चार पार्टीको संयुक्त वक्तव्यपछि कसले के भने ?

प्रकाण्ड, इन्द्रमोहन सिग्देल, जागृत रायमाझी र कृष्णहरि भट्टको विचार

चार पार्टीको संयुक्त वक्तव्यपछि कसले के भने ?

पुष १४, बुटवल । चार राजनीतिक दल सहित सरकार विरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेपछि विभिन्न प्रतिक्रियाहरु आएका छन् । मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सरकार वा संसदीय राज्यसत्ता विरुद्ध मोर्चाबन्दी गरेपछि विभिन्न प्रतिक्रियाहरु आएका हुन् । यो मोर्चालाई ‘पार्टी एकताको आधार निर्माण हुँदै गएको’ भन्ने समेत टिप्पणीहरु हुन थालेका छन् । चार पार्टी बीच रणनीतिक संयुक्त मोर्चाको घोषणा भएपछि हामीले ‘रणनीतिक मोर्चाको अर्थ पार्टी एकता र धु्रवीकरण नजिकिएको हो ?’ वा ‘सरकार विरुद्ध मोर्चाको आगामी संघर्षको स्वरुप कस्तो हुनेछ ?’ भनेर विभिन्न दलका नेताहरुसँग जिज्ञासा राखेका थियौं । उहाँहरूसित गरिएको संक्षिप्त कुराकानीको सारलाई यहाँ प्रस्तुत गरिएको छ–

संयुक्त मोर्चा दलाल संसदीय व्यवस्था विरूद्धको क्याम्पियन हो

प्रकाण्ड
प्रवक्ता, नेकपा

हामी कम्युनिस्टहरुको उद्देश्य नेपाली समाजलाई आमूल परिवर्तन गर्ने हो । यसको नेतृत्व संशोधनवादी पार्टीहरुबाट सम्भव छैन । अहिलेको सङ्कटको समाधान संसदीय व्यवस्था होइन, वैज्ञानिक समाजवाद नै हो । त्यसका लागी क्रान्तिकारीहरु बीच वृहद् एकता र धु्रवीकरण आजको आवश्यकता हो । अर्थात् दलाल संसदीय पुँजीवादी व्यवस्थाका विरुद्ध कम्युनिस्टहरु बीचको संयुक्त संघर्ष आवश्यक छ । भर्खरै घोषणा गरिएको संयुक्त मोर्चा त्यसैका लागी ठूलो क्याम्पियन हो । 

केपी वली सरकारले देशमा गरिरहेको राष्ट्रघात, जनघात, भ्रष्टाचारलाई दृष्टिगत गरेर वा उत्तरसाम्राज्यवाद र दलाल पुँजीवाद विरुद्ध सङ्घर्ष गर्न जनतालाई अपिल गर्ने उद्देश्यका साथ यो मोर्चाको घोषणा गरिएको हो ।  

हामीले नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका विभाजन, टुटफुट, संशोधनवाद र सङ्कीर्णता आदि समग्र बिषयलाई समीक्षा आवश्यक गर्न आवश्यक छ । देशको वर्तमान सङ्कटपूर्ण अवस्थामा इमान्दार देशभक्त, क्रान्तिकारी पार्टीहरू र प्रगतिशील लोकतान्त्रिक शक्तिहरुबीच बृहद् मोर्चाबन्दी आवश्यक छ । हामीले वली सरकारको फासीवाद र दलाल संसदीय राज्यसत्ता विरुद्ध तत्कालै जनसङ्घर्षका कार्यक्रमहरु तय गरेर अगाडी बढ्दै छौं । यसको अर्थ संघर्षहरु मोर्चामा मात्र सीमित हुँदैनन् । साम्राज्यवाद तथा दलाल पुँजीवाद विरोधी देशभक्त र क्रान्तिकारीहरूलाई हामीले मोर्चामा गोलबन्दै लैजानेछौं ।   

संयुक्त मोर्चा संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्यसँग जोडिएको छ

इन्द्रमोहन सिग्देल
पीविएम, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

अहिले हामीले चार पार्टी मिलेर संयुक्त मोर्चा निर्माण गरेका छौं । मोर्चा निर्माणका विभिन्न स्वरूप र उद्देश्यहरू हुन्छन्– तत्कालीन, अल्पकालीन र कार्यनीतिक र रणनीतिक आदि । हामीले अहिले यसलाई रणनीतिक मोर्चा भनेका छौं । यो तत्कालका विषयको मात्रै विरोध गर्ने कार्यगत एकता जस्तो संयुक्त मोर्चा होइन । यो देशका आधारभूत अन्तविरोधहरुको समाधान गर्ने उद्देश्यमा आधारित मोर्चा हो । अहिलेको देशको समस्या भनेको साम्राज्यवाद र दलाल नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्गको हितको रक्षा गर्ने राज्यसत्ता र संसदीय व्यवस्थाको असफलतासँग जोडिएको छ । अहिलेको सामाजिक अन्तरविरोधको समाधान संसदीय पुँजीवादी राज्य व्यवस्थाबाट सम्भव छैन । यसको समाधान संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादबाट संभव छ । अहिलेको सहमति यही रणनैतिक उद्देश्य प्राप्तिको लक्षसंग जोडिएको छ । यस अर्थमा यसलाई हामीले रणनीतिक मोर्चा भनेका हौं । मोर्चाको यो प्रक्रियालाई हामीले राजनीतिक वैचारिक बिषय केन्द्रित छलफल गर्दै प्रतिक्रियावादी सत्ता र संसदीय व्यवस्थाका विरुद्ध नयाँ क्रान्तिकारी विकल्प दिने स्तरसम्म पुच्याउने उद्देश्य राखेका छौं । 

राजनीतिक संघर्षका विभिन्न स्वरूपहरू हुन्छन् । अहिले हामीले मोर्चाको तर्फबाट शान्तिपूर्ण जनसंघर्षलाई अगाडी बढाउँछौं । मोर्चाको कार्यक्रमिक अवधारणा छिट्टै सार्वजनिक गर्दैछौं । मोर्चाले अहिले सामान्यतः केपी ओली सरकारले गरेको संसद विघटन, भ्रष्टाचार, महङ्गी, राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायत तत्कालीन बिषयहरूलाई र विशेषत प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध विकल्पको आवश्यकता किन पर्याे र त्यो विकल्प के हो भन्ने कुरामा केन्द्रित हुने छौं । प्रतिक्रियावादी सत्ताको विकल्पबारे जनमत निर्माण गर्नु संघर्षको प्राथमिक उद्देश्य हुनेछ । त्यसपछि विकसित परिस्थिति अनुसार संघर्षका कार्यक्रमहरुलाई विकास हुँदै जाने छन् । 

हामीले संयुक्त मोर्चालाई वक्तव्यमा हस्ताक्षर गर्ने ४ पार्टीमा मात्र सिमित गर्ने सोचेका छैनौं । मोर्चाले बाह्य रूपमा साम्राज्यवादी विस्तारवादी हस्तक्षेप र आन्तरिक रूपमा सामन्त तथा दलाल नोकशाही पुँजीपति वर्गका विरूद्व संघर्ष गर्ने, देशलाई स्वतन्त्र, स्वाधीन र सम्पन्न बनाउने र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न चाहने जो कोहीलाई पनि समेटेर यो मोर्चालाई अगाडि बढाउने हामीले सोचेका छौं ।  यसले प्रतिक्रियावादी सत्ताा र व्यवस्थाका विरुद्ध आन्दोलनलाई नयाँ ढङ्गले धु्रवीकरण गर्दै जानेछ । मोर्चाको अवधारणपत्र, संरचना र आन्दोलनका मूर्त कार्यक्रमहरुको घोषणा भएपछि विषय अरु स्पष्ट हुने छ । 

राज्यसत्ता र नेकपामाथि लगाएको प्रतिबन्ध विरूद्ध संघर्ष गछौं । 

जागृत रायमाझी
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा हामीले राज्यसत्ता विरुद्धको संघर्षलाई नयाँ ढंगले अगाडी बढाउन खोजिरहेका छौं । अहिले हामीले त्यसलाई रणनीतिक संयुक्त मोर्चा भनेका छौं । अहिले संसदवादीहरुले सरकारको विभाजन, निर्वाचन वा दलहरुको टुटफुटलाई सौन्दर्यको रुपमा प्रस्तुत गरिरहेका छन् । तर यो संसदीय व्यवस्थाको कुरुप पक्ष हो । अर्थात् संसदीय व्यवस्थाले सामाजिक अन्तरविरोध हल गर्न सक्दैन । समाजको अन्तरविरोध वैज्ञानिक समाजवादले मात्र गर्न सक्छ । यसका लागी देशभक्त र क्रान्तिकारीहरु बीच एकता र धु्रवीकरण समेत आवश्यक छ । हामीले मोर्चामार्फत् वली सरकारको प्रतिगमन, संसदीय राज्यसत्ता र विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध विरुद्ध तत्कालै जनसंघर्षको कार्यक्रम सार्वजनिक गरी अगाडी बढ्ने तयारीमा छौं ।

रणनीतिक संयुक्त मोर्चा निर्माणको निर्णय ऐतिहासिक कार्य हो 

कृष्णहरि भट्ट
नेकपा (ऋषि कट्टेल), केन्द्रीय सचिवालय सदस्य


पहिलो कुरा, हाम्रो पार्टीले विगत लामो समयदेखि संयुक्त जनसंघर्ष निर्माण गर्ने प्रयास गर्दै आइरहेको सबैलाई थाहै छ । यसलाई पुरा गर्ने क्रममा यो वक्तव्य आउनु अत्यन्तै स्वागत योग्य विषय हो । 

नेपाली श्रमजीवी जनताको प्रधान अन्तरविरोध वर्तमान राज्यसत्तासँग हो । यो सत्ता सामन्ती, दलाल, नोकरशाही पूँजीवादको खेताला हो । यसको अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु आजको वस्तुगत आवश्यकता हो । यो कार्यभार पुरा नगरी नेपाली समाजको विकासले गति प्राप्त गर्दैन । यस्तो उद्देश्य प्राप्तिका लागि संघर्षशील शक्तिहरुवीच रणनीतिक संयुक्त मोर्चा निर्माणको निर्णय एक ऐतिहासिक कार्य हो ।

यसले नेपाली जनवादी क्रान्ति नयाँ चरणमा प्रवेश गरेको छ । यसले उग्रवामपन्थी र उग्र दक्षिणपन्थी रुझानले ग्रस्त जनवादी क्रान्तिको अबरुद्ध यात्रालाई सही बाटोमा ल्याउने काम गर्छ । हामी चार पार्टी हिजोको निष्कर्ष भन्दा पनि आजको बस्तुगत आवश्यकताको आधारमा सामन्ती साम्राज्यवादी विस्तारवादी सम्बन्धको अन्त्य गरी समाजवाद उन्मुख नयाँ जनवादी क्रान्तिका लागि तयार भएको समाचार सुखद समाचार हो । 

पार्टी एकताका बारेमा भन्नुपर्दा झन्डै उस्तै लाग्ने कार्यनीति, रणनीति र सिद्धान्त रहेका तर भिन्दाभिन्दै संघर्षमा रहेका पार्टीहरु वीचमा धुर्विकरण हुदैन पुनर्गठन गर्ने हुन्छ । त्यो पनि माक्सवाद, लेनिनवाद, माओविचारधारारवाद मान्नेहरुमा । स्वभावैले रणनीतिक मोर्चा बनाउन सहमतहरुले आफुमा रहेका असमझदारी हल गर्दै एउटै पार्टीमा बदलिने आधार बन्न सक्छ ।

दोस्रो कुरा, मोर्चाको आगामी संघर्षका कार्यक्रमहरुमा हामी अहिले पनि २२ दलीय संयुक्त संघर्षको मोर्चामा सँगै छौ । मोर्चाले राष्ट्रियता जनजीविका  जनतन्त्रका मुद्दाहरूमा काम गरिरहेका छौं । यो रणनीतिक संयुक्त मोर्चाको भने संघर्षका, संगठनका र सिद्धान्तका पक्ष सहित दस्तावेज तयार हुँदैछ । यसको मुल लक्ष्य भने यो सामन्ती, दलाल, नोकरशाही पूँजीवादी संसदवादी व्यवस्थाको समुल नष्ट गरी जनवादी गणतन्त्र नेपालको स्थापना गर्न आवश्यक शक्तिको प्रयोग जनसंघर्ष, जनविद्रोह र जनयुद्धसम्मको उचाइमा पुग्ने किसिमको संघर्षको स्वरुप बन्न सक्छ । यो हामीहरुका लागि नयाँ अभ्यास हुनेछ । किनभने हामी विलकुल क्रान्तिकारी कार्यदिशा कार्यान्वयन गर्दैछौं ।