार ! यो, जसै कोरोना फैलदोँ छ, उसै उसै दिन दुगुना रात चौगुना बढ्दो छ । भाइरस रोकथाम, नियन्त्रण, क्वारेन्टाइन, आइसोलेसन, अस्पताल व्यवस्थापन, बास, गाँस, कपासको बन्दोबस्ती सम्बन्धमा सरकारी उदासिनताले हद पार गरेको छ ।

लकडाउनले चैत्र यता म गाउँमै थुनिएँ । कोरोना आतङ्कले अजीव अजीव दृश्यहरू देखिएका छन् । काठ, बाँसका ठूटाहरूले बाटोघाटो, चोकहरूमा तगारो हालेर कोरोना छेकिरहेछन् । भाइरस कहाँ छेकिनु ! अँटेरी भाइरस तगारो अवज्ञा गर्दै गाउँगाउँ, कुनाकुना पुग्यो त बा ! तैतै, हचुवामै लकडाउन सुरु, हचुवामै लकडाउन अन्त । बस् सरकारी काम तमाम !
०००
लाग्दै असार लकडाउन खुल्यो । म चैँ तत्काल बुटवल झर्नुपर्नेछ । झर्ने प्रयत्न, प्रयत्नमै सिमित । कहिले गाडी नपाइने । कहिले पहिरोले बाटो बन्द । कहिले जीप रिजर्वको लागि ग्रुप नै नपुग्ने । एक्लै साठ/आठ हजारमा गाडी रिजर्व गर्न हुँति छैन । भनेको बेला गाडी पनि नपाइने । बर्षात्को बेला हो, कतिखेर, कहाँ, के हुने हो ? केही ठेगानपत्तो छैन । अर्कोतिर कोरोना आतङ्कको बेला छ । लखेटाइमा परिने हो कि भन्ने डर !

झोला पोको पारेर हिँड्न ठिक्क परेको साउन १० मा एक महिना पुग्ने भो । यस बिचमा चारपटक त हिँडेपछि बाटैबाट फर्किन प¥यो । हिँड्दै फर्किदै, हिँडेदै फर्किदै । हैरान । यो चालले बर्खाभरि यतै भइने भो । ल्ु ब्रोहरू ! जे पर्ला पर्ला, हिँड्दै टाप् कस्न परो तानसेनसम्म । अनिल ब्रो र म बुटवल आउनैपर्ने, प्रदिप ब्रो तानसेन ।हिँड्ने सल्लाह भयो । रानीघाटको बाटो भएर जाने भइयो ।

आमाले भने हिँडेर जाने कुरामा असहमति जनाइदिए । बाबा, ठूलाबाबा लगायतले सहमति मात्रै जनाएनन् । बाटो समेत बताइदिए । ‘रानीघाटको बाटो या अर्गली हुँदै तानसेन निस्कने बाटो छ । जुन बाटो गए पनि पुगिन्छ । जमानामा हामी हिँडेको बाटो हो त्यो, भारी बोक्न, बेसाहा बेसाउन । बलिया पाखुरा हुनेहरू मौसम राम्रो गर्दा हिँडेरै गए नि हुन्छ ।’ हाम्रो जोस बढ्यो ।
०००
हिँड्ने बेला त बाबै ! राती देखि नै मुसलधारे पानी दर्किइरह्यो । जाने कि नजाने अलमल भयो । जे पर्ला टर्ला ! हिँडियो । बाबाले चाहीँ थानीलाई ध्वजा बाँधिदिएछन् । देउताले रक्षा गर्छ कि गर्दैन, त्यो बाबाले नै जानून् । मलाई भने कत्ति विश्वास लाग्दैन । बाटोमा भेटिएकाहरूले भन्दै थिए, ‘पैरोले चाप्ला । जाद्रै शूरो नहोउ ।’ ‘पैरोले हामीलाई चाप्दैँन । बरु पैरोलाई हाम्रो पैताला मुनि पारेर जाने हो । हा हा...।’ भन्दै भन्दै हिँड्यौँ ।

बिहान करिब आठ बजेतिर लुम्पेक–भञ्ज्याङ् आइपुग्यौँ । बाटोमा अरनीको लागि चाउचाउ, बिस्कुट किनेर झोलामा राख्यौँ । र, थुम्का–धुस हुँदै चेहेमीको फाँट, कालीको तीर ! पानी अलि बिसेक भइसकेको छ । काली गण्डकी झोल्ङ्गे पुलबाट त¥यौँ । काली उर्लदैँ बगेको छ । कता, कति बित्यास पार्ने हो यल्ले ? म झसङ्ग भएँ । झोलुङ्गेको बिचमा उभिएर सेल्फी खिच्यौँ । ज्यान ठिकठाक छ भन्ने जनाउ दिन फोटो पोष्ट गरेँ, ‘काली तरेर....।’

तरेपछि उक्लियौँ, स्याङ्जा लसर्घाबेसी । हाम्रोतिर मकै फूलेकै छैन । यता भने पाक्दैछ । पोेलेर खाने भइसकेको छ । वरपिपलको फेंदमा चौपारी रहेछ । हामीलाई भोक लाग्न थालिसकेको थियो । चाउचाउ, बिस्कुट कपाकप खान थाल्यौँ । घरतिर फोन ग¥यौँ । लसर्घा आइपुगेको जानकारी गरायौँ । लुम्पेक र लसर्घा वारिपारि पर्छ । विवाहवारी सम्बन्ध पहिले देखि नै भएकाले प्रायः चिनजान, नातापाता भेटिइन्छन् । फेरि सिमसिमे पानी पर्न थाल्यो । हामी उक्लिन सुरु ग¥यौँ ।

“बाबुहरू कता हिँडेको ? माथिबाट लेदोसित भल आइरहेको छ । पैरोले मोटरबाटो पनि छैन । अस्तिमात्रै घर बगायो । मान्छे मा¥यो । सकेसम्म नजानु नै बेस हुन्छ है ।” बाटोमा  भेटिएको एउटा लोग्ने मान्छेले भन्यो । के गर्ने त ? प¥यो फसाद ! “भोली नागपञ्चमी । माथि आलमथानमा पूजा गर्न आएको लुम्पेकबाट । देउरालीमा निनीको घर छ । त्यतै बस्न हिँडेको ।” मैले बनावटी कुरा गरेँ । “आब पूजा गर्न आएको भनेपछि त रोक्न मिलेन । तर मोटरबाटो चैँने नजानु है । ढुङ्गो खसिरहन्छ । (हातले ईसारा गर्दै) उ त्यता तिरबाट गोरेटो बाटो छ । त्यतैबाट सोध्दै जानु पुगिन्छ । अलि फेरो पर्छ ।” उनले भने ।

उनले हामीलाई बाटो बताइदिए पछि हामी हिँड्यौँ । प्रदिप ब्रोले चिनेको चाहीँ मोटर बाटो हो । तर मोटरबाटो जान निषेध छ । गोरेटो बाटो खोज्दै खोज्दै उकालो लाग्यौँ । पानी असाध्यै दर्किन थाल्यो । डम्म कुहिरो लोगेको छ । चिप्लोमा लर्कदैँ लर्कदैँ बल्लतल्ल भेटिएको गोरेटो बाटो उक्लियौँ । एक पटक त लाग्यो, बेकारमा आइएछ । आधा बाटो आइसकेर फर्किने कुरा पनि भएन । खनियाँ खादैँ, बोडी, सिल्टुम् टिप्दै खादैँ निस्कियौँ । बल्लतल्ल आइपुग्यौँ कोटाकोट स्कूल । झण्डै दुई घण्टा उकालो हिँडेर । धन्न बाटो बिराइएको रहेनछ ।

माथि डाँडामा आइपुग्दासम्म पानी बिसेक भयो । त्यहाँबाट लाग्यौँ, तेर्सैै मोटर बाटैबाटो देउरालीतिर । मोटरबाटो बिचबिचमा चिराचिरा परेको छ । भलले जताततै खोलेको छ । सडकको बिच भागबाटै छेउ खसेको छ । माथिबाट ढिस्को खसेर पुरिएको छ । बाटो हिलैहिलो छ । छिटोछिटो हिँड्न पनि नसकिने । हत्तेरिका ! क्या आपत् पैरोमा ! जसोतसो देउराली डाँडा आइपुग्यौँ ।
०००
वारिपारि दृश्यावलोकन गर्दै, फोटो खिच्दै रम्ने प्लान सब ढिसमिस् ! पैताला पैतालाको पहिरो बाहेक अरु केही देखिए पो ! देउरालीदेखि फेरि ओरालो झर्नु छ । लम्बेक – रानीवन  हुँदै रानीघाटसम्म । जसै ओरालो झर्न सुरु भयो । पानी दर्किन सुरु ग¥यो । मोटर बाटो छलेर गोरेटो बाटो हिँड्यौँ । रानीवनमा पनि पहिरोले बाटो बन्द रहेछ । सालका रूखहरू ढलेका थिए ।

जसोतसो पैरो त काटियो । घुँडासम्मै हिलाम्मे भइएको छ । हिलोमा अड्किएर प्रदिप ब्रोको ‘राइनो’ चप्पलका तना चुँड्यो । अनिल ब्रो र मैले भने हातमा लिएर हिलोमा गडेका थियौँ । चप्पल चुँड्न पाएन । हिँड्न अझै थुप्रै छ । चप्पल चुँडेपछि प¥यो फसाद ! उसलाई मैले मेरो चप्पल लगाउन दिएँ । उसको चप्पल हातमा समातेर हिँडे खाली खुट्टा ठमठम्ती !

अकस्मात् मलाई आइडिया फु¥यो । मेडिकल मास्कको डोरि चुँडाएँ । छाताको तिखो छडले चप्पल छेडेँ । र, मास्कको डोरि घुसाएर बाधेँ । काम चलाउ टाइपले चप्पल लगाउनलाई तयार भयो । सटुका झर्दा पानी बिसेक भइसकेको थियो । घाम लाग्न थालेको थियो । खेतमा किसानहरू रोपाइँ गर्दै थिए ।

सटुकाबाट रानीघाट पुलमा झ¥यौँ । सटुका छेउबाटै पहिरो झरेको छ । मोटरबाटोको नामनिशाना छैन । कालीगण्डकी माथिको पक्की पुल र झोलुङ्गे पुलको केही भाग पुरिएको छ । माटोका ढिस्काहरू झरिरहेका छन् । काली गण्डकी उर्लर्दै बगेको छ । एकैसासमा पहिरो छिचोलेर पुलमा उभिन पुग्यौँ हामी । जीऊ जिरिङ्ग पो भयो । पारि सुनसान छ रानीमहल !
०००
ताल न बेताल डोजर धसेको छ । बिकासको नाममा विनाश ! जताजता डोजर धसिएको छ, त्यता पहिरो गएकै छ । कतै गाउँ नै विस्थापित हुनु परेको छ । बर्सेनि अकल्पनीय जनधनको क्षति भइरहेको छ । कैयौँले अकालमा ज्यान गुमाउनु परेको छ । उठिबास नै लगाउने कस्तो विकास हो यो ? यसबर्ष सर्वसाधारण जनतालाई एकातिर पहिरोले त्राहिमाम बनाएको छ भने अर्कोतिर कोरोना आतङ्कले । त्यसमाथि नुनचुक छरेको छ, सरकारी रबैयाले ।

पुलमा आइपुगे पछि लामो सास फे¥यौँ । भोक र तिर्खाले आकुलव्याकुल बनाएको छ । बचेखुचेको चाउचाउ, बिस्कुट कपाकप पा¥यौँ । भोक भने मेटिएन । खुट्टा दुखेको छ । के गरि उक्लिने हो बतासेडाँडा ? पुलमै बसेर घरमा फोन ग¥यौँ र हामी सकुशल रानीघाट आइपुगेको जानकारी गरायौँ । फोटो खिचेर फेसबुकमा पोष्ट्याएँ, ‘रानीघाटैमा, पहिरो गा’रैछ निरमाया हामी आउने बाटैमा....।’
०००
रानीघाटबाट मोटर बाटैबाटो उकालो लाग्यौँ । आधा बाटोसम्म मोटरबाटो हिँडियो । रात पर्न लागिसकेको थियो । सट्कट् बाटो भनेर हिँडेको बाटो बिराएर अर्को आपत् ! बतासे डाँडास्थित क्याम्पस भवन हेर्दै छड्केछड्के उक्लियौँ । बतासे आइपुग्दा झमक्क साँझ परिसकेको थियो । कैलाशनगर स्थित प्रदिप ब्रोको डेरामा बास बस्यौँ ।

हामीलाई लागिरहेछ । हामी आयौँ बाउबाजेले भारि बोकेर हिँडेको बाटो । रानीघाटको बाटो । लुम्पेक देखि पैदलै तानसेनसम्म । यो कोरोना महामारीको बेला मजदुरहरू बाध्य भएर पैदलै भोकभोकै घर फर्केका छन्, काठमाडौंदेखि सप्तरीसम्म । कैलालीसम्म । हामी पनि हिँडेर आउनुप¥यो । आयौँ । यसरी पैरोको जोखिम मोलेर पैदलै आउँदा केही भएको भए ? बस् अहिलेलाई केही भएन हामीलाई । हामी सकुशल तानसेन आइपुग्यौँ । अलिकति रहरले, बेसि बाध्यताले !
०००

२०७७ साउन १३ गते / बुटवल