म के हेरौं धरहराबाट ?

-सुबास जोशी

ए शासक, प्रशासक हो
म के हेरौं धरहराबाट ?
गरिविको भोक
अशिक्षाले घेरिएको अन्धकार समाज
बेरोजगार युवाको पिडा
अशक्त जनताको रोदन
कर्णालीको भोकमरी
कमाउन भनी बिदेशिदा बाकसमा फर्किएको
युवाको लास ?
बलात्कारि, तस्कर, माफियाको अनुहार ?
ए शासक हो आफै भन
म के हेरौं ? धरहराबाट ..

तिम्ले किन बुझ्दैनौ ?
स्वदेशमा रोजगारी नपाई बिदेशीनुको बाध्यता ?
उपचारका लागि हप्तौं हिड्नु र तड्पिनुको पिडा ?
एकछाक खान एकछाक भोकै
बस्नुपर्ने कर्णालीको दुख ?

मलाई लाग्दथ्यो …….!
समृद्धिको धरहराबाट मैले
राष्ट्रिय एकता देख्छु ,
गरिबी,अशिक्षा,भोकमरी मुक्त देस,
शिक्षा ,स्वास्थ ,रोजगारीमा सबैको सहज पहुँच ,
धनी ,गरिब,विभेद मुक्त समान समाज,देख्छु..

सबै दुख,पीडा,कष्ट बुझ्ने एउटा राष्ट्र नायक

तर बिडम्बना……..!
धरहराबाट हेरि भने मैले
सत्ताको उन्नमादमा
बिदेशीको इसारामा नग्न नाच देखाउने
बालुवाटारको सन्की शासक बाहेक
तिमी आफै भन अरु के देख्नु मैले ।