विद्यार्थीको घर–घरमै अध्यापन गराउन पुगे जयपुरका प्रधानाध्यापक साउद

विद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिन नौलो अभियानको शुरुवात

विद्यार्थीको घर–घरमै अध्यापन गराउन पुगे जयपुरका प्रधानाध्यापक साउद

बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर, ७ उपल्ला बाटुला स्थित जयपुर आधारभूत विद्यालयले विद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिन नौलो अभियानको शुरुवात गरेको छ । कोभिड–१९ को दोस्रो लहरका कारण विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिन उक्त विद्यालयले विद्यार्थीहरुको घरमै प्रश्न पत्र दिएर दैनिक परीक्षा लिन थालेको हो । 

बार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुले कोरोनाका कारण विद्यालय बन्द हुँदा पढेको कुराहरु नर्बिसिउन भनेर यस्तो अभियान थालेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र सिंह साउदले बताए । विद्यालय सेवा क्षेत्र भित्रका टोलहरुमा बिभिन्न समुहहरु बनाएर प्रत्येक कक्षाका विद्यार्थीको दैनिक तथा साप्ताहिक प्रश्नपत्र तयार पारी आफै विद्यार्थीहरुको घर घरमा पुगेर प्रश्न पत्र बितरण गर्ने गरेको साउदको भनाई छ ।

प्रत्येक बिषयको प्रश्न पत्र बितरण गर्ने गरेको र विद्यार्थीहरुले हल गरेको उत्तरपुस्तिका संकलन गरी शिक्षकहरुले चेकजाँच गर्ने गरेको विद्यालयले जानकारी दिएको छ । उक्त अभियानका लागी प्रधानाध्यापक साउद नियमित रुपमा विद्यार्थीहरुको घरदैलो सम्म पुग्ने गरेका छन् । “बार्षिक परीक्षाको नजिकै थियाँै, कोरोेना महामारीका कारण परीक्षा स्थगित भए विद्यार्थीहरुले पढेको कुरा नबिर्सिउ भनेर यस्तो अभियान थालेको हुँ । ” उनले भने “परीक्षा त कहिले हुन्छ, कहिले यस्तो कार्यले विद्यार्थीहरुले सिकेको कुरालाई निरन्तरता दिन सक्छन्” ।

पढाई सम्बन्धि कुनै जिज्ञासा भएमा आफूसंग सम्पर्कमा रहन आग्रह समेत गरेका छन् । उनले विद्यार्थी तथा अभिभावकको जिज्ञासा मेटाउने गरेका छन् । उनले सबै अभिभावनको फोन नम्बर समेत राखेका छन् । प्रधानाध्यापक साउदले चालेको उक्त अभियानमा अभिभावकहरुले पनी साथ सहयोग दिदै आएका छन् । उक्त विद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुले अहिले आफ्ना छोराछोरीको पढाइप्रति चासो व्यक्त गर्ने गरेका छन् ।

अभिभावकहरुमा आजको प्रश्न पत्र बन्यो की बनेन भनेर प्रधानाध्यापक साउदलाई दैनिक रुपमा फोनबाटै सोध्ने बानीको विकास भईसकेको छ । अन्य ठाउँमा भने कोभिडका कारण विद्यालयहरु बन्द भएर अहिले शिक्षक तथा विद्यार्थीहरु घरमै बसि रहेका छन् । जसका कारण विद्यार्थीहरले शैक्षिक सत्रको अहिलेसम्म पढेका कुराहरु पनी बिर्सिदै जाने निश्चित जस्तै छ ।